किसानलाई बाली जोगाउनै सकस
-
नेटिजन संवाददाता
- बिहीबार, २६ असार, २०८२- ११:१५:००/ Thursday 07-10-25

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । थापाको साथमा एउटा लठ्ठी, थाल र केही काठका टुत्राहरु हुन्छन् । बेला बेला उहाँ थाल बजाउँदै चिच्याउनुहुन्छ । यसरी चिच्याउँदा बाँदर बारीमा नआउँने उहाँ बताउनुहुन्छ ।
“यो थाल र लौरो त मेरो साथ सधैँ हुन्छ, यहाँ बसेर थाल बजाएर हल्ला गर्यो भने बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एकैछिनमा ५०-६० वटा बाँदरको समूह आएर एउटा बारीको मकै एकैछिनमा सखाप पार्छ” थापाले भन्नुभयो – “यतिबेला मकैले कोसा हाल्न थालेको छ, बाँदर पस्यो भने त केही बाँकी राख्दैन, सबै च्यातेर नष्ट गरि दिन्छ ।”
जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ घर परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । वि.सं. २०८० सालमा २६३ घर परिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने वि.सं. २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घर परिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । वि.सं. २०८० वर्ष ९ परिवारका ४२ जना आए र वि.सं.२०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।
अब मकै नभित्राउँदासम्म बारीँमै बास हुने थापाले सुनाउनुभयो । एक दशक अगाडिसम्म गाउँमा बाँदर फाट्टफुट्ट आए पनि अहिलेको जस्तो हुलनै नआएको उहाँले स्मरण गर्नुभयो । बारीमा गोठालो नगरि बस्ने हो भने गाउँभरीको बारी एक दिनमै सखाप पार्ने थापाले बताउनुभयो । बाँदर धपाउनका लागि अनेक जुक्ति अपनाए पनि त्यसले काम नगरेपछि अहिले दैनिक बारीमै बस्ने गरेको सुनाउनुभयो ।
बिना जस्तै स्थानीय कुलबहादुर थापाको दिन पनि बाँदर धपाउँनैमा बित्ने गरेको छ । खाना खान पनि पालो गरि खानु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । परिवारमा धेरै सदस्य हुनेलाई सहज भए पनि थोरै हुनेलाई गाह्रो हुने गरेको थापाको भनाइ छ । घरमा दुई जना मात्रै रहेको भन्दै एक जनाले घरको काम गर्ने र एक जनाले बारीमा बसेर बाँदर धपाउने गरेको उहाँले बताउनुभयो । बाँदरका कारण हरेक वर्ष उत्पादन घट्ने गरेको थापाले गुनासो पोख्नुभयो ।
उहाँले भन्नुभयो – “धेरै एकनास त हुँदैन, कहिलेकाहीँ गाउँमा पनि जानु पर्छ, बजारमा पनि जानु पर्छ, बाँदर हेरेरै बस्न सकिन्न नि, त्यस दिन बारीमा भएका बाली र तुलफुल केही बाँकी रहन्न, हामी त घरमा बुढाबुढी मात्रै छौँ अहिले खाना खान पनि आलोपालो गर्नुपर्छ, बाँदर मार्न पनि नपाईने हामी जस्तो किसानलाई यसले धेरै दुःख दियो, पहिले १२/१५ मुरी मकै फल्थ्यो, अहिले बाँदरबाट जोगाउन सकियो भने त्यही ५-७ मुरी भित्राउने गरेको छु ।”
बिना र कुलबहादुर जस्तै अहिले जिल्लाका अधिकांश किसानको बारी छेउछाउमा ससाना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रामा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । बाँदरका कारण गाउँका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्यको उनीहरु सुनाउँछन् । जैमिनीमा बाँदर आतंक बढ्नुको मुख्य कारण बसाइँसराइ रहेको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
आफूहरुले बाँदर नियन्त्रणका लागि अघिल्लो वर्षदेखिनै बाँदर पार्क बनाउने गरि योजना बनाएको उहाँको भनाइ छ । अब बाँदरबाट प्रभावित किसानलाई पनि राहत दिने गरि लाग्ने उपप्रमुख शर्माले सुनाउनुभयो ।
जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ घर परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । वि.सं. २०८० सालमा २६३ घर परिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने वि.सं. २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घर परिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । वि.सं. २०८० वर्ष ९ परिवारका ४२ जना आए र वि.सं.२०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् । रासस ।