• शुक्रबार, १४ बैशाख, २०८१
  • ०४:४७:३६

बाढीपीडित भन्छन, 'घरमा अन्नपात छैन कसरी भोक मेटाउने?' 

  • Netizen Nepal
  • आइतबार, ९ असोज, २०७९- १५:४०:००/ Sunday 09-25-22

नेटिजन संवाददाता

काठमाडौँ, ९ असोज। कैलालीको भजनीका बाढीपीडितलाई खाद्यान्नको अभाव भएको छ । बाढीले घर डुबानमा परेपछि अन्नपात नष्ट भएका बाढीपीडितलाई यतिखेर परिवारको पेट कसरी भर्ने भन्ने पिरले सताएको छ ।

यही असोज १ गते आएको बाढीले भजनी नगरपालिकाका सबै वडामा क्षति भयो । बाढीले घर डुबानमा परेपछि अधिकांशका घरमा रहेका अन्नपात भिजेर नष्ट भयो । कतिपयका घर भत्किएका छन् भने कतिपयका घरमा अहिले पनि बस्ने व्यवस्था छैन । 

बाढीले घरमा रहेको अन्न केही बग्यो, केही भिजेर नष्ट भएपछि अधिकांशका घरमा चुलो बल्न नसकेको उनीहरुको गुनासो छ । भजनी सोनाहफाँटाका गणेश विकले आफू परिवारको पेट कसरी पाल्ने भन्ने चिन्तामा रहेका बताउनुभयो ।

 “नेपालीको महान पर्व दसैँ नजिकिँदै छ, अन्य ठाउँका नागरिक दसैँको तयारी गर्न थाल्दा हामी भने पीडामा छौँ”, विकले भन्नुभयो, “हामीलाई  चाडपर्व मनाउनुभन्दा परिवारको पेट कसरी भर्ने भन्ने पीडाले सताएको छ, खाद्यान्नको जोहो कसरी गर्ने भन्ने सोच्न सकेका छैनौँ ।”

अन्नपात नभएपछि दाताले दिएको चिउरा, चाउचाउका भरमा उनीहरु बसेका छन् । भजनीकै नन्दलाल डगौराको घरमा रहेका सबै सामान नष्ट भएपछि उहाँलाई अब के गर्ने भन्ने अन्योलता छ । उहाँको अन्न बाढीमा बग्यो । उहाँले राहत पाउनुभएको छैन । “घरमा भण्डारण रहेको अन्न सबै बाढीले नष्ट ग¥यो, खेतमा रहेको धानबाली पनि नोक्सान भएको छ”, डगौरा भन्नुहुन्छ, “अब भोकमरीले सताउने डर छ, मजदूरी गर्न जाउ भने पनि काम पाइएको छैन, घरमा अन्न छैन कसोगरी भोक मेटाउने होला ?”

स्थानीय पहलमानसिंह डगौराको पनि घरका सरसामान, खेतमा रहेको बाली सबै सामान नष्ट भएको छ । सात जनाको उहाँको परिवारले पनि राहतका नाममा चिउरा मात्रै पाएको छ । “एक सातासम्म हुलाकी सडकमा बस्यौँ, एक सातापछि घर फर्केका छौँ, अन्नका नाममा घरमा केही छैन”, उहाँले भन्नुभयो, “अब राहत पाएपछि खाउँला भन्ने आशा छ, सहयोगीले दिए खाउला नभए यस वर्ष भोकमरी हुन्छ, खेतमा रहेको धानबाली पनि नोक्सान भयो, घरमा पनि अन्न छैन ।”

जनकपुरका कृष्ण चौधरीको चार जनाको परिवार छ । उहाँहरुले पनि राहतमा चिउरा र पानीमात्रै पाएको बताउनुभयो । नेपाली सबैले दसैँ मनाउने तयारी गरिरहँदा उहाँ राहतमा चामल, दाल लगायतका खाद्यान्न दिएको भए सहज हुने बताउनुहुन्छ । “दसैँ आउन थालेको छ, सबै दसैँको तयारीमा छन्, तर हामी भजनीवासी बाढीपछिको दुर्गन्ध र घर सरसफाइमा जुटेका छौँ”, उहाँ भन्नुहुन्छ, “चाडपर्वमा रमाइलो त परै जाओस्, हामीलाई दुई छाक कसरी खाने भन्ने समस्या आइलागेको छ ।”

नगरपालिकाले बाढीपीडित सात हजार बढी परिवार रहेकाले राहत लगायतका कार्यका लागि सबैलाई अपिल गरेको छ । पालिकाले तत्काल बढी समस्यामा रहेकालाई खानाका लागि मेस सञ्चालन र खाद्यान्न वितरण गरिरहेको छ । यसका साथै प्राथमिकतामा राखेर राहतका कार्यक्रम ल्याउन थालेको जनाइएको छ ।

 वडा नं ८ का वडाध्यक्ष पङ्कज चौधरी राहत वितरण कार्य सुरु गरिएको बताउनुहुन्छ । “हामीले बढी समस्या भएकालाई प्राथमिकता दिएर खाद्यान्न वितरण थालेका छौँ, सहयोगी दाताले दिएका खाद्यान्न समुदायमा वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “हामी नागरिकका समस्यामा सँगसँगै छौँ, हजारौँ नागरिक प्रभावित भएकाले सोँचेजस्तै गर्न सकिएको छैन, तर हामी प्रयासरत छौँ ।”