सर्लाहीमा "थ्री स्टार विद्यालय" अभियानले गति लिंदै
- Netizen Nepal
- शनिबार, ३ मङ्सिर, २०७९- १३:१०:००/ Saturday 11-19-22
नेटिजन संवाददाता
काठमाडौँ, ३ मङ्सिर । विद्यालय सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका लागि सर्लाही जिल्लामा स्थानीय सरकार अहिले तातेका छन् । जिल्लाको चन्द्रनगर गाउँपालिका, पर्सा गाउँपालिका, कौडेना गाउँपालिका र रामनगर गाउँपालिकाका एक–एक विद्यालयलाई थ्री स्टार विद्यालय बनाउने अभियानको शुरुआत भएको छ । एसएनभि नेपालको प्राविधिक सहयोगमा स्थानीय साझेदार संस्था रसंचार क्षेत्रको संलग्नतामा स्थानीय सरकारले नेतृत्व गरेको यो अभियान २०२२ सेप्टेम्बरदेखि शुरु भएको छ । यो अभियान सबै विद्यालयमा विस्तार गरिंदै जाने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।
स्थानीय सरकार तथा सरोकारवालाहरुसँग अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एसएनभीको साझेदारीमा चन्द्रनगरस्थित मरिचमान सिंह माध्यामिक विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको घोषणा गरिएको थियो । कार्यक्रममा विद्यार्थी, स्थानीय सरकारका जनप्रतिनिधि, शिक्षासम्बन्धी सरोकारवाला निकायका प्रतिनिधिहरु, अभिभावक तथा स्थानीय वासिन्दाको उत्साहजनक सहभागिता रहेको र यसले यो अभियानलाई अझ विस्तार गर्न प्रेरित गरेको अध्यक्ष महतोले जानकारी दिनुभयो । उपस्थित सबैले अभियानको थालनीप्रति खुसी व्यक्त गर्दै यसलाई सफल बनाउनका लागि हातेमालो गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
अध्यक्ष महतोलेचन्द्रनगर गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विशिष्ट कानुन र कार्यक्रम नै तय गर्ने बताउँदै यो अभियानलाई केहीसमयभित्रमै पालिकाका प्रत्येक विद्यालयमा पु¥याउने जानकारी दिनुभयो । “विद्यालयमा स्वच्छता, खानेपानी र सरसफाइका कार्यक्रमलाई हामीले प्राथमिकतामा राखेका छौं र पञ्चवर्षीय आवधिक योजनामा समेत यसलाई समावेश गरेका छौं” उहाँले भन्नुभयो । विद्यालयका साथसाथै सडक सरसफाइ र वातावरण सौन्दर्यका कार्यक्रमलाई समेत महत्वका साथ् अगाडी बढाउने पालिकाको योजना रहेको जानकारी पनि उहाँले दिनुभयो ।
विद्यालयमा सरसफाइ अनिवार्य हुँदा हुँदै पनि आर्थिक अभाव लगायतका कारण छात्र र छात्राका लागि एउटै शौचालय र पानीको एउटै कल मात्र भएको र महिनावारी स्वच्छता व्यवस्थापनका विषयलाई पनि राम्रोसँग अगाडी बढाउन नसकिएको तथ्यलाई मरिचमान माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर मण्डलले स्वीकार्नुभयो । उहाँलेविद्यालयको सरसफाईको अवस्था तीन ताराको अवधारणा अनुसार नभएको बताउँदै यसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा भोलि सुशासन, सरसफाइ र स्वच्छता कायम गर्ने व्यक्तिहरु यिनै विद्यार्थी हुन् । त्यसैले उनीहरुको सिकाइ तथा व्यवहार परिवर्तनका लागि हामीले अहिल्यैदेखि नै पहल गर्नुपर्छ । त्यसका लागि हामी स्थानीय सरकारसँग समन्वय गरेर यो अभियानलाई थप प्रभावकारी बनाउँदै लैजानेछौं ।”
चन्द्रनगर गाउँपालिकामा स्थानीय वासिन्दा र अभिभावकहरुको सरसफाई र स्वच्छता सम्बन्धी चेतनामा समेत अभिवृद्धि भएको छ । अभिभावक तथा स्थानीय रामेश्वर शाहले स्वच्छता तथा सरसफाइ स्वस्थ जीवनसंग जोडिएको पाटो भएकाले अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘पहिले हामी दूषित पानी पिउन बाध्य थियौं । गाउँमा खानेपानीको गुणस्तर परीक्षण गर्ने कुनै व्यवस्था थिएन । हामीलाई पानी शुद्धिकरण गरेर खानुपर्ने कुराको सामेत जानकारी थिएन। जसले गर्दा गाउँमा बेलाबेला विभिन्न किसिमका रोगहरुको संक्रमण हुने गथ्र्यो । तर अहिले खानेपानीको गुणस्तर परीक्षणका लागि प्रयोगशालाहरुको व्यवस्था छ, हामीले पानी शुद्धिकरणका विधिहरु पनि थाहा पाएका छौं । अब यी विधि र तरिकाहरु विद्यालयमा पनि लागू गर्ने र विद्यार्थीहरु मार्फत घर घरमा सन्देश फैलाउने काम यो अभियानले गर्नेछ” उहाँले भन्नुभयो ।
विद्यालयमा छात्रा मात्र नभइ छात्रहरुलाई पनि महिनावारी शिक्षा र सचेतना दिनुपर्ने चन्द्रनगर गाउँपालिकाकी शिक्षा शाखा प्रमुख कमला बस्नेत बताउनुहुन्छ । “यहाँ छाउ बार्नुपर्ने अवस्था नभए पनि महिनावारी भएका बेला धेरै प्रकारका समस्याहरु आउँछन् । ती समस्याका बारेमा विद्यालय, अभिभावक र विद्यार्थीहरु सचेत भए भने छात्राहरुलाई सिकाइका लागि अझै सहजता हुन सक्छ ।”
यस्तै, उहाँले विद्यालयमा प्याड अपुग भएमा स्थानीय सरकारसँगे सहजीकरण गरी उपलब्ध गराउने तथा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिमको व्यवस्थासमेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभियानको थालनी निकै सकारात्मक भएको भन्दै मरिचमान माविका शिक्षक सरोजकुमार सिंहले चन्द्रनगर गाउँपालिकामा रहेका २२ वटै विद्यालयहरुमा यो अभियान सञ्चालन गर्नुपर्ने बताउँदै यसका लागि शिक्षकहरु सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
विद्यालयमा "तीन तारे" पद्धति
विद्यालयमा सरसफाइ र स्वच्छ व्यवहार अपनाउनुपर्छ भन्ने अवधारणा त विगत ४ दशक अघिदेखि नै आएको हो। तर तीनतारे पद्धति भने केही वर्षअघि देखि मात्र आएको छ । सरकारले विद्यालयमा खाने पानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ जारी गरेपछि यो पद्धति शुरु भएको हो।
युनिसेफका अनुसार नेपालका २६ हजार ४ सय ५४ सामुदायिक विद्यालयमध्ये झण्डै २० प्रतिशतमा मात्र सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध छ । १९ प्रतिशतविद्यालयहरुमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारी सम्बन्धी सरसफाइको सुविधा छैन । यी सुविधा भएका विद्यालयमा छात्राहरुको पढाइ पनि राम्रोसँग अघि बढेको छ । तर धेरैजसो विद्यालयमा यिनै सुविधाको अभावमा छात्राहरुको पढाइमा बाधा परेको छ ।
तीन तारे पद्धति अनुसार विद्यालयमा स्वच्छता सम्बन्धी व्यवहार अपनाइएको आधारमा वर्गीकरण गर्न सकिन्छ । तीन ताराको मापदण्ड पुगेका विद्यालय उत्कृष्ट, केही मात्र पुगेका मध्यम वा दुई तारा र धेरै नै सुधार गर्नुपर्ने अवस्थाका विद्यालयहरुलाई न्यून वा एक तारा मात्र भएको विद्यालय भनेर वर्गीकरण गरिएको छ । यो पद्धति खाने पानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ ले तोकेको मापदण्ड अनुसार हुन्छ।
विद्यालयमा शौचालयको व्यवस्था भएर मात्र पुग्दैन, शौचालयमा पर्याप्त पानी र सरसफाइ भएन भने बालबालिकालाई उल्टै विभिन्न किसिमका सङ्क्रमण हुने जोखिम पनि त्यत्तिकै हुन्छ । जोखिमपूर्ण समय अर्थात् चर्पी प्रयोग गरेपछि, खाना पकाउनु, खानु र खुवाउनु अघि, कुनै पनि फोहोर, विषादी छोएपछि साबुनपानीले मिचीमिची हात धोएको खण्डमा फोहोरका कारणले हुने अनेकौं रोग लगायत कतिपय सरुवा रोगबाट बच्न सकिन्छ ।
के हो तीन तारे विद्यालय अवधारणा?
नेपालमा झण्डै चार दशक अघिदेखि स्वच्छता र सरसफाइलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । नेपाल सरकारको अग्रसरता र अन्य विभिन्न संस्थाको सहयोगमा विद्यालयमा खानेपानी तथा सरसफाइ कार्यक्रम, विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम आदि सञ्चालन भइरहेका छन् । विद्यालयमा सरसफाइ प्रवद्र्धन जस्तो विषयवस्तुलाई मध्यनजर गर्दै युनिसेफको सहयोगमा नेपाल सरकारले एकतारे, दुईतारे र तीनतारे विद्यालयको अवधारणालाई अघि सारेको छ । एसएनभि नेपालले पनि सर्लाही र दैलेख जिल्लाका विद्यालयमा सफा खाने पानी, साबुन पानीले हात धुने तथा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
एकतारे विद्यालयका सूचकका रुपमा सबै विद्यार्थीहरुले जोखिमपूर्ण समयमा साबुन पानीले हात धोएको सुनिश्चित गरिएको, दिनहुँ शौचालयको सरसफाइ गरिएको सुनिश्चित गरिएको, शौचालयमा वा शौचालय नजिक हात धुने स्थानमा साबुनको व्यवस्था भएको, विद्यालयमा पानीे उपलब्ध रहेको र विद्यालय परिसर खुला दिसामुक्त भएको एवंसेवा क्षेत्रसमेत खुला दिसामुक्त घोषणा भएको हुनुपर्ने प्रावधान रहेका छन् । त्यस्तै, दुईतारे विद्यालयका सूचकहरुको रुपमा एकतारे विद्यालयमा भएका प्रावधानहरुको अतिरिक्त विद्यालयमा साबुन पानीले हात धुने समूहगत सुविधा भएको, विद्यालय हाताभित्र पानीको सुविधा भएको, महिनावारी शिक्षा दिनुका साथै सेनिटरी प्याड व्यवस्थापनका लागि इन्सिनेटर (जलाउने ठाउँ) भएको, छात्रछात्राका लागि अलग–अलग शौचालयको सुविधा भएको र कम खर्चिलो तथा भरपर्दो पानी शुद्धिकरणका विधि प्रयोग गरिएको अवस्थालाई समावेश गरिएको छ ।
सरसफाइको क्षेत्रमा सर्वोत्कृष्ट विद्यालय अर्थात् तीनतारे विद्यालय हुनका लागि आवश्यक पर्ने सूचकहरुमा एकतारे र दुईतारे विद्यालयमा हुने सेवा सुविधाहरुको अतिरिक्त अपाङ्गता भएका विद्यार्थीहरुलाई समेत सहज हुनेगरी शौचालयसम्म जानको लागि ¥याम्प (समाउने ठाउँ) को व्यवस्था भएको, शौचालयमा हातले समाउने डण्डी राखिएको, प्रति ५० विद्यार्थीको अनुपातमा एउटा शौचालय र युरिनलको सुविधा भएको तथा वास कार्ययोजनालाई विद्यालय सुधार योजनामा समावेश भएको हुनु पर्ने रहेका छन् ।
यसरी नेपाल सरकारबाट स्टार विद्यालयको रुपमा मान्यता पाउँनका लागि माथि तोकिएका आधारहरु पूरा गरेको हुनु पर्छ । एकतारे हुनका लागि एकतारेमा भएका सूचकहरु पूरा गर्नुपर्छ भने दुईतारे हुनका लागि एकतारे र दुईतारे दुवैका सूचकहरु पूरा गरेको हुनुपर्छ । यसरी नै तीनतारे विद्यालय हुनका लागि एकतारे, दुईतारेका साथ तीनतारेमा उल्लेख भएका सूचकहरु पनि पूरा गर्न जरुरी हुन्छ । जुन विद्यालयमा एक तारेमा उल्लेख गरेका आधारभूत सूचकहरु उपलब्ध हुँदैनन्, त्यस्ता विद्यालयहरु तारे विद्यालयमा पर्दैनन् । तीन तारे अवधारणा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी तिनै दश वटा सूचकहरुका आधारभूत विषयहरु प्राप्त गरेको संकेतका रुपमा पनि लिन सकिन्छ ।
विद्यालयमा स्वच्छताको महत्व
सरसफाइ र स्वच्छता मानिसका लागि अत्यन्तै महत्वपूर्ण विषय हो । अझ बालबालिकाले सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्ने विद्यालयजस्ता ठाउँहरुमा त स्वस्थभएर बाँच्नका लागि स्वच्छता सम्बन्धी व्यवहार सिक्नु सिकाउनु महत्वपूर्ण हुन्छ । त्यसैले वर्तमान समयमा नेपालका धेरै विद्यालयहरुमा यसको आवश्यकता र महत्वका बारेमा चर्चा हुन थालेको छ ।
बालबालिका आफूले सिकेका कुराहरु घरपरिवार, साथीसङ्गी र समाजमा छिटो प्रवाह गर्न सक्छन् । उनीहरुले बाल्यकालमा जे सिक्छन, त्यसको प्रभाव उनीहरुमा जीवनभर नै परिरहन्छ । त्यसैले आज उनीहरुले स्वच्छता सम्बन्धी व्यवहार सिके भने भोलि आफ्नो,आफ्नो सन्ततिको र समाजका अरु सदस्यको जीवनमा त्यसलाई अवलम्बन गर्न गराउन सक्छन्, जसबाटस्वस्थ र गुणस्तरीय जीवनको आधार तयार गर्न सहयोग पुग्छ ।
त्यसैले नेपाल सरकारले विद्यालयमा स्वच्छता व्यवहार प्रवद्र्धनका लागि ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४’ जारी गरेको छ । जसमा विद्यालय सिकाइ सुधार तथा विद्यार्थीको वृहत्तर विकासका लागि अपनाउनुपर्ने न्यूनतम आधारभूत आवश्यकताअन्तर्गत दश वटा सूचकहरु तोकिएका छन् । यी सूचकहरु पूरा गर्नका लागि तीन तारे विद्यालयको अवधारणा समेत अघि सारिएको छ । यी दश वटा सूचकहरुमा खानेपानी, शौचालय, सफा स्वच्छ र हरियाली वातावारण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्थापन र दिगोपाना, विपद जोखिम व्यवस्थापन, अनुगमन र जवाफदेहितालाई समावेश गरिएको छ ।
स्थानीय सरकारको अनुगमन र व्यवस्थापनमा देशभरका प्रत्येक प्रत्येक विद्यालयमा यो सुविधा उपलब्ध हुनुपर्ने व्यवस्था रहेको शिक्षा तथा मानव संसाधन स्रोत विकास केन्द्रको भनाइ छ । सरकारको तीन तारे विद्यालयको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम र अभियानहरु समेत चलेका छन् । सर्लाही जिल्लामा चलेको यो अभियानले पछिल्लो समयमा सार्थकता पाउँदै गएको छ । केहि विद्यालयबाट शुरु गरिएको अभियानलाई अन्य विद्यालयमा पनि लागु गर्नका लागि स्थानीय सरकारबाट प्रतिबद्धताहरु व्यक्त भएका छन् भने अभियानलाई तिब्रता दिने काम पनि भएका छन् ।