• मंगलबार, ३० बैशाख, २०८२
  • १०:३०:१५

त्यो अभागी फूल !

  • Netizen Nepal
  • बिहीबार, १६ चैत, २०७९- १६:०४:००/ Thursday 03-30-23

उत्तम विचार 
समय र सन्दर्भ एकै रहनन्नन् त्यस्तै एउटा अभागी फूलको प्रसङ्ग कोट्याउन चाहन्छु । गत हप्ता घरको बाथरुममा ब्रेन ह्यामरेज भएर अन्तत: मृत्‍युवरण गर्न पुगेका युवा पत्रकार, रेडियोकर्मी एवम् जुझारु साहित्यिक व्यक्तित्व दीपेन्द्र दोङ तमाङको असामयिक महाप्रस्थानको प्रसङ्ग हो यो जुन आफैँमा अकल्पनीय, अविश्वसनीय र घोर खेदपूर्ण पनि छ । मृत्‍यु कसैको बसमा हुँदैन त्यो थाहा छ र पनि कतिपय यस्ता अप्रिय र असामयिक घटनालाई सहजै सहन गर्न गाह्रो हुँदो रहेछ । झन्डै दुई दशक पहिले वहाँ सिटिजन रेडियोमा समाचार प्रमुख भएर काम गरिरहँदा समानान्तर रुपमा साहित्यिक कार्यक्रमहरू पनि संचालन गर्नुहुन्थ्यो। त्यही साहित्यको मेलोमा जोडिन पुगेका थियौँ हामी ।

के श्रोता के प्रस्तोता सबैमा समदूरी र समभाव कायम गर्ने दीपेन्द्रजीको व्यवहारले सिटिजन रेडियोको स्टुडियोमा बेला बेलामा पुगेर सुन्ने र सुनाउने अवसर जुटी रहन्थ्यो । स्टुडियो बाहिर फागुमा होली मनाएको प्रसङ्ग होस् वा वहाँँकै सम्योजकत्वमा साथी चाहना लामा, प्रिन्स प्रमोद ढकाल, देवी दिदी, म लगायतका टीम मिलेर 'थोपा साहित्य अभियान, मार्फत गरिएका विभिन्न गतिविधि अन्तर्गत हामीले सिटिजन एफएममा एउटा साहित्यिक पुस्तकालयको सपनाको सोच लिएर थुप्रै किताबहरू किनेका पनि थियौँ । तर पछि दीपेन्द्रजीले सिटिजन रेडियो छोडेर अलग मिडियामा जानु भएपछि भने हाम्रो भेट पातलो भएको थियो । करिब सात आठ महिनाअघि साथी सिर्जना शर्माजीले रेडियो जनतामा कार्यक्रमको लागि डाक्नुभयो म जब जनता मिडियाको तला चढ्दै टपमा पुगेँ एकाएक उनै दीपेन्द्रजीलाई त्यहाँ भेट्न् पुगेँ बुझ्दै जाँदा उहाँ उक्त रेडियो र टेलिभिजनसँग सम्बन्धित भएर प्रमुख जिम्मेवारी पदमा कार्यरत हुनुहुँदो रहेछ । 

अर्का सहकर्मी पत्रकार टङ्क पन्त, सिर्जना शर्मा र दीपेन्द्रजीसँगै बसेर चिया पिउँदै गफ्फिएको हिजोजस्तो लाग्छ । अस्ती साथी चाहना लामा माधवीले मलाई ट्याग गरेर राख्नु भएको दु:खद समाचार नपढेरै धरै पाइएन । पढेँ समाचार उनै दीपेन्द्रजीको दु:खद निधनको रहेछ । विश्वास लागेन । उनै साथी सिर्जनाजीलाई इन्बक्स गरेर सोधेँ कस्तो अप्रिय घटना सुन्नुपर्‍यो , विरामी हुनुहुन्थ्यो र दीपेन्द्रजी भनेर सोध्दा उहाँले सर एक्कासी भाको रे हामी पनि विक्षिप्त छौँ भन्दा मन झनै गह्रौँ भएर आयो । भोलिपल्ट ९ बजे दीपेन्द्रजीको पार्ठिव शरीर संस्कृतिक संस्थान नाचघरमा राखिने कुरा थियो म खल्तिमा एक गुच्चा फूल बोकेर अत्यन्त भारी मन बनाउँदै त्यहाँ पुग्दा आधी घण्टा अघि नै सब यात्रा शायद स्वयम्भु लगिएको खबर गेटमा ड्युटिमा रहेका गार्डले निकै भावुक हुँदै सुनाउँदै गर्दा मलाई लाग्यो मैले त भेट्न पाइन पाइन, मसँग भएको फूल कति अभागी रहेछ जो मनले समर्पण गरिसकेर पनि दीपेन्द्रजीको पार्थिव शरीरमा समाहित हुन पाएन ! म गह्रौ मन लिएर कार्यालयतर्फ फर्किएँ ।