• शनिबार, ८ बैशाख, २०८१
  • १२:२०:४८

केवल इन्टरनेट प्रयोगकर्ता एक करोड 

  • Netizen Nepal
  • बुधबार, २७ पौष, २०७९- ०७:१९:००/ Wednesday 01-11-23

नेटिजन संवाददाता 
काठमाडौँ, २७ पुष । केबलमार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार असोजसम्म अप्टिकल फाइबर (केबल)मार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ९९ लाख ८७ हजार रहेको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले आक्रामक रूपमा बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग निरन्तर बढिरहेको हो । 

वाइफाई तथा कम्प्युटरमा समेत फिक्स्ड इन्टरनेटका रूपमा जडान गर्न सकिने र परिवारका सदस्य सबैले चलाउन मिल्ने भएकोले केबल इन्टरनेटमा आकर्षण बढिरहेको देखिन्छ । प्रतिस्पर्धा तीव्र हुँदा केबल इन्टरनेटको मूल्य पनि घटेको र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजना करिब सम्पन्न गरिसकेकोले यसमा पहुँच बढ्दै गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सातै प्रदेशमा अप्टिकल केबल बिछ्याउने परियोजना हालै मात्र सम्पन्न भएको जनाएको थियो । उक्त परियोजनाको कार्यान्वयनको जिम्मेवारी पाएका निजी सेवा प्रदायकले दुई वर्षपछि घरायसी प्रयोगकर्तालाई काठमाडौँकैै प्रचलित मूल्यमा इन्टरनेट उपलब्ध गराउन सक्ने व्यवस्था प्राधिकरणले गरेको थियो । जसले गर्दा परियोजना सम्पन्न भएपछि घरायसी प्रयोगकर्ता पनि केबल इन्टरनेटमा जोडिन पुगेका हुन् । 

प्राधिकरणको तथ्याङ्कअनुसार केबल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच प्रयोगकर्ता आठ लाख ८६ हजार छन् । निजी क्षेत्रका सेवा प्रदायकले उपलब्ध गराएको केबल इन्टरनेटका प्रयोगकर्ता भने ९१ लाख नाघेका छन् । एक वर्षकै अन्तरमा केबल इन्टरनेट प्रयोगकर्ता १९ लाखले बढेको देखिन्छ । २०७८ कात्तिकसम्म यस किसिमका इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ८० लाख ७८ हजार थियो । 

असोजसम्म देशभर इन्टरनेटको पहुँच भने जनसङ्ख्याको १३१ प्रतिशतमा पुगेको देखिन्छ । एउटै प्रयोगकर्ताले फरक–फरक सेवा प्रदायकको इन्टरनेट प्रयोग गर्दा पनि छुट्टै गणना हुने हुँदा जनसङ्ख्याभन्दा बढी इन्टरनेट पहुँच पुगेको देखिएको हो । यद्यपि नेपालमा सक्रिय इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या जनसङ्ख्याको ७० प्रतिशतसम्म पुगेको अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले देखाउँछ । 

कुल इन्टरनेट प्रयोगकर्तामध्ये केबलसमेत समावेश हुने फिक्स्ड इन्टरनेटको पहुँच जनसङ्ख्याको ३५ प्रतिशतसम्म पुगेको तथ्याङ्कले देखाउँछ । फिक्स्ड इन्टरनेटअन्तर्गत टेलिकमले उपलब्ध गराइरहेको एडीएसएल प्रयोगकर्ता पनि जोडिएका छन्, जसको सङ्ख्या तीन लाख ७० हजार छ । 

सबैभन्दा धेरैले मोबाइल इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । जसमध्ये थ्रीजी प्रयोगकर्ता करिब ९२ लाख छन् । त्यस्तै फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ८६ लाख २८ हजार पुगेको छ । दूरसञ्चार सेवा प्रदायकअनुसार गणना गर्दा नेपाल टेलिकमका थ्रीजी र फोरजी गरेर दुई करोड ५० हजार प्रयोगकर्ता छन् । त्यस्तै एनसेलका ८८ लाख ८५ हजार र स्मार्ट टेलिकमका १२ लाख ७५ हजार प्रयोगकर्ता छन् । सेवा विस्तार गर्न नसकेको स्मार्ट टेलिकमको प्रयोगकर्ता १२ लाख देखिए पनि सक्रिय प्रयोगकर्ताको सङ्ख्या भने एकदमै कम छ ।