• बिहीबार, १३ बैशाख, २०८१
  • ०७:५८:४७

त्यसपछि मैले उनलाई कहिल्यै भेटिन

  • Netizen Nepal
  • आइतबार, ४ मङ्सिर, २०७९- १३:४४:००/ Sunday 11-20-22

कुसुम अधिकारी 

सुन्दर बगैंचा, चराहरुको चिरबिर चिरबिर आवाज । हावाका झोकाहरुले एउटा मिठो सुगन्ध मसम्म पुर्याएर छाड्दै थियो । म त्यो आवाज र सुगन्ध पछ्याउँदै बंगैचाभित्र प्रवेश गरें । बंगैचाको गेटमा रातो गुलाफका फुलहरुले सजिएका गमलाहरु राखिएको थियो । त्यो भन्दा थोरै भित्र मखमली, चमेली, गुनकेशरी, लालुपाते लगायतका सयौं थरी फुलहरु ढकमक्क देखिन्थे । भुँईंभरी झरेको पारिजात देख्दा यस्तो लाग्थ्यो सेतो घुम्टो ओडेर जमिन नै मुस्कुराइरहेको छ । 

त्योभन्दा अगाडी पानीको धारा छ । धारा भन्दा अलिकति तल सुन्दर पोखरी निर्माण गरिएको छ । यी सबै दृष्य देख्दा त लाग्थ्यो म सधैंभरी यहिं बसिरहन पाउँ । यो सुन्दर ठाउँबाट फर्किएर कतै जानु नपरोस् । म एकसुरले बंगैचाको चारैतिर आँखा डुलाउँछु । एक्कासी कसैले मेरो नाम बोलाएको सुनें । कुसुम..........। म रोक्किएँ । एताउति कसैलाई देखिन । फेरि उहि आवाज, कुसुम.......। कसले बोलाएको होला ? मलाई खुलदुली हुन्छ । म त्यो आवाज भएको व्यक्तिलाई खाज्छु । उनि मेरै अगाडी टुप्लुक्क देखा परिन् । हँसिलो अनुहार, मिलेको जिउडाल, गोरी गोरी, राम्री, मेरै उमेरकी केटी । 
तिमीलाई बंगैचा राम्रो लाग्यो ? उसले प्रश्न गरी । 
उम् । मैले भनें । 
आउ म तिमीलाई सबैतिर देखाउँछु । 
उसले आफ्नो सबै बंगैचा देखाउँछे । म हेर्दै जान्छु । त्यो बगैंचा यस्तो थियो जति हेरे पनि धित नमर्ने । 
बंगैचा वरिपरि बसेर चराहरुले मिठो गित गाउँदै थिए । बगैचाको पुर्वपट्टी सुगाका बथान देखिए । त्यहि बथानतिर देखाउँदै उसले भनी उ त्यो सुगालाई हेर त । मैले ती सुगाहरुलाई पिंजडामा किन थुनेर राखेकी छैन, थाहा छ ? 
छैन, किन हो ? मैले जिज्ञासा राखें । 
उ पनि हाम्रो पृथ्वीको एक हिस्सा हो । उसलाई स्वतन्त्रताका साथ बाँच्न दिनुपर्छ । आफ्ना पखेटाहरु फटफटाउन दिनुपर्छ । मैले उसलाई बाँधेर राखेको भए उ भागेर जाने थियो । उसलाई आफ्नो हिसाबले बाँच्ने स्वतन्त्रता दिएँ त्यसैले नै मलाई छाडेर गएनन् । 
मलाई अबेर भइसकेको थियोे । म उसंग बिदा भएर हिड्ने बिचार गरे । उसले बिदाइका हात हल्लाउँदै भनि, भोलि पनि आउ है ।
म झल्याँस्स ब्यँझिएँ । कस्तो राम्रो सपना । मलाई यो सपना फेरि देख्न मन लाग्यो । उसलाई फेरि पनि भेट्न मन लाग्यो । उसंग कुरा गर्दै बगैचा चहार्न मन लाग्यो । तर त्यसपछि मैले उनलाई कहिल्यै भेटिन ।