• शनिबार, २९ बैशाख, २०८१
  • ०८:३४:३१

“मेरो विद्यालयलाई तीन तारे विद्यलाय बनाउँने अभियानको नेतृत्व म लिन्छु”  

  • Netizen Nepal
  • शनिबार, ३ मङ्सिर, २०७९- १४:५९:००/ Saturday 11-19-22

श्री नारायण महतो
काठमाडौँ, ३ मङ्सिर । विद्यालय सरसफाई, खानेपानी तथा स्वच्छता प्रवर्द्धन निकै महत्वपूर्ण विषय हो । स्थानीय सरकार र एसएनभीलगायतका गैर सरकारी संस्थाहरुको पहलमा सर्लाही जिल्लाका ४ ओटा पालिकाहरु  (चन्द्रनगर, पर्सा, कौडेना र रामनगर) का विद्यालयहरुमा तीन तारे विद्यलाय  अभियान सुरु भएको छ । सोहिअनुसार हाम्रो विद्यालयमा पनि गत महिना औपचारिक कार्यक्रम गरेर विद्यालय सरसफाई र स्वच्छता प्रवर्द्धनका लागि तारा पद्धतिको सुरुवात भएको छ । स्थानीय रेडियोबाट पनि यस समन्धी विभिन्न सन्देशहरु आएका छन् ।

कौडेना गाउँपालिकामा रहेको हाम्रो विद्यालय (श्री जनता मावि)मा तीन तारा अभियानको सुरुवात भएपछि केहि परिवर्तनहरु पनि भएका छन् । एक त विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा सरसफाई र स्वच्छतासम्बन्धि चेतना वृद्धि भएको छ । साथै यसको महत्व र यसले भविष्यमा विद्यार्थी र समाजलाई कसरी फाइदा पुर्याउँछ भन्ने कुरासमेत सबैले बुझ्न पाएका छन् । म पहिल्यैदेखि विद्यालयको वातावरण सफा र स्वच्छ हुनुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ । त्यसैले यो हरेक विद्यालयमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट अभियान हो भन्ने मैले बुझेको छु ।  
कोरोना महामारीपछि समाजमा हात धुनुको महत्वका बारेमा जनचेतना जगाइयो । जसले गर्दा मानिसमा हात धुने बानि बस्यो । त्यहि बेला विद्यालयमा हातधुने धारा र साबुन पानीको व्यवस्था गरिएको थियो । त्यसपछि सरसफाई, स्वच्छता र खानेपानीका बारेमा हामी अझै सचेत भएका थियौं । सरसफाई भयो भने विद्यार्थीहरु स्वस्थ हुने भए । विद्यार्थी स्वस्थ भए भने समाज पनि स्वस्थ हुने भयो । त्यसैले यसले विद्यालय हुँदै समाजसम्म सकारात्मक प्रभाव पारिरहेको हुन्छ । तीन तारा पद्धतिअन्तर्गत पर्ने १० ओटै सूचकहरु निकै नै चित्त बुझ्दो छन् । महिनावारी स्वच्छता, खानेपानी, सरसफाईदेखि हरेक विषयहरु विद्यार्थीको हित हुने किसिमका छन् ।  

म यस विद्यालयमा सरुवा भएर आएको केहि महिना मात्र भयो । यहाँ आउनासाथ् मैले विद्यालय स्वच्छता र सरसफाईमा नै ध्यान दिएको थिएँ । त्यसपछि तीन तारा अभियानको पनि सुरुवात भयो । विद्यालयलाई तीन तारामा पुर्याउन त धेरै कामहरु गर्न बाँकी छ । तर अहिले गाउँपालिका र एसएनभी लगायतका संस्थाहरुले पनि निरीक्षण गरेर हाम्रो विद्यालयले एक तारा प्राप्त गरेको बताउनुभएको छ । हाम्रो विद्यालयले एकतारामा हुनुपर्ने मापदण्ड पुरा गरेको छ ।

तेस्रो तारामा पुग्नका लागि त धेरै तहहरु पार गर्नुपर्छ । अहिले हामी एक ताराबाट दोस्रो तारा कसरी प्राप्त गर्ने भन्ने विषयमै केन्द्रित छौं । त्यसका लागि विद्यालयको संरचनागत सुधारहरु गर्न बाँकी छ ।  शौचालयको अवस्था सुधार गर्नुपर्ने छ । विद्यालय वरिपरि हरियाली वातावरण बनाउने र सरसफाईमा पनि ध्यान दिन जरुरी हुन्छ । यी सबै विषयहरुलाई सुधार गर्दै जानका लागि स्थानीय सरकार तथा गैर सरकारी संस्थाहरुसंग सरसल्लाह र समन्वयका कामहरु गरिरहेका छौं । यसका साथै, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुसंग केहि रकम संकलन गरेर विद्यालयको अवस्था सुधार गर्ने सोच पनि बनाएको छु । सबैभन्दा महत्वपुर्ण कुरा भनेको चाहिं मसंग इच्छाशक्ति छ । विद्यालयलाई जसरी पनि तीन तारा घोषणा गरेरै छोड्छु ।  

तारा पद्धतिका १० वटा सूचकहरुका बारेमा जानकारी भइसकेपछि कति काम गरेर कुन स्थानमा पुग्न सकिन्छ भनेर एक किसिमको रेखाचित्र पनि बनाउन सकेका छौँ । सोहिअनुसार सुधारका प्रयासहरु पनि गरिरहेका छौं । विद्यालयको वातावरणमा थोरै मात्र परिवर्तन हुँदा पनि विद्यार्थीको सिक्ने उत्सुकता र रुचिमा परिवर्तन आउने रहेछ भन्ने कुरा मैले महसुस गरेको छु ।  

हाम्रो विद्यालयमा महिनावारी स्वच्छताको विषयलाई पनि विशेष ध्यानमा राखिएको छ । यो अभियान सुरु हुनुभन्दा अघिदेखि नै शौचालयमा स्यानिटरी प्याड र प्रयोग गरिसकेका प्याड व्यवस्थापनका लागि ढकनसहितको डस्टबिनको व्यवस्था गरेका थियौं । त्यसलाई डिस्पोज गर्ने मेसिन पनि हुन्छ भन्ने सुनेको छु । त्यो पालिकाले छिट्टै उपलब्ध गराउने कुरा भएको छ । महिनावारी भएका बेला गाह्रो भयो भने आराम गर्नका लागि बेडसहितको महिनावारी कक्षको व्यवस्था गरिएको छ । त्यहाँ हटब्याग र पानी ताताउने भाँडा र सबै सामाग्रीहरु राखिएको छ । 


खानेपानीको सवालमा हामी ६÷६ महिनामा परिक्षण गराइरहन्छौं । परिक्षण गर्दा पिउनयोग्य भएको पायौं । हरेक कक्षामा फिल्टरको पनि व्यवस्था गरिएको छ । बालमैत्री धाराको पनि व्यवस्था  छ । संरचना अपाङ्गतामैत्री बनाइएको छ । विद्यालयमा अपाङ्गता भएको विद्यार्थी एकजना मात्र छन् ।  तर उहाँको सहजताका लागि पनि ध्यान दिएका छौं ।  

हाम्रो विद्यालयमा ७ सय विद्यार्थीहरु अध्ययनरत छन् । उनीहरुका लागि ४ ओटा मात्र शौचालय छन् । दुई ओटा छात्रा र दुई ओटा छात्रका लागि । तारा पद्धतिका अनुसार ५० जना विद्यार्थीका लागि एउटा शौचालय निर्माण गर्नुपर्छ । हामीले अहिले आर्थिाक लगायत विविध कारणले विद्यार्थीलाई त्यो सुविधा दिन सकेका छैनौं । बिस्तारै गाउँपालिकासंग समन्वय गरेर यस्ता समस्याहरुको पनि समाधान गर्दै जाने हाम्रो लक्ष्य रहेको छ । अहिले विद्यलायमा चलेको अभियानसंगै रेडियो तथा अन्य संचार माध्यमबाट पनि यस सम्बन्धी सन्देशहरु आएका छन् । गाउँघरमा पनि विभिन्न सन्देश पुग्दैछन् । विद्यालयमा अभियान शुरु गर्दा प्रस्तुत गरिएका सामग्रीले पनि हामीलाई यो अभियानमा लाग्न प्रेरित गरेको छ । आगामी दिनमा पनि यो अभियानले निरन्तरता पाउँछ । मेरो विद्यलायमा यसको नेतृत्व म लिन्छु ।  सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा रहेको श्री जनता माविका शिक्षक श्री नारायण यादवसंग गरिएको कुराकानीमा आधारित ।