• शुक्रबार, २० असार, २०८२
  • १०:२३:१८

मौलिक सम्पदा फेरी प्रथा

काठमाडौं ।  विशेष गरेर कात्तिक र चैत महिनामा राति कनफट्टा अर्थात् कान चिरेका जोगीहरू घर घरमा गएर बराँठको सिङ वा शङ्ख बजाउँदै गीतिशैलीमा भट्याउँदै भोलिपल्ट बिहान भिक्षाटन गर्ने हाम्रो पुरानो परम्परा रहेको छ । विभिन्न शैलीमा मन्त्रोच्चारण गर्दै नाद गरी तीन पटक फुकेर आफ्ना गुरु गोरखनाथको स्मरण गर्दै फेरी लगाउने गरिन्छ ।

नेपालमा मात्र होइन नेपालीभाषी भारती, भुटानी र बर्माका केही भागमा पनि फेरी लगाउने चलन आज पनि रहेको छ । हरेक कनफट्टा जोगी परिवारमा विवाह भई अंशबन्डा हुँदा बराँठको सिङसमेत बन्डा गरी आफ्नो पेशागत निरन्तरता कायम रहोस् भन्ने जनविश्वास रहेको पाइन्छ । जीवनशैलीका रूपमा रहेको नेपाली संस्कृति फेरी भूमिको पूजन गरेपछि मात्र गरिन्छ ।   

 मुख्य रूपमा कात्तिक र चैतमा फेरी लगाइए पनि यी दुई महिनाबाहेक ठाउँ अनुसार साउन, भदौ र असोजमा पनि फेरी लगाइन्छ । जोगीको बाहुल्य रहेको क्षेत्रमा फेरी लाउने महिनामा घरमा प्रायः पुरुष हुँदैनन्, महिला र केटाकेटी मात्र हुन्छन् । अचेल रातिको समयमा यो संस्कार चल्ने हुनाले सुरक्षाको प्रश्न पनि उठ्ने गरेको छ । साथै जाडो महिनामा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न सक्ने प्रश्न पनि टड्कारो छ । 

 

फेरी लगाएको घरमा भूतप्रेत र पिशाचको बास नहोस् र त्यहाँ अन्नबालीको अनिकाल कहिल्यै नलागोस् भन्ने जनविश्वास रहेको छ । आफूलाई गुरु गोरखनाथका चेला अर्थात् नाथ सम्प्रदायका अनुयायी बताउने यी कनफट्टा जोगीलाई मध्यरातको समयमा अर्काको घरमा पसेर लामो समयसम्म शङ्ख बजाउँदै विभिन्न मन्त्र ठूलो स्वरले भट्याउँदा पनि कुकुरले टोक्दैन भन्ने विश्वास छ ।

अचम्मको कुरा के पनि छ भने कुकुरले टोकेको घटना सुनिएको पनि छैन । फेरी लगाउँदा जोगीहरू कसैसित बोल्नु हुँदैन भन्ने विश्वास रहेको छ । नियम अनुसार हरेक घरका चार सुर र मूल ढोकामा बराँठ फुकेर लगाउनुपर्ने फेरी अचेल शहरीकरणका कारण हरेक घर कम्पाउन्डले घेरिएकाले बजार क्षेत्रमा कम्पाउन्ड बाहिरैबाट लगाउने गरिएको पाइन्छ ।  

राति फेरी लगाएर बिहान भिक्षाटन गर्दा यस्ता जोगीले १० थान झोली बोकेका हुन्छन् । पुरानो जमानामा १२ थान झोलीको प्रयोग भए पनि दुई थान झोली जोगीले बाहुन र सन्न्यासीलाई दान दिएको लोकविश्वास रहेको छ । 

सबै जातिको घरमा फेरी लगाइए पनि धिमाल जातिका घरमा भने उनीहरू यो कार्य गर्दैनन् । धिमाल र उनीहरूको गोत्र एउटै रहेकाले फेरी नलाउने र दानदक्षिणा नलिने उनीहरूको मान्यता रहिआएको छ । चामल, धान, मकै, कोदो, बेसार, कालो कपडा, फलामको हतियार वा कुनै सामग्री, भटमास, आलु, घिउ, नुन, तेल तथा दक्षिणा आदि उनीहरूलाई दिने चलन रहेको छ । 

अचेल आधुनिकीकरणले गर्दा चामल र पैसा मात्र दिई बिदा गर्ने चलन आएको छ । पृथ्वीनारायण शाहले कुनै सन्देशवारक दूतका रूपमा र विपक्षीहरूको जासुसी गर्न नियुक्ति गरेका तर पछि उनीहरू फेरी लाउँदै भिक्षाटन गर्ने पेशातिर लागेको समाजशास्त्री तथा मानवशास्त्रीहरू बताउँछन् । उनले काठमाडौँ उपत्यकाका राज्यसित लडाइँ गर्ने योजना सफल बनाउन जासुसका रूपमा गोरखाबाट उपत्यकामा जोगीहरूलाई खटाएको इतिहासकारहरू बताउँछन् ।

यसरी नेपालको पश्चिमी भूभागबाट आएका जोगी बसाइँसराइका व्रmममा अचेल देश र विदेशका नेपाली बाहुल्य भएका क्षेत्रमा पुगेका हुन् । यही भिक्षाटन गर्ने प्रथाले मौलिक संस्कृतिको रूप लिएको छ ।      

नेपालको सुदूर पूर्वका जोगी फेरी लाउन भारतको कालिम्पोङ, दार्जिलिङ, डुवर्स, सिक्किम, आसाम तथा मणिपुरसम्म पुग्ने गरेको पाइन्छ भने त्यताबाट आर्थिक रूपमा पनि राम्रै आम्दानी गर्न सक्षम हुन्छन् । अचेल वैदेशिक रोजगारीका कारण नयाँ पुस्ता यो सांस्कृतिक विरासतबाट विमुख बन्दै गइरहेको देखिन्छ ।  

आधुनिकीकरणको प्रभाव र पितापुर्खाको पेशा आफूले अँगाल्न सङ्कोच मान्ने परिपाटीले पनि यो पेशा लोपोन्मुख अवस्थामा रहेको छ । धार्मिक आस्थासित जोडिएको यो संस्कृतिको प्रवर्धनमा सम्बद्ध पक्षको चासो आज अपेक्षित छ ।   

 पेशागत आत्मसम्मानको कमी, बाह्रै महिना यो कार्य नचल्नु, आधुनिक भनिने समाजले यो संस्कृतिलाई हेयका दृष्टिले हेर्नु र युवापुस्ताले यो काम गर्दा लाज मान्नु आदि कारणले यो पेशा सङ्कटमा पर्न लागेको सम्बद्ध कनफट्टा जोगी बताउँछन् । घरपरिवारमा सुखशान्तिको कामना गरी गरिने फेरी प्रथा जोगी समुदायको बाहुल्य रहेका क्षेत्रमा भूगोलका आधारमा लक्षित क्षेत्र निर्धारण गरिन्छ । 

 

फेरी लगाएको घरमा दुःखबिमार नहोस्, खेतीपाती सप्रियोस्, भूतप्रेतको बास नहोस् र सदा सहकाल कायम रहोस् भन्ने मान्यतामा आधारित हरेक कनफट्टा जोगी परिवारका पुरुष सदस्यले एक पटक मात्र भए पनि यो कार्य गर्नैपर्ने मान्यता छ । फेरी लाउन तथा सिदा र दक्षिणा ग्रहण गर्न मङ्गलबार र शनिबार उत्तम मानिन्छ । घरमा भइपरिआउने ग्रहदशाको निरूपण हुन्छ भन्ने जनविश्वास पनि फेरी प्रथासित जोडिएको छ । 

मुख्य रूपमा कात्तिक र चैतमा फेरी लगाइए पनि यी दुई महिनाबाहेक ठाउँ अनुसार साउन, भदौ र असोजमा पनि फेरी लगाइन्छ । जोगीको बाहुल्य रहेको क्षेत्रमा फेरी लाउने महिनामा घरमा प्रायः पुरुष हुँदैनन्, महिला र केटाकेटी मात्र हुन्छन् । अचेल रातिको समयमा यो संस्कार चल्ने हुनाले सुरक्षाको प्रश्न पनि उठ्ने गरेको छ । साथै जाडो महिनामा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न सक्ने प्रश्न पनि टड्कारो छ । 

पेशागत आत्मसम्मानको कमी, बाह्रै महिना यो कार्य नचल्नु, आधुनिक भनिने समाजले यो संस्कृतिलाई हेयका दृष्टिले हेर्नु र युवापुस्ताले यो काम गर्दा लाज मान्नु आदि कारणले यो पेशा सङ्कटमा पर्न लागेको सम्बद्ध कनफट्टा जोगी बताउँछन् । घरपरिवारमा सुखशान्तिको कामना गरी गरिने फेरी प्रथा जोगी समुदायको बाहुल्य रहेका क्षेत्रमा भूगोलका आधारमा लक्षित क्षेत्र निर्धारण गरिन्छ । 

आफूलाई गुरु गोरखनाथका चेला बताउने जोगीहरूले कायम राखेको हाम्रो मौलिक संस्कृतिलाई लोप हुनबाट जोगाउन उनीहरूको सामाजिक, आर्थिक र  सांस्कृतिक उन्नयनमा स्थानीय निकायदेखि माथिल्लो तहसम्म चेतना आउनु पर्दछ । युवामञ्चबाट।