• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:०४:०३

मलाई फेरि कसले नानु भन्ला ? 

उमेरले दुई दशक कहिले काटेछ पत्तै भएन 

बिहान, दिउँसो, राति, आज, भोलि,पर्सि भन्दा भन्दै र दिन गन्दा गन्दै 
खै कतिबेला बालापन सकिएछ अनि कतिबेला जवानी आधा भएछ।। 
जवानी सकिनु भन्दा पनि बुढी हुने डरले बेला बेला झस्काईरहन्छ 
नमज्जासंग।। 

उमेरसँगै थपिएका जिम्मेवारी र सम्बन्धसँग मुकाबिला कसरी गर्ने ?
मलाई त फेरी त्यहि बालापनमा फर्कन मन छ सदासदाका लागि।। 

बिरक्तिन्छु, ऐना हेर्छु र समयसँग बैना मार्छु 
बिन्ति मलाई अब यहाँ भन्दा बुढी नबनाईदेउ 
बरु लैजाऊ यसै उमेरमा यो धर्तिभन्दा धेरै टाढा 
कमसेकम तिम्ले पुर्याएका जुनसुकै कुनामा गएर पनि आफ्नो 
दक्षताले काम गर्न त सक्छु। 

अस्ति नानु, हिजो बहिनी, आज दिदि 
भोलि आन्टी र पर्सि त सबैले मलाई हजुरआमा भन्नेछन। 
के रे ? म हजुरआमा !
दाँत झरेकी 
कुप्री परेकी, छाला चाउरी परेकी र कपाल सेतै फुलेकी मलाई फेरि कसले नानु भन्ला ? 

नाती केटोले आमा भन्नुको साटो नानु भन्यो भने
पारो तात्छ पनि त होला नि 
पदीय मर्यदा नपाएको भनेर।। 
त्यसैले बिन्ति प्रभु, मलाई फेरि सानु बनाईदेउ 
अनि सबैकी प्यारी नानु बनाईदेउ।।