• शनिबार, १५ मङ्सिर, २०८१
  • ०१:१४:००

नारदमुनी थुलुङ : सरकारी सेनालाई तमासा देखाएर भोजपुर कब्जा गर्ने योद्धा

जागिर छाडेर क्रान्तिको झोला बोक्न स्वदेश फर्किएका योद्धा 

नेपालको प्रजातान्त्रिक इतिहासमा बारम्बर चर्चामा आउँने नाम हो नारदमुनि थुलुङ । उहाँ एउटा यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले राजनीतिक क्रान्तिसंगै शैक्षिक र सामाजिक क्षेत्रमा समेत ठूलो योगादन गर्नुभएको छ । उहाँको राजनीतिक योगादनको चर्चा धेरै हुन्छ तर शैक्षिक योगदानको भने कमै मात्र । यो सामग्रीमा नारदमुनि थुलुङको राजनीतिक र शैक्षिक दुबै प्रसंगको चर्चा गरिएको छ । 


काठमाडौँ । वि.स.२००७ सालको राणाशासनविरोधी सशस्त्र संघर्ष पुर्वाञ्चल माझकिरातबाट सुरु भएर बृहत रुपमा जसरी सफल रह्यो, त्यो सफलताको पछाडी भूतपूर्व सैनिकहरुको नेतृत्व र उपस्थिति नै प्रमुख कारक थियो भन्ने कुराको कुनै सन्देह छैन। वास्तवमा यो समिक्षा नै राजनैतिक तथा सामरिक हिसाबले सार्थक समिक्षा पनि हो । हुन पनि भूतपूर्व सैनिकहरुको नेतृत्वमा आरम्भ गरिएको तत्कालिन संघर्षको पहिलो फड्को नै भोजपुर मालअड्डाको कब्जा थियो ।  

वि.स.२००७ साल मङ्सिर २४ मा भोजपुर जिल्ला मुक्ति सेनाले कब्जा गर्दा उहाँ पनि मुक्ति सेनाको नेतृत्वकारी व्यक्तिहरुमध्ये एक हुनुहुन्थ्यो । वि.स.२००७ सालको सशस्त्र आन्दोलनपछि मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा बनेको मन्त्रीमण्डलमा उहाँ पहिलोपटक स्वायत्त मन्त्री हुनुभयो र दोस्रोपटक मालपोत, वन र रक्षामन्त्री हुनुभयो।

 

भनिन्छ, वि.स.२००७ साल मङ्सिर २४ गते भएको त्यो सशस्त्र कारबाही भूतपूर्व सैनिकहरुको साहसको उच्च अभिव्यक्ति थियो। पूर्वान्चल लिम्बूवानदेखि धुलिखेलसम्म एकछत्र फैलिएको उतिखेरको सशस्त्र अभियानको बृहत्तर स्वरुप पछाडी त्यतिखेरका भूतपूर्व सैनिकहरुको सामरिक कला तथा आफ्नो मुलुकको गुज्रँदो अवस्थाप्रति अन्तर्राष्ट्रिय दृष्टिकोण र आधुनिक शिक्षाको ठुलो हात थियो। त्यहि बृहत्तर अभियानका एक सशक्त नेतृत्वदायी नायक हुनुहुन्थ्यो नारदमुनि थुलुङ।

उतिखेरका अधिकांश क्रान्तिकारी नेता तथा क्रान्तिकारी दस्ताका सदस्यहरुझैँ उहाँ पनि एक भूतपूर्व सैनिक हुनुहुन्थ्यो। उहाँ तत्कालिन इष्टइन्डिया कम्पनीको सैनिक सेवा छाडेर मुलुकको गुज्रँदो अवस्थासँग जुध्नमा उहाँले सैनिक जीवनमा सिकेका शिक्षा र कलालाई देशभित्र बिजाङ्कुरित गर्ने अठोट गर्नुभयो। उहाँले तत्कालिन माझकिरातमा शिक्षाको ज्योति फैलाउने र क्रान्तिको बिगुल फुक्ने काम एकैचोटी गर्नुभएको थियो।

नारदमुनि थुलुङको जन्म वि सं १९६५ चैत २७ गते भोजपुर जिल्ला छिनामखु गाविसमा भएको थियो। उहाँको प्रसिद्धि केवल पूर्वान्चलका खम्बु जातिमा मात्र सिमित नरही नेपालभरी नै फैलिएको छ। उक्त प्रसिद्धिको शिलशिला मुख्यतया २००७ सालको राणाशासनविरोधी सशस्त्र आन्दोलनबाट सुरु भएको देखिन्छ ।

वि.स.२००७ साल मङ्सिर २४ मा भोजपुर जिल्ला मुक्ति सेनाले कब्जा गर्दा उहाँ पनि मुक्ति सेनाको नेतृत्वकारी व्यक्तिहरुमध्ये एक हुनुहुन्थ्यो । वि.स.२००७ सालको सशस्त्र आन्दोलनपछि मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा बनेको मन्त्रीमण्डलमा उहाँ पहिलोपटक स्वायत्त मन्त्री हुनुभयो र दोस्रोपटक मालपोत, वन र रक्षामन्त्री हुनुभयो। उहाँ नै नेपालको इतिहासमा राई जातिमा पहिलो मन्त्री हुनुहुन्छ। उहाँको व्यक्तित्व राजनैतिक बाहेक शिक्षाप्रेमी, समाजसेवीको रुपमा पनि रहेको पाइन्छ। वि सं २०४७ माघ २२ गते ८२ वर्षको उमेरमा उहाँको दु:खद निधन भएको थियो ।   

को हुन् नारदमुनि थुलुङ ? 
ब्रिटिस सेनाबाट अवकाशपछि आफ्नो जन्मथलो छिनामखु नौले गाउँ छाडेर नारदमुनि २००३ मा भोजपुर बजार झर्नुभयो ।  भोजपुर बजार झर्नुको उद्देश्यचाहिँ जनताका छोराछोरीलाई शिक्षा दिन स्कुल खोल्नु थियो ।  प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङले भोजपुरमा शैक्षिक चेतना जगाउँन शिक्षाको ज्योति बाल्नका लागि  जिल्लामै पहिलोपल्ट प्राथमिक विद्यालय खोल्नुभएको थियो । 

नारदमुनि ब्रिटिस सेनामै रहँदा नेपाल सरकारलाई गोर्खा भर्ती दिएबापत बेलायतले देश विकासका लागि पौने चार करोड र लडाइँबाट फर्किआएका भूतपूर्व सैनिकका छोराछोरी पढाउन ५४ लाख भारु दिँने गरेको तथा  नेपाललाई दिएको सहायता त राणा शासकको ढुकुटीमा जम्मा हुने गरेको ,  फौजीका सन्तानका लागि उपलब्ध सहयोगको पनि हिसाबकिताब नराख्ने गरेको प्रधानको स्मरण छ । 

  

वि.स.२००४ साल बैशाख ४ गते  शिक्षाबाटै क्रान्तिलाई सफल बनाउन सकिने सोचसहित  नारदमुनिले खोलेको उक्त स्कुलमा उनकी छोरी ललिता थुलुङ, विश्व प्रधान, रुद्र प्रधान,  गजेन्द्रमणि प्रधान लगायतले पढेको कुरा गजेन्द्रमणि प्रधानले आफ्नो स्मरणमा उल्लेख गर्नुभएको छ । 

गजेन्द्रमणि प्रधानको स्मरणमा उल्लेख भएका अनुसार त्यतिबेला  भोजपुर दिङ्लामा मात्र संस्कृत पाठशाला थियो तर नारदमुनीले स्कूल खोलेपछि अंग्रेजी पनि पढाइ हुन थाल्यो । संस्कृत मात्र पढाइ भइरहेको बेला नयाँ स्कुलमा अंग्रेजी पढाइ हुन थालेपछि गाई खाने विद्या ल्यायो, दुनियाँका छोराछोरी बिगार्‍यो, सबै जातका छोराछोरीलाई पनि एकैसाथ राखी पढाउन थाल्यो भन्दै नारदमुनिको विरोध गर्दै काठमाडौँसम्म राणाहरुलाई उजुरीसमेत पठाए । तर यसका बाबुज पनि उहाँले आफ्नो कार्यलाई जारी राख्नुभयो । 

नारदमुनि ब्रिटिस सेनामै रहँदा नेपाल सरकारलाई गोर्खा भर्ती दिएबापत बेलायतले देश विकासका लागि पौने चार करोड र लडाइँबाट फर्किआएका भूतपूर्व सैनिकका छोराछोरी पढाउन ५४ लाख भारु दिँने गरेको तथा  नेपाललाई दिएको सहायता त राणा शासकको ढुकुटीमा जम्मा हुने गरेको ,  फौजीका सन्तानका लागि उपलब्ध सहयोगको पनि हिसाबकिताब नराख्ने गरेको प्रधानको स्मरण छ ।