• शुक्रबार, ७ बैशाख, २०८१
  • ०५:५२:१५

चुरेबस्तीमा खानेपानी अभाव

  • Netizen Nepal
  • शुक्रबार, ३ चैत, २०७९- १५:१७:००/ Friday 03-17-23

नेटिजन संवाददाता 
काठमाडौँ, ३ चैत। कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् ।

यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताउनुभयो । “यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार÷पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल परेको छ ।” उहाँले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताउनुभयो ।

खोलाबाट आएको दुई÷तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उहाँले बताउनुभयो । “जेठ÷असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ”, उहाँले भन्नुभयो, “पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ ।” पानी भर्नका लागि यहाँका साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताउनुभयो । “पानीको अभावले खेतबारी सबै बाँझो छ गाईवस्तु पाल्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता ।” उहाँले यहाँ मुक्तकमैया पुनस्र्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताउनुभयो ।

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताउनुभयो । “हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ ।” उहाँले भन्नुभयो, “नजिकै खानेपानीको ट्याङ्की बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ ।” बेदकोट नगरपालिका–२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नयाँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताउनुभयो । “यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ”, अध्यक्ष सिंहले भन्नुभयो, “बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो ।” उहाँले सङ्घीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ रु १० करोड लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको बताउनुभयो । “अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्”, उहाँले भन्नुभयो, “यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ ।”