• आइतबार, १९ चैत, २०७९
  • ०५:५५:०२

दिगो विकासका लागि प्राविधिक शिक्षाको आवश्यकता

  • Netizen Nepal
  • सोमबार, २९ फाल्गुण, २०७९- १४:०५:००/ Monday 03-13-23

कुनै पनि देशको शैक्षिक गुणस्तर राम्रो छ भने त्यहाँको सामाजिक, आर्थिक, मानवीय विकास, रोजगारी, सचेतना, विभेद अन्त्य, सामाजिक तथा सांस्कृतिक सद्भावलगायतका धेरै विषयहरुमा मानिसको बुझाइ र सचेतना समेत माथि उठेको हुन्छ । त्यसैले शिक्षा यस्तो इन्जिन हो जसले विकासका सबै पक्षलाई सन्तुलित बनाउँछ ।

 

राजबहादुर गिरी 
दीगो विकास अहिले विश्वभरीको मुख्य एजेण्डा हो । विनास विनाको विकास नै दिगो विकास हो । यसको मुख्य उद्देश्य पृथ्वीका स्रोत साधन नाश नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दिगो विकासको अवधारणाले वातावरण संरक्षण र संवद्र्धनमा समेत जोड दिएको छ । विकासका नाममा गरिएका विभिन्न क्रियाकलापहरुले गर्दा पछिल्लो समय सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई असर पारिरहेको छ । यसैले गर्दा नै दीगो विकासलाई अघि सारिएको हो । सन् २०१५ मा संयुक्त राष्ट्र संघको साधारण सभाबाट विश्वका १९३ राष्ट्रहरुले २०३० सम्ममा पुरा गर्ने गरि दिगो विकासको लक्ष्य आत्मसाथ गरेको थियो । जसमा ‘कोहि पनि राष्ट्र विकास र समुन्नतिबाट पछाडी पर्ने छैनन्’ भन्ने प्रतिवद्धतासमेत गरिएको थियो ।  

साधारण सभाबाट दिगो विकास लक्ष्य प्राप्तिका लागि १७ ओटा लक्ष्यहरु, १६९ ओटा सहायक लक्ष्य र २३२ ओटा सूचकहरु अनुमोदन गरिएको थियो । नेपालमा पनि ती १७ वटा लक्ष्य पुरा गर्नका लागि ४७९ वटा सूचकहरु निर्धारित गरिएका छन्, जुन एक–आपसमा अन्तरसम्बन्धित छन् । यी लक्ष्यहरुमध्ये लक्ष्य नं ४ मा पर्ने गुणस्तरिय शिक्षालाई दिगो विकासको मेरुदण्डका रुपमा लिने गरिन्छ ।
शिक्षा विना विकास सम्भव हुँदैन । कुनै पनि देशको शैक्षिक गुणस्तर राम्रो छ भने त्यहाँको सामाजिक, आर्थिक, मानवीय विकास, रोजगारी, सचेतना, विभेद अन्त्य, सामाजिक तथा सांस्कृतिक सद्भावलगायतका धेरै विषयहरुमा मानिसको बुझाइ र सचेतना समेत माथि उठेको हुन्छ । त्यसैले शिक्षा यस्तो इन्जिन हो जसले विकासका सबै पक्षलाई सन्तुलित बनाउँछ ।

रोजगारीका लागि प्राविधिक शिक्षा

नेपालको बेरोजगारी दर ११.४ प्रतिशत छ । पुरुष र महिलाको कुरा गर्ने हो भने बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत छ । यसैगरी सहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ । यो समस्या समाधान र नेपालको चौतर्फी विकासका लागि प्राविधिक शिक्षा आजको आवश्यकता हो । अझै पनि नेपालका धेरै डिग्री हाँसिल गरेका युवाहरु बेरोजगार छन् । सर्टिफिकेट भए पनि शीपको अभावका कारण उनीहरु बेरोजगार बन्न बाध्य छन् । त्यसैले यस्ता युवाहरुलाई प्राविधिक शिक्षासंग जोड्न जरुरी छ । 

देशका हरेक युवाहरुलाई दक्ष बनाइ विश्व बजारमा उनीहरुको शिप विकाउन सक्ने बनाउन जरुरी छ । जसका लागि नेपाल सरकार, प्रदेश तथा स्थानिय सरकार, संघसंस्था र व्यक्तिको समेत विशेष भूमिका रहन्छ ।   

 

नेपालबाट दैनिक हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरु शिपयुक्त छैनन् । एक अध्ययनका अनुसार नेपालबाट श्रमका लागि वैदेशिक रोजगारीमा जाने झण्डै ९८ प्रतिशत युवाहरु शीपयुक्त छैनन् । जम्मा २ वा तीन प्रतिशत शीपयुक्त भएर विदेश जान्छन् र ती विनाशीप काम गर्ने युवाले भन्दा दोब्बर कमाउँछन् । त्यस्तै झण्डै २३ प्रतिशत युवाहरु अर्धदक्ष हुन्छन् । बाँकी ७५ प्रतिशत अदक्ष युवा नै वैदेशिक रोजगारीमा जान्छन् र तल्लो स्तरको काम गर्न बाध्य छन् । त्यसैले देशका हरेक युवाहरुलाई दक्ष बनाइ विश्व बजारमा उनीहरुको शिप विकाउन सक्ने बनाउन जरुरी छ । जसका लागि नेपाल सरकार, प्रदेश तथा स्थानिय सरकार, संघसंस्था र व्यक्तिको समेत विशेष भूमिका रहन्छ ।   

नेपालमा प्राविधिक शिक्षाको अवस्था

नेपाल सरकारले देशभरका ७५३ ओटै पालिकाहरुमा प्राविधिक शिक्षाको पहुँच पुर्याउनका लागि प्राविधिक विद्यालय स्थापना गरेको छ । सरकारको यो सुरुवातले गरिब, निमुखा र आर्थिक रुपमा विपन्न वर्गहरुले निःशुल्क रुपमा प्राविधिक शिक्षाको अवसर प्राप्त गर्न सक्ने भए । तर अध्ययन र आवश्यक तयारी विना नै खोलिएका विद्यालयहरुमा पढाउने शिक्षक र पढ्ने विद्यार्थीको समेत अभाव भयो ।

नेपालमा प्राविधिक शिक्षा अध्यापन गराउने क्षमता भएको शिक्षकको संख्या जम्माजम्मी ७०० मात्र रहेछन् । तीमध्ये झन्डै ५०० व्यक्तिहरु रिटायर्ड छन् भने केहि आफ्नो काममा व्यस्त छन् । त्यसैले प्राविधिक शिक्षालयहरु ‘हात्तिको देखाउने दाँत’ भनेजस्तै भएको छ ।

 

नेपालमा प्राविधिक शिक्षा अध्यापन गराउने क्षमता भएको शिक्षकको संख्या जम्माजम्मी ७०० मात्र रहेछन् । तीमध्ये झन्डै ५०० व्यक्तिहरु रिटायर्ड छन् भने केहि आफ्नो काममा व्यस्त छन् । त्यसैले प्राविधिक शिक्षालयहरु ‘हात्तिको देखाउने दाँत’ भनेजस्तै भएको छ । जनचेतना र बुझाइको अभावले गर्दा  संचालन भइरहेका विद्यालयहरुमा पनि विद्यार्थीको संख्या ज्यादै न्युन छ भने केहि विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यालय खोल्नुअघि परिपक्व तयारी नगर्नाले यो स्थिति आएको हो ।  

प्राविधिक शिक्षा र दिगो विकासको अन्तरसम्बन्ध

दिगो विकासका १७ ओटा लक्ष्यहरु शिक्षा विना अपुरा हुन्छन् । त्यसमा पनि प्राविधिक शिक्षालाई यी लक्ष्यहरु मध्येको महालक्ष्यका रुपमा लिन सकिन्छ । व्यावसायिक शिपयुक्त जनशक्ति उत्पादन गर्न, रोजगारमूलक जनशक्ति उत्पादन गरी गरिबी न्यूनिकरण गर्न, कामकाजी शिक्षाको व्यवस्थासँगै स्थानीय पेशा व्यावसायको आकर्षण बढाउनका लागि प्राविधिक शिक्षा महत्वपुर्ण हुन्छ ।  

विकशित देशहरुमा गाडी चलाउने, श्रमिक काम गर्ने, फोहोर सफा गर्ने, लुगा सिलाउने लगायतका श्रम गर्ने व्यक्तिहरुलाई सम्मानका दृष्टिले हेरिन्छ । उनीहरुको तलब र सेवा सुविधा पनि राम्रो हुन्छ । तर नेपालमा भने श्रमको उचित सम्मा नभएको देखिंदैन । जसले फोहोर सफा गरेर हाम्रो घर आँगनलाई दुर्गन्धबाट बचाउँछ, उसलाई अपमानजनक व्यवहार गरिन्छ । त्यसैले काममा विभेद देख्ने यस्ता खाले सोचको अन्त्य गर्नका लागि पनि प्राविधिक शिक्षाको खाँचो छ । यसले रोजगार र कमाइका लागि केके फाइदा पुर्याउँछ भन्ने कुरा पनि बुझाउन जरुरी छ ।   

जब मानिसहरु प्रविधिमा भिज्न थाल्छन्, त्यो देश विकासको लयतिर लागेको संकेतका रुपमा लिन सकिन्छ ।  

 

प्राविधिक शिक्षा रोजगारीको सिर्जना गर्नका लागि मात्र नभइ दैनिक कामकाजलाई सहज बनाउनका लागि समेत आवश्यक हुन्छ । एउटा किसानलाई ट्रयाक्टर चलाउने राम्रो शिप हुनुपर्छ । त्यसका साथै ट्रयाक्टरमा सानो समस्या आउने बित्तिकै बनाउन सक्ने शिप पनि हुनुपर्छ । घरमा प्रयोग गर्ने विभिन्न घरायसी प्राविधिक सामाग्रीहरु चलाउनेदेखि बचाउनेसम्मका ज्ञान घरघरमा हुनुपर्छ । जब मानिसहरु प्रविधिमा भिज्न थाल्छन्, त्यो देश विकासको लयतिर लागेको संकेतका रुपमा लिन सकिन्छ ।  

प्राविधिक शिक्षालाई व्यवस्थित कसरी गर्ने ?

प्राविधिक शिक्षा पनि व्यक्ति र स्थानअनुसार फरक फरक दिनुपर्ने हुन्छ । मानिसले रुचि र इच्छाअनुसारको काम गर्न पायो भने उत्पादनमा पनि वृद्धि हुन्छ । नेपालको अवस्थालाई हेर्ने हो भने त बाबुआमाले जे चाहान्छन्, छोराछोरीले त्यहि पढ्नुपर्छ । जसले गर्दा बाबुआमाको इच्छा त पुरा हुन्छ तर छोराछोरीले रुचिअनुसारको काम गर्न नपाउँदा त्यो काममा सफल हुन सक्दैनन् ।  

त्यस्तै स्याउ चिसो भूभागमा फल्ने फल हो । तराईमा स्याउ फलाउन खोज्नु मुर्खता हो । त्यसैले स्थानको परिक्षण र निरीक्षण गरेर त्यहाँ कुन उत्पादन राम्रो हुन्छ ? के काम गर्दा लाभ बढी उठाउन सकिन्छ ? पहिचान गर्नुपर्छ र सोहिअनुसार त्यहाँका व्यक्तिहरुको शिप विकास गर्नुपर्छ । इलाममा चियाकै बारेमा प्राविधिक शिक्षा, गुल्मीमा कफी भने कर्णालीका विभिन्न ठाउँमा मार्सी धान उत्पादन र यसको उत्पादन बढाउँने अभियान संचालन गर्न सकिन्छ । जसले गर्दा नेपाली रैथाने बाली संरक्षणमा पनि मदत पुग्छ भने उत्पादन, व्यापार र रोजगारमा समेत टेवा पुग्छ ।  

नेपालमा कच्चा पदार्थहरु प्रशस्तै छन् । तिनीहरुको उपयोग राम्रोसंग हुन सकेको छैन । यहाँबाट जडिबुटी, काठ, अन्नबालीलगायत कच्चा सामाग्रीहरु निर्यात गरिन्छ । अनि ती मुलुकहरुबाट तिनै कच्चा पदार्थबाट बनेका तयारी सामान आयात गरिन्छ । हजारौं मूल्यमा बिक्री गरिएको कच्चा सामाग्री आयात गर्दा लाखौँ मूल्य तिर्नुपर्ने हुन्छ । जडिबुटीबाट औषधि, धानबाट चामल, काठबाट फर्निचर बनाउने उद्योग नेपालमै बनाउन सकियो भने देशका लाखौँ युवाहरु बेरोजगार हुनुपर्दैन भने वैदेशिक रोजगारीमा जाने लाखौँ युवाहरुलाई देशमै रोजगारी दिन सकिन्छ ।

यसो भएमा हाल कायम भएको वार्षिक १२ खर्ब हाराहारीको व्यापार घाटालाई समेत न्यूनीकरण गर्न सकिन्छ । त्यसैले बेरोजगार बसेका युवा, खाली बसेका जमिन र खेर गइरहेका प्राकृतिक सम्पदाहरुको समयमै पहिचान गरि स्थान र त्यहाँको आवश्यकताअनुसार प्राविधिक शिक्षालाई छुट्याउन र पाठ्यक्रम तयार गर्न जरुरी हुन्छ । यो विषयलाई बोलिमा मात्र सिमित नगराई नीति, नियम र एउटा छुट्टै विभागको स्थापना गरेरै अगाडी बढ्नुपर्ने हुन्छ । 

सरकारलाई सुसुचित गराउनु हरेक नागरिक, स्थानिय निकाय र संघसंस्थाको दायित्व हो ।  आफ्नो क्षेत्रको आवश्यकता पहिचान गरि सरकारलाई सुसुचित गराउन पनि आवश्यक हुन्छ । पालिकाले आवश्यकता पहिचान गर्ने, प्रदेशले ती विषयहरु केन्द्र सरकारलाई जनाकारी गराउने र केन्द्र सरकारले मानव स्रोत साधनको पहिचान, प्राविधिक, पाठ्यक्रम तयार गर्ने र आर्थीक सहयोग गर्नुपर्छ ।

अबको बाटो 
दिगो विकासका लागि प्राविधिक शिक्षा महत्वपुर्ण हुँदाहुँदै पनि कार्यन्वयन हुन भने सकेको छैन । ४० वर्ष अगाडी र अहिलेको नेपालमा धेरै परिवर्तन भइसकेको छ । सामाजिक, आर्थिक, राजनैतिकदेखि विकास निर्माणका कामहरुमा पनि देश धेरै अगाडी गइसक्यो । शिक्षा प्रणाली आजभन्दा चार दशक अगाडीकै छ । त्यसलाई परिवर्तन र परिमार्जन गरि अहिलेको परिवर्तनअनुसारको शिक्षा दिनुपर्छ ।

तयारी विनाको काम भएकै कारण हरेक पालिकामा प्राविधिक शिक्षाको अवधारणा सफल हुन नसकेको हो ।

   

सरकारलाई पनि प्राविधिक शिक्षा र तालिमको आवश्यकता महसुस भइसक्यो तर कहाँ, कसलाई र के तालिम दिने भन्ने कुराको एकिन भने भएको छैन । तयारी विनाको काम भएकै कारण हरेक पालिकामा प्राविधिक शिक्षाको अवधारणा सफल हुन नसकेको हो । भएका उद्योगधन्दाहरु पनि कति बन्द भएका छन् भने कति बन्द हुने अवस्थामा पुगेका छन् । नयाँ कामको सिर्जना र अध्ययन हुन नसक्नु पनि दिगो विकास लक्ष्यको चुनौतीको विषय हो ।   

यी चुनौतिलाई अबको विकासको अवसरको रुपमा लिएर अघि बढ्न पर्छ । कुनै पनि व्यक्तिको रुचि र क्षमता कक्षा ५ मा पढ्ने बेलासम्ममा पहिचान गर्न सकिन्छ । त्यसैले बच्चालाई उसको रुचिका आधारमा इन्टेलिजेन्ट टेस्ट गरेर पठनपाठन गराउनुपर्छ । व्यक्तिको चाहानाअनुसारको काम गर्न दिनु भनेको देशको उत्पादन र क्षमता वृद्धि गराउनु हो भने चाहानाअनुसारको काम गर्न नपाउनु भनेको देशलाई नै घाटा हुनु हो । त्यस्तै बालबालिकाको शिक्षाको जिम्मा सरकारले लिनुपर्छ । उसको क्षमता पहिचान गर्नेदेखि शिक्षामा लागानी गर्नेसम्मको जिम्मेवारी सरकारले नलिएसम्म शिक्षाको स्तर माथि उठ्न सक्दैन ।  

देशमा कति मानविय स्रोत साधन आवश्यक छ, पहिचान गर्ने र सोहिअनुसार उत्पादन गर्नुपर्छ । देशमा डाक्टर, इन्जिनियर, प्राविधिक र कामदारहरुमा आवश्यकताअनुसार लगानी गर्नुपर्छ । यो मोडेलबाट अघि बढेमा हामीले दिगो विकास लक्ष्यका धेरै लक्ष्यहरु पुरा गर्ने आधार तयार गर्न सक्छौं । त्यसैले अबको प्राथमिकता यथार्थमा आधारित प्राविधिक शिक्षा नै हुनुपर्छ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको लय मिल्ने गरी नतिजामुखी नीति, कार्यक्रम, बजेट, कार्यान्वयन र मूल्यांकन तथा सुधारलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्छ । (लेखक राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुनुहुन्छ ।)