अब विदेश जानेलाई २ वर्षभन्दा बढी समयको श्रम स्वीकृति
- Netizen Nepal
- शुक्रबार, ३ चैत, २०७९- ११:५९:००/ Friday 03-17-23

नेटिजन संवाददाता
काठमाडौँ, ३ चैत। सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई दिइने दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउने भएपछि श्रमिकको एउटा मुख्य झन्झट पार लाग्ने विज्ञहरूले बताएका छन्।
यसै साताको सुरुवातमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अबदेखि रोजगारदातासँगको सम्झौता तथा भिसा अवधिको आधारमा सोही अनुरूप श्रम स्वीकृति दिइने निर्णय भएको अधिकारीहरूले बताएका छन्।
यसअघि रोजगारीका लागि विदेशिने हरेकलाई सरकारले अधिकतम दुई वर्षको श्रम स्वीकृति उपलब्ध गराउँदै आएको थियो। “श्रमिकहरूको भिसा र श्रम अवधि छँदै स्वीकृति नभएका कारण नेपाल फर्कनुपर्ने वा सरकारको स्वीकृतिविना विदेशमा बस्नु पर्ने अवस्था देखिएकाले” समय सीमा हटाइएको श्रम मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
मङ्गलवार भएको निर्णय आगामी सातादेखि कार्यान्वयन गर्ने तयारी भइरहेको वैदेशिक रोजगार कार्यालयका निर्देशक वसन्तबहादुर बोहराले बताए। “हालसम्म मन्त्रालयबाट कार्यालयलाई परिपत्र भइसकेको छैन। तर, महत्त्वपूर्ण निर्णय भएकाले केही दिनमै निर्देशन प्राप्त होला। त्यसलाई हामी तत्काल कार्यान्वयन गर्छौँ,” उनले भने।