• शनिबार, १२ श्रावण, २०८१
  • १०:१६:३५

एसईईलाई यति धेरै महत्व किन दिईएको होला ? 

  • Netizen Nepal
  • शुक्रबार, १७ चैत, २०७९- १४:०४:००/ Friday 03-31-23

नेटिजन संवाददाता
काठमाडौँ, १७ चैत। शुक्रवारदेखि यस वर्षको एसईई परीक्षा सुरु भएको छ। परीक्षामा ४ लाख ८५ हजार छात्रछात्रा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस पटकको एसईईमा २,०३७ केन्द्रहरू तोकिएका छन्। यस पटक जापानको राजधानी टोकियोबाट समेत १४ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन्।

कुनै बेला ‘फलामे ढोका’ भनिने माध्यमिक तहको परीक्षाप्रति अहिले पनि मानिसहरूको चासो, चिन्ता र भय सोचे जति हराउन नसकेको धेरैको अनुभव छ। एसईई परीक्षा विद्यालयमा लिइने अन्य परीक्षाझैँ सामान्य हो, आत्तिनु पर्दैन, गर्न सकिहालिन्छ भन्दै गर्दा पनि यो परीक्षाबारे हुने चर्चा परिचर्चाले यसको महत्त्व र विशेषता विशेष छ भन्ने सन्देश दिइरहेको कतिपयको टिप्पणी छ।

एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई दिइने महत्त्व, उनीहरूलाई गरिने व्यवहार, उनीहरूले पाउने शुभेच्छालगायत परीक्षा तयारीमा विद्यालय तथा शिक्षककले गर्ने मेहनत, परीक्षा अवधिमा अभिभावकले दिने साथ, परीक्षा केन्द्रहरूमा उनीहरूले बटुल्ने ११ कक्षाको भर्नाको पर्चीलगायत सञ्चारमाध्यममा हुने चर्चा परिचर्चाले एसईई सामान्य होइन विशेष हो भन्ने मान्यता स्थापित गर्नमा सहयोगी बन्दै आएको धारणा धेरैले व्यक्त गरेका छन्।

बोर्डले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ।