• आइतबार, ११ मङ्सिर, २०७९
  • ११:५९:०७

   इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता

  • Netizen Nepal
  • मंगलबार, ६ मङ्सिर, २०७९- १७:३५:००/ Tuesday 11-22-22

    नेटिजन सम्बाददाता 
  काठमाडौं, ६ मङ्सिर। पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।  राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा बताएअनुसार “मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ ।    

सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पले पनि १,०८३ जना घाइते भएका र ५८,३६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो। भूकम्पले २१,००० भन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेको बताइएको छ। भूकम्पपीडितको खोजी तथा उद्धार कार्य अझै जारी रहेको सुहर्यान्तोले बताएका छन् ।  यसअघि मङ्गलबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले अधिकारीहरूलाई उद्धारकार्यलाई तीव्रता दिन र प्राथमिकता दिन र पीडितको उद्धार गर्न आग्रह गरेका थिए।    

भूकम्पबाट क्षति भएका घरलाई सरकारले करिब एक करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको क्षतिपूर्ति दिने घोषणा गरेको छ । राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा सो गोषणा गरेका हुन् । विडोडोले निर्माण गर्नुपर्ने नयाँ घर भूकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिएका छन् ।  सोमबार जकार्ता समय १३:२१ मा गएको भूकम्पको केन्द्रबिन्दु पश्चिमी जाभा प्रान्तको सिआनजुर जिल्लाको १० किलोमिटर दक्षिणपश्चिममा र १० किलोमिटर गहिराइमा रहेको मौसम विज्ञान, मौसम विज्ञान र भूभौतिक निकायले जनाएको छ।