• शनिबार, १५ बैशाख, २०८१
  • ०४:४४:३२

तोकिएको मितिमा मतपरिणाम असम्भव: बाजुरामा मतदान नै अन्योल

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १७:४९:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर। मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निम्ति मतदान सकिए लगत्तै निर्वाचन आयोगले सोही दिन रातिदेखि मतगणना सुरु हुने र एक साताभित्र प्रत्यक्षतर्फको नतिजा प्रकाशित गर्ने बताएको थियो।

त्यस्तै प्रत्यक्ष साथै समानुपातिकतर्फको अन्तिम परिणाम मङ्सिर २२ गतेभित्र औपचारिक रूपमै सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको दाबी थियो। “हामीले आठ दिनभित्रमा सम्पूर्ण नतिजा प्रकाशित गरिसक्ने र अब बन्ने संसद्को एउटा खाका प्रस्तुत गर्ने उद्देश्य राखेका छौँ,” उनले भनेका थिए।

निर्वाचनमा कूल मतदाताको सङ्ख्या १,७९,८८,५७० रहेको थियो। जसमध्ये करिब ६० प्रतिशतले मात्र मतदान गरेको आयोगको प्रारम्भिक विवरण छ। यद्यपि, मतगणना सुरु भएको चार दिनमा आयोगले कुल १६५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभा प्रत्यक्षतर्फ जम्मा ४२ वटा र प्रदेशसभा प्रत्यक्षतर्फ १३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

यस अवस्थामा आयोगले तोकेको समयमा अन्तिम मतपरिणाम सार्वजनिक गर्न “असम्भव” देखिएको अधिकारीहरूले बताएका छन्।

किन ढिलासुस्ती?

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कतिपय मतदान स्थल वा मतगणना स्थलमा भएको विवादका कारण मतगणना सुस्त भएको हो। “करिब साढे दुई सातामा संसद्को खाका तयार पार्ने आकलन गरेका थियौँ। त्यो सामान्य परिस्थितिको लागि गरिएको परिकल्पना हो,” उनले प्रस्ट्याए।

“तर, कतिपय स्थानमा निर्वाचन नै भएको छैन अनि कति ठाउँमा पुनः मतदानको माग भइरहेको छ। यस्तो अवस्थामा तोकेकै समयमा परिणाम सार्वजनिक हुनु असम्भव छ।“ यद्यपि, सम्बन्धित जिल्लाहरूमा स्थिति सहज बनेको खण्डमा अझै पनि निर्धारित समयमा नतिजा प्रकाशित गर्ने पौडेलले बताए।

कहाँ के भएको हो?

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागि एक जना कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको बाजुराका सहायक जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए। फर्जी मतको विषयमा विभिन्न दलका कार्यकर्ताहरूबीच झडप भएको थियो। मतपेटिका खोस्ने क्रममा प्रहरीले गोली चलाएको अधिकारीले बताए।

विष्टका अनुसार झडपमा परी घाइते हुनेहरूमध्ये बाजुरा अनेरास्ववियुका नेता चेतन ऐडीको पनि उपचारका क्रममा मृत्यु भयो। बाजुराकै बुढी गङ्गा नगरपालिकाको मतदान राजनीतिक विवाद एवं कार्यकर्ताहरूबीचको झडपका कारण स्थगित भएको थियो। त्यहाँ कांग्रेसले दुई बुथ कब्जा गरेको एमालेको आरोप छ भने कांग्रेस नेताहरू एमालेले चार बुथ कब्जा गरेको आरोप लगाउँछन्।

त्यसैले बाजुरामा निर्वाचनले राजनीतिक झमेलाको रूप लिएको छ। विषम परिस्थितिका बाबजुद बाजुरामा पुनः मतदानका निम्ति मङ्सिर १० गतेको मिति तय गरिएको पौडेलले जानकारी दिए। उनले भने,”बाजुरामा तोकिएको समयमा मतदान भयो र छिटो छरितो गणना भयो भने त समयमै सबै काम हुन्छ। तर, अवस्था प्रतिकुल रहेमा के हुन्छ भन्न सकिँदैन।“

त्यस्तै स्याङ्जा र दोलखामा पनि मतदान प्रक्रियामा अड्चन खडा गरिएको उनले बताए। स्याङ्जा क्षेत्र नम्बर २ मा र दोलखामा मतपेटिका सङ्कलनपछि धाँधलीको आरोप लागेको हो। ती आरोपहरूबारे छानबिन भइरहेको बताइएको छ। “दुवै ठाउँमा पुनः मतदानको माग भइरहेको छ तर छानबिनको नतिजा नआएसम्म कस्तो निर्देशन हुन्छ भन्न सकिँदैन,” उनले जानकारी दिए।

अन्यत्र मतगणनाको गति कस्तो?

हाल भइरहेको मतगणनाको गतिलाई सन्तोषजनक मान्नु पर्ने अधिकारीहरूको ठहर छ। आयोगका प्रवक्ता पौडेलका अनुसार हालसम्म ६० देखि ६२ स्थलमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ। तर, प्राविधिक कारण बस् आयोगले ती तथ्याङ्क आफ्नो प्रणालीमा अद्यावधिक गर्न नसकेको उनको दाबी छ।

“सबै परिणाम सिस्टममा राख्न नसक्नुको एउटै कारण हो- आयोगको पछिल्लो निर्णय जसमा एउटा बक्सामा हुनुपर्ने मतपत्र अर्को बक्सामा परेको खण्डमा, मतपत्र जुन मतपेटिकामा हुनु पर्ने हो त्यसैमा गणना गर्नु पर्ने छ।“ उनले विस्तृतमा भने, ”निर्देशन अनुरूप पहिलो प्रतिनिधिसभातर्फ प्रत्यक्षको गणना सकिए पनि समानुपातिकतर्फको मतपेटिकामा प्रत्यक्षकै मत खसेको रहेछ भने त्यसलाई फेरि गन्नु पर्‍यो। त्यसैले अन्तिमसम्म पर्खिएका हौँ।“

सबै गणना सम्पन्न भएको वा पछि कुनै एक मतपेटिकामा हुनु पर्ने मत अर्कोमा भेटिएको खण्डमा त्यसलाई रद्द गर्ने राजनीतिक सहमति भएका ठाउँको परिणाम मात्र आयोगले सार्वजनिक गरेको उनको दाबी छ। उनले अब मङ्सिर १२ देखि १३ गतेसम्ममा सबैको नतिजा सार्वजनिक हुने जिकिर गरे। बिबिसी