• आइतबार, २७ माघ, २०८१
  • ०१:४२:१०

‘गोर्खा सेनाको गौरवशाली इतिहास’

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्धको प्रत्यक्षदर्शी बन्नुभएको छ ।

सो अवसरमा पोखरामा उहाँहरुले भूपू गोर्खा र उहाँहरूका घरपरिवारलाई प्रदान गरिएको हेरचाहदेखि प्रमाणीकरण परेडमा छनोट प्रक्रियाको अन्तिम चरणमा पुगेका नेपाली युवाका लागि रहेको महत्वपूर्ण क्षणको अवलोकन गर्नुभयो । जहाँबाट बेलायती सेनामा भर्ना हुने २७४ नेपालीको सैन्य पेशागत जीवन सुरु भएको छ ।   

 सफल हुनपुगेका २७४ जना प्रशिक्षार्थी राइफलम्यान एक वर्ष लामो कठोर, खुला र पारदर्शी छनोट प्रक्रिया पछि बेलायती सेनामा सामेल हुँदैछन् । उहाँहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नुहुनेछ, जहाँ उहाँहरू नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनुहुनेछ ।

 

औपचारिक कार्यक्रमपछि, अधिराजकुमार र अधिराजकुमारीले नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यसँग भेटघाट पनि गर्नुभएको यहाँस्थित बेलायती दुतावासले जनाएको छ ।

यस वर्ष, अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि ती २७४ जना प्रशिक्षार्थी राइफलम्यान बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाका परिवारका सदस्य उपस्थित रहेका थिए ।

समारोहमा अधिराजकुमारले भन्नुभयो, “अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजारभन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खामध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईंहरु आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।”

सफल हुनपुगेका २७४ जना प्रशिक्षार्थी राइफलम्यान एक वर्ष लामो कठोर, खुला र पारदर्शी छनोट प्रक्रिया पछि बेलायती सेनामा सामेल हुँदैछन् । उहाँहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नुहुनेछ, जहाँ उहाँहरू नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनुहुनेछ ।

समारोहमा उपस्थित अन्य व्यक्तित्व नेपालका लागि बेलायती राजदूत रोब फेन; गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ; गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी; ब्रिटिश गोर्खा नेपाल (बिजीएन)का कमाण्डर कर्नल ड्यान रेक्स एमभिओ; र बिजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकको प्रमाणीकरणको अवलोकन गर्नुभएको थियो । परेडमा गोर्खा र ब्रिटिश कर्मचारीलाई ३८ राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो । 

 आवासीय गृहको भ्रमणका क्रममा अधिराजकुमार र राजकुमारीले १०४ वर्षीया आशाकुमारी तामाङलाई भेट्नुभयो, उहाँको श्रीमान्‌ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई सेवा गर्नुभएको थियो । उहाँ सन् २०११ देखि त्यस आवासीय गृहमा बस्दै आउनुभएको छ ।

 

गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) “एरिया वेल्फेयर केन्द्र“ (एडब्लुसी) कास्कीमा अधिराजकुमार र राजकुमारीले संयुक्त अधिराज्यले विभिन्न परोपकारी संस्थामार्फत बेलायती सेनामा काम गरेकाहरुलाई नेपालमा कसरी साथ सहयोग उपलब्ध गराइएको छ भन्ने विषयसमेतको प्रत्यक्ष अवलोकन गर्नुभयो ।

उहाँहरूले जिडब्लुटीको आवासीय गृहले गरिरहेको काम हेर्न पनि केही समय बिताउनुभयो, जहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक वा उहाँहरूका विधवालाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ । यसका साथै, उहाँहरूले नेपालमा कदुरी कृषि सहायता सङ्घ (केएएए)को कामको बारेमा जानकारी प्राप्त गर्नुभएको थियो ।

आवासीय गृहको भ्रमणका क्रममा अधिराजकुमार र राजकुमारीले १०४ वर्षीया आशाकुमारी तामाङलाई भेट्नुभयो, उहाँको श्रीमान्‌ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई सेवा गर्नुभएको थियो । उहाँ सन् २०११ देखि त्यस आवासीय गृहमा बस्दै आउनुभएको छ ।रासस।