• शनिबार, ८ बैशाख, २०८१
  • ०७:३७:५८

बाढीले सयौं बिघा धानबाली नष्ट 

  • Netizen Nepal
  • बिहीबार, ६ असोज, २०७९- १५:५७:००/ Thursday 09-22-22

झलनाथ खनाल 
भजनी, ६ असोज। बाँसको चोयाले बारेर माटोले पोतेका कच्ची घर। बाढीले भत्काएका घरका भित्ता। हिलाम्मे घरका आँगन । बाढी पसेपछि हिलाम्मे भएका घरमा गहुँको भुसले ओभानो बनाएर जीवन कटाउनु पर्ने बाढी पीडितको बाध्यता ।  

कैलालीको भजनी नगरपालिका–८ गोरचौराका सन्तराम चौधरीको जनजीवन यस्तै छ । घरको आँगनमा बस्न सक्ने अवस्था छैन । कच्ची माटोले बनाएका घर बाढीले छियाछिया बनाएको छ । घरभित्र बाढीसँगै आएको लेदो सुकेको छैन ।

घरका कोठा सुख्खा बनाउनको लागि चौपायालाई खुवाउनको लागि भनेर राखेको गहुँको भुसले घर ओभानो बनाउने प्रयास गरिएको छ । “तीन रात खुला आकाशमा बिताएर घर फर्किएका छौंँ । घरको अवस्था तपाईले देखिहाल्नु भयो” सन्तरामले भन्नुभयो, “खुला आकाशको असुरक्षित बसाइँ निकै अप्ठ्यारो भयो । घरमा भएपछि आफ्नो सुरक्षा र घरको सुरक्षा होला भनेर पनि घर फर्किनुप¥यो ।”

सन्तराम जस्तै सयौं घरको अवस्था उस्तै छ । घरका आगन कसैका सुख्खा छैनन् । घर वरिपरि हिलाम्मे छ । आवतजावतमा निकै समस्या छ । घरभित्र पनि सुरक्षीत हुने वातावरण छैन । घर सुख्खा बनाउनको लागि स्थानीयवासीले विभिन्न प्रयास गर्दै आएका छन् । “किरा फटयाङ्ग्राको जोखिम  छ । काठका घरमा बस्दा कतैबाट किरा फटयाङ्ग्राको  आक्रमण हुन्छ कि भन्ने त्रासले रात दिन सताइरहन्छ” भजनी नगरपालिका–८ की सम्झना विकले भन्नुभयो, “आफूभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न कठिन भएको छ । खानलाई अन्न छैन । पिउनलाई पानी । बालबालिका छैन भने मान्दैनन् ।”

भजनी नगरपालिका–८ की पवित्रा चौधरी भदौ ३१ गते राति एकाएक घर छोडेर नजिकैको कृष्णध्वज चन्द माविमा पुग्नुभएको थियो । शरिरमा लगाएको लुगाबाहेक सबै छोडेर ज्यान जोगाउन विद्यालय पुगेकी पवित्रा तीन दिनपछि घर फर्किनुभयो । घरको कुरुप अवस्था देख्दा उहाँलाई निकै चिन्ता भएको छ । घरमा रहेको अन्नपात, लत्ताकपडा सबै भिजेर खत्तम भएपछि भिजेको अन्नपात  सुकाउन उहाँलाई निकै समस्या भएको छ । “अन्नपात सबै भिजेर खत्तम भएको छ । सुकाउनको लागि न त त्रिपाल छ न त सुख्खा ठाउँ” पवित्राले भन्नुभयो”, भिजेको धान, गहुँ उम्रन थालिसकेको छ । लत्ताकपडा सबै हिलाम्मे भएका छन् । आगनमा आवतजावत गर्न सकिने अवस्था छैन । घरभित्र सहज रुपमा बस्न सक्ने स्थिति छैन ।”

बाढीका कारण घरमा पानी पस्दा अधिकांशको घरमा भएको अन्नपात बगेको छ । बचेको अन्नपात पनि उम्रन थाएको छ । सुकाउनको लागि कपडा छैन । आगन ओभानो छैन । भजनी नगरपालिका–८ की रामकृष्णी चौधरीले बाढीका कारण श्रीमान गुनाउनुप¥यो । असोज १ गतेको बाढीमा बेपत्ता भएका रामकृष्णीका ६० वर्षीय कालुराम डगौंरा थारुको दुई दिनपछि शव भेटिएको थियो । श्रीमानको बाढीले ज्यान लिएपछि आफूहरु पनि बाढीबाट सुरक्षित नरहेको रामकृष्णीले बताउनुभएको छ । “जुन कुराको त्रास वर्षौदेखि मनमा थियो, आज हाम्रा लागि त्यही भयो” रामकृष्णीले भन्नुभयो, “भोलि अरुलाई पनि हुनसक्छ । वर्षातको समय भजनीका लागि निकै कष्टकर हुन्छ । यो सबैलाई थाहा छ । तर समाधान कतैबाट हुँदैन ।”

सयौं बिघा धानबाली नष्ट 

भजनीमा बाढी, डुबान र कटानका कारण सयौं बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । चारैतिरबाट नदीले घेरिएको भजनीमा नदीको कटान र डुवानका कारण सयौं बिघा नष्ट भएको छ । विशेषगरी कान्द्रा, काँढा र पथरैया नदीका कारण बढी क्षति भएको स्थानीयवासी गणेश बोहराले बताउनुभयो । धानबाली नगरपालिकाले धानबालीमा भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरेको छ । 

नगरपालिकाका कृषि शाखाका प्रमुख हरिलाल जोशीका अनुसार वडा नं. ३, ५, ७ र ८ का अधिकांश क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा नष्ट भएको छ । “कतिपय ठाउँमा डुबानका कारण धान कुहिएको छ भने कतिपय ठाउँमा बाढीसँगै आएको लेदोले धान पुरेको छ” कृषि शाखा प्रमुख जोशीले भन्नुभयो, “यकिन तथ्याङ्क आएको छैन । तथ्याङ्क सङ्कलनको काम भएपछि मात्रै कति क्षति भएको छ भन्न सकिन्छ । मोटामोटी हेर्दा ५० प्रतिशत धानबालीमा क्षति भएको छ ।“

विद्यालयमा क्षति 

विद्यालयहरुमा बाढी पसेपछि असोज १ गतेदेखि भजनीका अधिकांश विद्यालय बन्द भए । केही विद्यालयमा स्थानीयले आश्रय लिएर बसेका कारण पनि विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण विद्यालयको पहिलो तलामा माटो पसेका कारण त्यसको सरसफाइको काम भइरहेको छ भने कतिपय विद्यालय बाढीको छुटकारा पाउन सकेका छैनन् । विद्यालयमा बाढीका कारण ठूलो क्षति भएको नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो । उहाँले कतिपय विद्यालयका हाजिर रजिस्टरदेखि कम्प्युटरहरुमा समेत क्षति भएको जानकारी दिनुभयो ।

“प्रधानाध्यापकहरुको बैठक बोलाउने तयारी गरेका छौँ । त्यसपछि कुन विद्यालयका कति क्षति भएको छ, त्यसको वास्तविक तथ्याङ्क आउने छ” शिक्षा अधिकृत शाहले भन्नुभयो, “केही विद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । ती विद्यालयलाई सञ्चालनमा ल्याउन विकल्प खोज्ने काम पनि भैरहेको छ ।” बाढीका कारण जनजीवन अस्तव्यस्त हुँदा त्यसको असर बालबालिकामा समेत परेको बताउँदै शिक्षा अधिकृत शाहले सञ्चालन भएका विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमि आएको बताउनु भएको छ ।

स्वास्थ्यमा विशेष सावधानी 

नगरपालिकाले बाढीका कारण विस्थापित भएका नागरिकहरूमा सङ्क्रामक रोगको प्रकोप फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाएको छ । विस्थापित भएका नागरिकलाई स्वस्थ्य परीक्षणलाई निरन्तरता दिएको  छ । स्वस्थ्य सामग्रीका साथै स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको स्वस्थ्य शाखाका प्रमुख कैलाश चौधरी बताउनुहुन्छ । 

“बाढीका कारण हावापानीमा पूरा परिवर्तन भएको हुन्छ । अहिले डेङ्गुको सङ्क्रमण फैलिदो अवस्थामा छ । त्यसको विशेष सावधानीमा नगरपालिका  छ” स्वस्थ्य शाखा प्रमुख चौधरीले भन्नुभयो, “डगु परीक्षणका लागि किटको अभाव छ । खरिदको प्रक्रिया अगाडि बढाएका छौं ।” उहाँले पिउने पानीका कारण रोग फैलिन सक्ने जोखिम रहेको बताउनुभयो । शुद्ध  खानेपानीमा नागरिकको पहुँच नभएका कारण हाते पम्पको पानी पिउँदा स्वस्थ्य समस्या देखिन सक्ने बताउनुभयो ।

मृतकका परिवारलाई नगद सहयोग 

सरकारले बाढीका कारण ज्यान गुमाएका भजनीका दुई परिवारलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले नगरपालिकाको वडा नं ८ का ६० वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको परिवारलाई जनही दुई लाखका दरले नगद सहयोग गरिएको हो । 

मन्त्री रावलले प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारलाई जनही रु एक लाख २० हजार सहयोग गर्ने निर्णय भएको बताउनुभयो । उहाँले पूर्णरुपमा घरबारविहीन परिवारलाई रु ५० हजार सहयोगको निर्णयसमेत भएको बताउनुभयो ।

दीर्घकालीन समाधान खोज्दै नगरपालिका 

बर्सेनि स्थानीय वासिन्दा बाढी र डुबानको समस्या झेल्दै आएको भन्दै प्रदेश र सङ्घीय सरकारलाई दीर्घकालीन नदी नियन्त्रणमा सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नदी नियन्त्रणका लागि काम नभएसम्म भजनीका नागरिकले बाढी र डुबानको समस्याबाट छुटकारा पाउन नसक्ने बताउनुभयो । “भजनी डुबानको मुख्य कारण कान्द्रा, काँढा र पथरैया नदी हुन् र अर्को कारण भारतक कैलाश बाँध पनि हो” नगर प्रमुख चौधरीले भन्नुभयो, “नदीमा पानीको सतह बढेपछि भारतले कैलाश बाँधका ढोका बन्द गरेपछि भजनी डुवानमा पर्ने गरेको छ । यसको समाधानका लागि सङ्घीय सरकारले गम्भीरताका साथ लिनुपर्छ ।”

सुदुरपश्चिम प्रदेशका सांसद वीरमान चौधरीले राहत दिएर नागरिकलाई केही सान्त्वना दिनसके पनि दीर्घकालीन समाधानका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । “नगरपालिकाको करोडौं विकास खर्च हुन्छ । त्यसको परिणाम देखिँदैन । बर्सेनि आउने बाढीले त्यो विकासलाई विनाश गर्दै आएको छ” सांसद चौधरीले भन्नुभयो, सबैभन्दा अस्तव्यस्त सडक भएका छन् । आवतजावतमा कठिनाइ भएको छ । त्यसको मर्मतसम्भारमै करोडौं खर्च हुने देखिन्छ ।”

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले भजनीको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकारको समन्वय हुन आवश्यक रहेको बताउनुभयो । बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा सङ्घीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताउँदै प्रदेशले गर्ने कामका लागि आपूm मातहतका मन्त्रालयसँग समन्वय गर्ने बताउनुभएको छ । मन्त्री रावलले भन्नुभयो, “सानोतिनो योजनाले भजनीलाई बाढी र डुबानको जोखिमबाट बचाउन सकिंदैन । त्यसका लागि तीनै तहको सरकार सकारात्मक भएर समन्वय र सहयोग हुन आवश्यक छ ।”