• आइतबार, १६ बैशाख, २०८१
  • ०३:१७:४६

चितवन -२ मा वैशाख १० गते उपनिर्वाचन

  • Netizen Nepal
  • आइतबार, २९ माघ, २०७९- १७:२४:००/ Sunday 02-12-23

नेटिजन संवाददाता 
काठमाडौँ, २९ माघ । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९/१०/१३ मा आदेश भई आएको र सङ्घीय संसद्को च.नं ३२ मिति २०७९/१०/१९ को पत्रबाट लामिछानेको सो पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ । साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आज स्वीकृत गरेको उपनिर्वाचनसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।