• शुक्रबार, ७ बैशाख, २०८१
  • ०३:४९:३५

इन्डोनेसिया भूकम्प: २६८ जनाको मृत्यु , १५१ अझै बेपत्ता

  • Netizen Nepal
  • मंगलबार, ६ मङ्सिर, २०७९- १७:५४:००/ Tuesday 11-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ६ मङ्सिर । पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा  बताएअनुसार “मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ ।
सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पले पनि १,०८३ जना घाइते भएका र ५८,३६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो।  भूकम्पले २१,००० भन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेको बताइएको छ। भूकम्पपीडितको खोजी तथा उद्धार कार्य अझै जारी रहेको सुहर्यान्तोले बताएका छन्  ।

यसअघि मङ्गलबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले अधिकारीहरूलाई  उद्धारकार्यलाई  तीव्रता दिन  र प्राथमिकता दिन र पीडितको उद्धार गर्न आग्रह गरेका थिए।

भूकम्पबाट क्षति भएका घरलाई सरकारले करिब एक करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको क्षतिपूर्ति दिने घोषणा गरेको छ ।  राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा  सो गोषणा गरेका हुन्  । विडोडोले निर्माण गर्नुपर्ने नयाँ घर भूकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार जकार्ता समय १३:२१ मा गएको भूकम्पको केन्द्रबिन्दु पश्चिमी जाभा प्रान्तको सिआनजुर जिल्लाको १० किलोमिटर दक्षिणपश्चिममा र १० किलोमिटर गहिराइमा रहेको मौसम विज्ञान, मौसम विज्ञान र भूभौतिक निकायले जनाएको छ ।