• शुक्रबार, २१ असोज, २०७९
  • ०३:४९:२३

वीपी कोइराला: जनपक्षीय राजनीतिका पर्याय

  • Netizen Nepal
  • शुक्रबार, २४ भदौ, २०७९- १३:४७:००/ Friday 09-09-22

बिपुल पोख्रेल
काठमाडौँ, २४ भदौ। सात सालको क्रान्तिले नेपाली राजनीतिलाई जनस्तरसम्म पुर्यायो। क्रान्तिपूर्व यो विषय राणा र राजाका पारिवारिक विषयजस्तो मात्र थियो । केही सचेत युवाले राजनीतिको कुरा गर्दा ‘भित्ताका पनि कान हुन्छन्’ भन्दै तर्सन पथ्र्यो । जनस्तरमा त प्रायः राजनीति भन्ने कुरा हाम्रो सरोकारको विषय नै हैन भन्ने सोच थियो । नेपालको राजनीतिलाई यसरी जनताको सरोकारको विषय बनाउने अभियानको नेतृत्वकर्ता वीपी कोइराला हुनुहुन्थ्यो । उहाँले राणा शासकलाई चुनौती दिनुभएको थियो, ‘‘सरकार, अब पुर्पुरोमा लेखिएको भरमा शासन गर्ने दिन गए ।’’

सात सालको क्रान्तिको सफलतास्वरुप जनताको हातमा आएको राजनीति आजको दिनमा सही अर्थमा जनताको हातमा छ कि छैन ? भनेर समीक्षा गर्दा त्यति धेरै उत्साहित हुन सकिने अवस्था छैन । यद्यपि, जनताका माझबाट निर्वाचित हुने र निर्वाचितहरुले शासन गर्ने प्रक्रिया भने निरन्तर चल्दैछ । यो प्रक्रियाको निरन्तरताका कारण नेपालमा लोकतान्त्रिक पद्दति छ भनेर भन्न सकिने ठाउँ पनि छ ।

संविधानले पनि यस्तो प्रणालीलाई सुनिश्चित गरेको छ । तर जनताले राजनीति आफ्नो हातमा छ भनेर विश्वास गर्ने तथा अनुभूति गर्ने गरेको भने पाइँदैन । जनताले यस्तो अनुभूति गर्न नसक्नुको कारण राजनीतिक पद्दति होइन, राजनीतिक नेतृत्व हो ।

नेपालले वीपी कोइरालापछि यस्तै राजनीतिक नेतृत्वको अभाव महसुस गर्दै आएको छ । यसले गर्दा पद्दति परिवर्तनका आन्दोलनहरुले सफलता पाइराख्दा पनि जनताको आत्मविश्वास बढ्न सकिरहेको छैन । शासकप्रतिको वितृष्णा, युवा समुदायमा विदेश पलायन हुनेतर्फको सोच आदि कुराहरुले नेपालमा आश्वस्त हुने नेतृत्वको अभाव महसुस गरिएको देखाउँछ । नेतृत्वले आफू जनताकै माझमा रहेको अनुभुति दिन सक्नु पर्दछ । वीपी कोइरालाले जनतालाई त्यस्तो अनुभूति दिलाउनु भएको थियो ।

पञ्चायतविरुद्धको आन्दोलनको नेतृत्व गरिरहँदा पनि उहाँले भन्नुहुन्थ्यो,–‘एक करोड नेपाली जनताले पञ्चायत ठीक छ भन्छ भने म पनि पञ्चायत स्वीकार गर्छु ।’ (त्यतिबेला नेपालको जनसङ्ख्या सालाखाला एक करोड थियो ।) राष्ट्रियताको बारेमा उहाँले एक ठाउँमा भन्नु भएको थियो, ‘देशको सिमानामा बस्ने नेपालीले हाम्रो राष्ट्रियता जोगाई राखेका छन् । असली राष्ट्रवादी उनीहरु हुन् ।’ राष्ट्रियता भनेको जनताको भावना हो भन्नु हुने वीपीले जहिले पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई परिपूरक रुपमा लिनुभयो ।

समाजवादी चिन्तक वीपीको परिभाषामा जसले गरिब किसानको हितमा कार्यक्रम दिनसक्छ, समाजवादी उही हो । त्यति मात्र होइन, एक प्रसङ्गमा उहाँले भन्नु भएको थियो, योजना आयोगमा तपाईहरुले महाराजाको तस्बिर राख्नुभएको रहेछ । त्यसको छेउमा एउटा गरिब किसानको हलो बोकेको, फाटेको टोपी र कछाड लगाएको नाङ्गो तस्बिर पनि राख्नुस् । अनि त्यो हाँसो नखुलेको किसानको अनुहारमा हाँसो कसरी खुलाउने भन्ने सोचेर योजना बनाउनुस् ।

उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘‘मलाई कुनै कुरामा निर्णय लिनपर्यो भने मेची–काली घुम्छु, जनतासँग अन्तरक्रिया गर्छु, गाउँलेको समस्या बुझ्छु, उनीहरुको व्यथाको अनुभूति गर्छु अनी आफ्नो विवेकले भनेको आधारमा निर्णय लिन्छु ।’’ स्वतन्त्रतालाई व्याख्या गर्ने क्रममा मानिस ब्रेडले हैन, ब्रेनले चल्छ भन्ने मान्यतामा उहाँ अडिग हुनुहुन्थ्यो ।

राजनीतिलाई जनतासँग जोड्ने कुरालाई यसरी वीपी कोइरालाले आजीवन अभिव्यक्त गरिरहनुभयो । उहाँका यी र यस्ता अभिव्यक्तिले नेपालीलाई सधैँ आत्मविश्वास जगाइदिई राख्यो र राजनीतिमा संलग्नता बढाई पनि राख्यो । उहाँको आह्वानमा मानिसले बलिदानी गर्नसम्म पनि हिच्किचाएनन् । वीपीको निधन लगत्तै प्रतिक्रिया दिँदै कम्युनिष्ट नेता मनमोहन अधिकारीले भन्नुभएको थियो,–‘‘वीपीको निधनबाट नेपाली जनताले आफ्नो घाँटीमा अड्किएको भाषा बोलिदिने नेता गुमाएका छन् ।’’

उहाँले जनता उचाल्ने, प्रयोग गर्ने, राजनीतिक सौदा गर्ने र आफू सत्तामा पुग्ने खेललाई सदा अस्वीकार गर्नुभयो । दुईवटा सन्दर्भहरुले उहाँको यो चरित्रको पुष्टि गर्न सकिन्छ । 

१. जनमत सङ्ग्रहको नतिजा आफ्नो पक्षमा नआए पनि उहाँले स्वीकार गर्नुभयोे । पञ्चायतको चरम धाँधलीका कारण त्यस्तो अप्रत्यासित नतिजा आएको कुरामा उहाँलाई शङ्का थिएन । गणेशमान सिंहलगायतका उहाँका अत्यन्त नजिकका साथीहरुले त्यो परिणाम अस्वीकार गरी आन्दोलनमा जान भन्दै गर्दा पनि उहाँले मान्नु भएन । मानिदिएको भए नरसंहार हुन सक्थ्यो, उहाँको ‘बार्गेनिङ पावर’ बढ्न सक्थ्यो र सत्ताको सौदा पनि हुन सक्थ्यो । तर उहाँले प्रजातन्त्रका बारेमा अझै जनमत बढाएर अघि बढ्ने फैसला लिनुभयो, जुन फैसला सत्ताको यात्रा भन्दा निकै टाढा थियो । 

२– २०३६ सालको आन्दोलन चर्किदै गर्दा जनकपुर चुरोट कारखानाका मजदूरहरु पनि आन्दोलनमा जोडिन चाहे । उनीहरुले केही मागहरुसहित आन्दोलनमा आउन चाहेको जनाउ वीपी कोइरालालाई दिए । ती मागहरु पढेपछि वीपी कोइरालाले भन्नुभयो, ‘‘यी मागहरु त म आफैं प्रधानमन्त्री भएपछि पनि पूरा गर्न सक्दैन । त्यसैले मैले समर्थन गर्न सक्दैन ।’’ 

३– एकजना विदेशी वीपी कोइरालालाई भेट्न गएछन् र सोधेछन्,–‘राजा फालेर तिमीलाई राष्ट्रपति बनाउने कुरामा तिम्रो सहमति छ ?’ वीपीले केही समय लिएर मात्र यो बारेमा धारणा बनाउने भन्दै उनलाई पठाइदिनुभयो । वीपीका शुभेच्छुकले वीपीलाई केरकार गर्दै भनेछन् कि त्यो प्रस्ताव वीपीले स्वीकार गर्नुपथ्र्यो । वीपीको जवाफ थियो,–‘‘राजा फालेर मलाई राष्ट्रपति बनाउने शक्तिले मलाई कतिदिन टिक्न दिन्छ होला ? म त्यो शक्तिको लालसामा पर्नु हुँदैन ।’’ 

यी सन्दर्भहरुले वीपी कोइरालाले आफ्ना सबै निर्णयहरु जनतालाई केन्द्रविन्दुमा राखेर गर्दथे भन्ने देखाउँछन् । यस्ता धेरै सन्दर्भहरु छन्, जसले वीपी र जनताको बीचको सम्बन्ध भनौँ अथवा जनताप्रतिको उहाँको विश्वास भनौँ वा जनताप्रतिको उहाँको इमान्दार सोंच भनौँ ती सबैलाई अभिव्यक्त गर्दछ । आजीवन जनताप्रति इमान्दार नेताको छवि बनाउनु भएका वीपी कोइरालाको सोंच, उहाँको चरित्र र उहाँको दूरदृष्टिसहितको राजनीतिक निर्णय गर्ने क्षमता वर्तमान राजनीतिक नेतृत्वमा प्रदर्शित हुन सकिरहेको छैन । 

राजनीति शास्त्रीहरुले राजनीतिलाई कला र विज्ञानको सङ्गम भनेका छन् । विज्ञानले परिणामको अपेक्षा गर्दछ भने कलाले विशिष्ट सीप र दक्षताको अपेक्षा गर्दछ । कलाको अभावमा विज्ञानको पक्ष मृतप्रायः हुन्छ भने विज्ञान अर्थात सही परिणाम दिन नसक्ने कला पनि अर्थहीन हुन्छ । जनताबाट टाढा राखिएको राजनीतिले राजनीति शास्त्रको नियमहरुको अनुशरण गर्न सक्दैन । त्यतिबेला राजनीति त केबल स्वार्थ हासिल गर्ने अस्वस्थ्य खेलमा परिणत हुन्छ ।

राजनीतिलाई जनतासँग जोड्दै जनआकांक्षा पूरा गर्ने अभ्यासका रुपमा अगाडि बढाउनु पर्ने हो । तर त्यसो हुन सकेको छैन । राजनीति सेवाको क्षेत्रभन्दा पनि पेशा बन्ने डर यतिबेला प्रकट भएको छ । तसर्थ, राजनीतिलाई जनतासँग जोड्नु पर्छ भन्ने वीपीको सोंच र उहाँ आफैँले जोडेर देखाइदिएको इतिहास हाम्रा लागि अनुकरणीय हुनुपर्दछ । यति मात्र गर्न सकियो भने राजनीतिले सही दिशा पकड्ने छ ।
(लेखक नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुनुहुन्छ)