काठमाडौँका एटिएमबाट २ रुपैंयामै पानी !
- Netizen Nepal
- बिहीबार, २९ मङ्सिर, २०७९- १३:२६:००/ Thursday 12-15-22
काठमाडौँ, २९ मङ्सिर । अब काठमाडौँका विभिन्न स्थानहरुमा जम्मा २ रुपैंयाँ तिरेर एक गिलास सफा पानी पिउन पाइने भएको छ । नेपालमै पहिलो पटक ल्याइएको यो सुविधा कसरी लिने ? काठमाडौंको टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पताल, ललितपुरमा नेपाल ईञ्जिनियर्स एसोसिएसन, बङ्गलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका र भक्तपुरको भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको यो सुविधाका बारेमा आज हामी तपाईंलाई जानकारी दिदैछौं ।
वाटर एटिएमबाट पानी कसरी प्राप्त गर्ने ?
- सबैभन्दा पहिले वाटर एटिएमको भित्तामा लेखिएको जानकारी हेर्नुहोस् । यहाँ सबै प्रक्रिया उल्लेख गरिएको छ ।
- पानी किन्नका लागि सिक्का आवश्यक भएकाले आफुसंग सिक्का छैन भने रु ५ वा १० को नोटलाई पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्नुहोस्,
- साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुहोस् । त्यसपछि यो कागजको कप पाउँनुहुनेछ ।
- कपलाई लगेर पानीको धाराको तल राख्नुहोस् । अनि रु १ को सिक्कालाई धारासंगैको सिक्का हाल्ने ठाउँमा धारा वा सिक्का हाल्ने ठाउँको अंक मिलाइ छिराउनुहोस् ।
- त्यसपछि कप भरी शुद्ध पिउने पानी कप वा बोतलमा झर्नेछ ।
- अन्त्यमा प्रयोग गरिसकेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्नुहोला ।