• आइतबार, २९ असार, २०८२
  • १२:०४:२०

आमा मै हुँ तिम्रो कविता...

  • Netizen Nepal
  • सोमबार, २ माघ, २०७९- ११:००:००/ Monday 01-16-23

    “जब म 
कविता लेख्न बस्छु
मेरो छोराले 
कलम खोस्छ 
कापीमाथि आसन जमाउँछ 

मौन भाषामा भनेझैँ लाग्छ
“आमा मै हुँ तिम्रो कविता ...”

नेटिजन संवाददाता 
काठमाडौँ, २ माघ । माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गर्नुभएको थियो । पोखरेली साहित्यकारको साहित्यिक अभियान ‘पुछारसिटे अभियान’ पोखराद्वारा आयोजित एकल कविता वाचनको । कार्यक्रमको नाम नै थियो, ‘घ्यू, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती ।’

अभियानको यो एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उहाँलाई उभ्याएको अभियानका संयोजक युवा साहित्यकार सञ्जीव पौडेलले बताउनुभयो । कार्यक्रममा कवयत्री सरुले आफ्ना रचना वाचनसँगै बीचबीचमा आफ्नो कविता लेखन यात्रा, जीवन, तत्कालीन र वर्तमान समाजको अवस्थाबारे आफ्ना अनुभव र अनुभूति प्रस्तुत गर्नुभएको थियो ।

झण्डै डेढ दर्जन बढी कविता वाचन गर्नुभएको उहाँको ‘म’ शीर्षकको कविता यस्तो छ:

“तिमी बिहानै बिहानै 
नहल्लाउनु दुबोको पात ।
ए हावा !
सुस्तरी छुनु फूलका पत्रहरूमा
सुस्तरी चाल्नू पाइलाहरू
म ढल्पलाउन सक्छु 
पोखिन सक्छु ।

नानीहरू नरुनु पुतली च्यात्तिएको दुःखमा
आमाहरू नरुनु सन्तान परदेशिएको वियोगमा
म झर्न सक्छु आँखाको डिलबाट ।

चराहरू सुस्तरी चिरबिराउनु
आवाजले झस्किएर म पोखिन सक्छु
नठोकिनू पत्थरले पनि 
मनको घडामा
म छचल्किन सक्छु 
ठोकिनै परे फूल भएर ठोकिनु ।

सुस्तरी उघार्नु ढोका
धक्का नदिनु मलाई
म आज तरल भएकी छु
शीत, आँसु या यस्तै केही भएकी छु ।” 

कार्यक्रममा नै कवयत्री श्रेष्ठले कवि लक्ष्मी थापा र रोशन तिमिल्सिनालाई आफ्ना एक एक वटा कविता वाचन गर्न दिनुभएको थियो ।

कार्यक्रममा अभियानका सल्लाहकार लक्ष्मण थापा, विम्बकवि रमेश श्रेष्ठ दीपक समिप, प्राज्ञ हरिदेवी कोइरालालगायत पोखरेली साहित्यकारको उपस्थिति थियो । अभियानअन्तर्गत असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घ्यूउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइएको छ । अभियानले ओझेलमा परेका कवि तथा साहित्यकारलाई विभिन्न कार्यक्रमका साथ प्रस्तुत गर्दै आएको उहाँले बताउनुभयो ।