• शुक्रबार, ४ माघ, २०८१
  • ०५:४५:०७

किन हवाई यात्रामा मोबाइल ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ?

काठमाडाैं । हामीमध्ये धेरैजसोले हवाईजहाज चढ्दा आफ्नो मोबाइललाई ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ भन्ने सुनेकै छौँ। तर, यो गर्नुपर्ने कारण के हो त? के फोन ‘एयरप्लेन मोड’ मा नराख्दा विमानको सुरक्षामा असर पर्छ?
विमानको उडानको क्रममा फोनलगायतका विद्युतीय उपकरणहरूले उत्सर्जन गर्ने विद्युत चुम्बकीय तरङ्गले विमानको सञ्चार प्रणाली र नेभिगेसनमा अवरोध गर्न सक्छ। खासगरी, पाइलट र ग्राउन्ड टावरबीच हुने रेडियो सञ्चारमा यी तरङ्गले समस्या उत्पन्न गर्न सक्छन्।


पाइलटहरूले विमानको ककपिटमा विशेष प्रकारका उपकरणहरू प्रयोग गर्छन्, जसले तरङ्ग सृजना गर्दैनन्। ती उपकरणहरू परीक्षण गरिएका हुन्छन्। तर, यात्रुहरूको मोबाइल फोन वा अन्य विद्युतीय उपकरण भने परीक्षण गरिएका हुँदैनन्। त्यसैले, यी उपकरणबाट उत्पन्न तरङ्गले पाइलटको हेडफोनमा झिरझिर आवाज आउने वा ग्राउन्ड टावरसँगको सञ्चारलाई बाधा पुर्‍याउने सम्भावना रहन्छ।

फ्लाइट मोड अन गर्न किन जरुरी छ?
उडानको क्रममा मोबाइल टेलिफोन टावरहरूसँग जडान गर्न प्रयास गरिरहेको हुन्छ। यसले उच्च शक्ति भएका सिग्नलहरू पठाउँछ, जसले गर्दा सञ्चार नेटवर्कमा अवरोध आउन सक्छ। विशेषगरी, धेरैजसो यात्रुले आफ्नो फोन ‘एयरप्लेन मोड’ मा नराख्दा पाइलटले मौसम, विमानको स्थिति, र अन्य निर्देशनहरू समयमै सुन्न नसक्ने अवस्था उत्पन्न हुन सक्छ।

यसबाहेक, विमानको नेभिगेसन प्रणाली संवेदनशील हुन्छ, जसले गर्दा कुनै पनि अनावश्यक तरङ्गले समस्या ल्याउन सक्छ। फ्लाइट मोड अन गर्दा यो सम्भावना न्यून हुन्छ।

फोनलाई ‘एयरप्लेन मोड’ मा नराख्दा के हुन्छ?
मोबाइल फोनलाई फ्लाइट मोडमा नराख्दा विमान दुर्घटना हुन सक्दैन भन्ने कुरा सही हो। तर, यसले सञ्चार प्रणालीमा अवरोध ल्याउन सक्छ। यो अवरोधले विमानको सुरक्षा व्यवस्थालाई जोखिममा पार्न सक्छ। 
त्यसकारण, हरेक यात्रुले आफ्नो फोन वा विद्युतीय उपकरणलाई एयरप्लेन मोडमा राख्नुपर्छ। यो सानो प्रयासले विमानको सुरक्षामा ठूलो सहयोग पुर्‍याउँछ।

हवाईजहाज यात्रा निकै सुरक्षित मानिन्छ। यात्रुहरूले फ्लाइटको नियम पालना गर्दा यो झनै सुरक्षित बन्छ। प्लेन उड्नुअघि आफ्नो मोबाइल र अन्य विद्युतीय उपकरण ‘एयरप्लेन मोड’ मा छ कि छैन भनेर अवश्य जाँच गर्नुहोस्।

यसरी साना सावधानीहरू अपनाउँदा हवाई यात्रा अझै आरामदायी, सुरक्षित, र सबैका लागि तनावमुक्त हुनेछ।