• शनिबार, १२ श्रावण, २०८१
  • ०५:२१:५०

आत्महत्या गर्नुअघि व्यक्तिले कस्ता लक्षणहरु देखाउँछन् ? 

  • Netizen Nepal
  • बिहीबार, १५ मङ्सिर, २०७९- १४:१३:००/ Thursday 12-01-22

नेटिजन संवाददाता 
काठमाडौँ, १५ मङ्सिर । विश्व स्वास्थ्य संघठनका अनुसार विश्वमा हरेक वर्ष लगभग ७ लाख बढी मानिसले आत्महत्या गर्छन् । हरेक ४० सेकन्डमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्यांकमा उल्लेख छ । 

मानिसहरू के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्ने आँट गर्छन् भन्ने कुरा गहन रूपमा बुझ्नु आजको आवश्यकता हो । अपमानबोध, पीडा, दुःख, कुण्ठा, सकस र डिप्रेसनजस्ता मनोसामाजिक समस्याका कारण मानिसमा चरम नैराश्यता उत्पन्न हुन्छ र जीवन जिउनै मन नलाग्ने अवस्थामा पुग्ने गर्दछन् । उनीहरुलाई समाजले बुझ्न सक्दैन र हलुका रुपले लिन्छ । त्यसपछि पिडाले घटनाको रुप लिन्छ।  आत्महत्या गर्ने या प्रयास गर्ने व्यक्तिलाई अहिले पनि समाजले नामर्द या कायरको संज्ञा दिने या हेलाँ गर्ने गर्छन् । जुन बिलकुलै गलत हो ।  यदि पिडामा भएको व्यक्तिले आफ्नो कुराहरु सजिलै व्यक्त गर्ने वातावरणको सिर्जना गर्न सकियो या उसलाई भावनात्मक रुपमा साथ दिन सकियो भने पनि धेरै अकाल मृत्युहरु टर्न सक्छन् ।  

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिहरुले केहि महिना अघिदेखि नै तयारी गरेका हुन्छन् भनेर मनोविदहरु बताउँछन् । आफ्ना जिम्मेवारीहरु अरुलाई सुम्पने, आत्महत्याको कुरा गर्ने, अनावश्यक चिन्ता लिनेलगायत विविध किसिमका लक्षणहरु देखाउँछन् ।लक्षण बुझ्न सकियो भने आत्महत्याबाट बचाउन पनि सकिन्छ ।        

आत्महत्यातर्फ उन्मुख व्यक्तिले देखाउने लक्षणहरू यस्ता छन्: 

१) आत्महत्याका व्यवहारजन्य लक्षणहरू

  • विरह लाग्ने, निराशा उत्पन्न गर्ने गीतसंगीत सुन्ने र गाउने ।
  • निराशाजनक र नकारात्मक टीकाटिप्पणीहरू गर्ने ।
  • आफ्नो डायरीका साथै सामाजिक सञ्जालमा बारम्बार मृत्युका बारेमा उल्लेख गर्ने ।
  • बारम्बार आफूलाई मृत्युको मुखमा पुर्याउने क्रियाकलाप गर्ने ।
  • आत्महत्या गर्न प्रयोग हुने सामग्री जुटाउने, जस्तै: डोरी, विषादि औषधी आदि र तिनको प्रयोग गर्ने ।
  • अस्वाभाविक रूपमा आफ्नो स्वामित्वमा रहेका वस्तुहरू अरूलाई दिन खोज्ने र दिने ।
  • मानसिक रूपमा अपरिपक्व तथा कमजोर देखिने र जीवनमा आउने सानोतिनो उतारचढावबाट हायलकायल हुने ।
  • धेरै संवेदनशील तथा विना सोचविचार निर्णय गर्ने ।

२) आत्महत्याका भावनात्मक लक्षणहरू

  • अत्यधिक चिन्ता लाग्ने ।
  • सम्हाल्नै नसक्ने गरी मन दुःखी हुने ।
  • एक्लो पारिएको महसुस हुने ।
  • कुनै कुरामा चाख नलाग्ने ।
  • कसैले केही गम्भीर हानि वा अपमान गर्छ कि भनी अत्यधिक चिन्ता र डर मान्ने ।
  • आफ्नो दैनिक कामलाई राम्रो किसिमले सञ्चालन गर्न नसक्ने ।

३) आत्महत्याका सोचजन्य लक्षणहरू

  • भविष्यका बारेमा बढी चिन्तित हुने ।
  • आफ्नो जीवनको सम्भावना नदेख्ने र आफूलाई असहाय ठान्ने ।
  • चरम निराश हुने ।
  • छटपट गर्ने तथा अनावश्यक रूपमा झर्किने ।
  • व्यक्तित्व विकारजन्य जटिल मानसिक रोगले निम्त्याउने नकारात्मक तथा अवास्तविक सोच लिने ।
  • आफूले गर्न नसक्ने वा पूरा गर्न नसक्ने काममा पनि मरिमेटी लागिरहने ।
  • राज्यको उचित शान्ति सुरक्षाको व्यवस्थासम्बन्धी अनावश्यक पिर लिने । आत्महत्या रोकथाम सहयोगी पुस्तिकाबाट साभार ।