• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:५३:५८

भब्य र सभ्य यात्राका 'लभ गुरु'

  • Netizen Nepal
  • शुक्रबार, १७ चैत, २०७९- १८:४०:००/ Friday 03-31-23

पार्वती अधिकारी 

काठमाडौँ, १७ चैत।  'नमस्कार काकी ।'

'नमस्कार'

'तपाईंलाई मेरो गाडीमा स्वागत छ । लिनुस्, चकलेट खानुस् ।  मुख मिठो पार्दै यात्रा गर्नुहोस्।'

यस्तो आतिथ्यता सामान्यतया सार्वजनिक यातायातमा कमै पाइन्छ । अझ भनौं, पाइंदै पाइंदैन ।

तर तपाईं  काठमाडौँको कलंकीदेखि बालकोट बिरुवासम्म चल्ने बा.५ ख.९१०६ नम्बरको शुभकामना यातायात चढ्नुभयो भने अवस्य पनि यसको अनुभव गर्न पाउनुहुनेछ । 

'ढोका आफैं लाग्छ, कृपया नछुनुहोला । पानी पिउन सक्नुहुन्छ ।  रु. १०० बोनस ।  कक्षा ८ सम्मका विद्यार्थी, अशक्त तथा नेत्रविहिन व्यक्तिका लागि १०० प्रतिशत छुट ।  पैसा कमाउ धनि बन तर अरुको श्रम शोषण नगर । अरुको आँशुले नोट नछाप', यो सोहि गाडीको ढोकामा लेखिएको सुचना तथा जानकारी हो ।  

बस अगाडीदेखि पछाडीसम्म सफा चिटिक्क छ । मुख मिठो गरिसकेपछि चकलेटको कागज भुँईमा नफाल्नुहोला । तपाईंको सिटभन्दा ठ्याक्कै माथिपट्टि डालोमा लेखिएको अक्षर पढ्नुहोस् । फोहोर फ्याँक्ने डालो त्यहि हो । 

यी सबै तारतम्य मिलाउने सोहि गाडीका चालक प्रेम लामा हुन् । उहाँले गाडीमा चढ्ने हरेक यात्रुलाई विशिष्ट अतिथिलाई जस्तै स्वागत गर्नुहुन्छ । उहाँलाई थाहा छ, आफुले सम्मान पाउनु छ भने झुक्न जान्नुपर्छ । त्यसैले त सो गाडीमा यात्रुहरुको भिडमभिड हुन्छ । कतिपय यात्रु त जानपहिचानकै छन् । जो आज पैसा भएन भने पनि यात्रा गर्छन र भोलि पर्सि भएको बेला दिन्छन । अझ कतिपय यात्रु त पर्खिएर उहाँकै बसमा यात्रा गर्ने गरेका छन् । 

लामालाई प्रेम भनेर थोरैले मात्र चिन्छन् । कलंकीदेखि बालकोट बिरुवासम्मै उहाँ 'लभ गुरु'का नामले चिर परिचित हुनुहुन्छ । उहाँले यो नाम आफ्नै नामबाट जुराउनुभएको हो ।  'प्रेमको अंग्रेजीकरण गरेर लभ र चालकलाई गुरु भनिने भएकाले मैले 'लभ गुरु' नाम राखेको हुँ', उहाँले भन्नुभयो ।

 

लामाले गाडी हाँक्न थालेको २२ वर्ष भयो । २२ वर्षको अवधिमा कति यात्रुलाई गन्तब्यसम्म पुर्याए उनलाई हेक्कै छैन । तर उनको गन्तब्य त्यहि हो जहाँ यात्रु चढ्छन् र जहाँ यात्रु झर्छन । नेपालमा मात्र होइन, साउदी अरब र बहराइनमा समेत झन्डै एक दशक सवारी चलाएको अनुभव छ लामासंग ।

शुभकामना यातायात चलाउन थालेको भने ५ वर्ष भयो । पहिला साहुको गाडी चलाउँने उहाँ अहिले आफैं गाडी साहु हुनुहुन्छ । 'म त यो गाडीको साहु होइन गोठालो हुँ । पहिला भैंसी गोठालो गर्थें, अहिले गाडी गोठालो गर्छु', उहाँले ठट्टा गर्दै भन्नुभयो । 

उहाँले लकडाउनपछि बिनासहचालक नै गाडी चलाउनुहुन्थ्यो । ढोकैमा जडान गरिएको माइकले नै सहचालकको काम गर्थ्यो । पछिल्लो समय भने 'रिजर्भ'का लागि पनि धेरै ठाउँमा गइरहनुपर्ने र सरसफाइका काम आफु एक्लैले गर्न अप्ठ्यारो भएकाले सहचालक राखेको उहाँ बताउँनुहुन्छ । 

    

उहाँले आफ्नो गाडीको चारैतिर सिटभन्दा ठ्याक्क माथिपट्टि फोहोर फ्याँक्न चोयाबाट बनेको डालो राख्नुभएको छ । अत्याधुनिक सामानहरुको जगजगी भएको आजको युगमा उनले राखेको डालोले अर्गानिक सामाग्री र वातावरणमैत्री क्रियाकलापको पनि झल्को दिन्छ । 'मलाई गाउँले र अर्गानिक सामानहरु बढी मन पर्छ ।  त्यसैले पनि यसरी डालो राखेको हुँ', उहाँले भन्नुभयो । गाडी चढ्ने प्राय यात्रुले फोहोर डालोमै फ्याँक्छन् । पहिलोचोटी चढ्ने केहि व्यक्तिले भने थाहा नभएर भुँईमा पनि फ्याँक्ने गरेको उहाँ बताउनुहुन्छ । 'नेपालमा यस्तो संस्कार बसिसकेको छैन । त्यसैले पनि केहि केहिलाई छेउमै डालो भएको पनि हेक्का नहुने रहेछ', उहाँले भन्नुभयो ।   

    

उहाँले यात्रुहरुलाई चकलेट दिन थाल्नुको पछाडी पनि एउटा कारण छ । केहि वर्षअघि भाडादर १८ कायम भयो ।  २ रुपैयाँको सिक्का सधैं नहुने ।  त्यसपछि उहाँले यात्रुलाई दुई रुपैयाँको चकलेट दिन थाल्नुभयो । पछि भाडा बढ्यो तर उनको गाडीलाई मानिसले 'चकलेट दिने गाडी' भनेर चिन्न थाले । 'जे होस्, मार्केटमा लभ गुरुको इमेज राम्रै छ', भर्खरै गाडी चढेका एक यात्रुलाई चकलेट दिंदै उहाँले भन्नुभयो । त्यसपछि हरेक यात्रुलाई फ्रीमा चकलेट दिन थाल्नुभयो। 'चकलेट दिंदा मैले सबैबाट मिठो सद्भाव पाएको महसुस गर्छु र मन खुशी हुन्छ । त्यसैले मलाई चकलेटमा अनावश्यक खर्च गरेंजस्तो कहिल्यै लाग्दैन', उहाँले भन्नुभयो । 

  

गाउँघरमा  ठाउँ ठाउँमा थकाइ मार्ने चौतारो र पानीको कुवा धारा बनाइएको हुन्छ । बाटो हिंड्ने बटुवाले चिसो हावा खाँदै प्यास मेटाउँन पाउँन् भनेर पनि यसो गरिएको हो। भने यस्ता कामलाई पुण्यको काम पनि भन्ने गरिन्छ । लामाको गाडीमा पनि ढोकाको छेवैमा 'मिनरल वाटर'को बोतल राखिएको छ । त्यो यात्रुका लागि हो । ढोकामा पनि 'पानी पिउन सक्नुहुन्छ' भनि लेखेर जानकारी पनि दिइएको छ । यात्रा गर्दा गर्दै यात्रुलाई तिर्खा लाग्यो भने पानी खान सकुन् भनेर उनले यस्तो व्यवस्था गरेका हुन् ।

अझ रोचक कुरा त के भने उहाँले ग्राहकलाई '१०० रुपैयाँ बोनस'को समेत व्यवस्था गर्नुभएको छ । गाडी चढ्दा पर्स छुटेको या यात्रुसंग पैसा नभएको अवस्थामा यात्रुलाई गन्तब्यसम्म पुर्याइदिएर उल्टै १०० रुपैयाँ दिएर पठाउनुहुन्छ । 'भोक धेरै लागेको छ भने ५०/६० रुपैयाँको खाजा खाएर बाँकी पैसाले गन्तब्यसम्म पुग्ने भाडा पुग्छ ।  त्यसैले पनि १०० रुपैयाँ दिने व्यवस्था गरेको हुँ', उहाँले भन्नुभयो, 'समस्या सबैलाई पर्छ । अप्ठारो पर्दा कसैको सहयोगी बन्न सक्नु निकै भाग्यको कुरा हो ।' अहिलेसम्म उहाँले त्यसरी धेरै यात्रुहरुलाई सहयोग गरिसक्नुभएको छ । कतिपय यात्रुले अर्कोचोटी गाडी चढ्दा त्यो पैसा फिर्ता दिने गरेकोसमेत उहाँको भनाई छ ।      

उहाँले कक्षा ८ सम्मका विद्यार्थी, अशक्त तथा दृष्टिविहिन यात्रुका लागि सतप्रतिशत छुटको व्यवस्था गर्नुभएको छ । जेष्ठ नागरिकले भने आफुखुशी जति दिन पनि सक्ने उहाँ बताउनुहुन्छ । सोहि गाडीमा यात्रारत युवा कुशल श्रेष्ठ भन्नुहुन्छ, 'अघिल्लो पटक गाडी चढेका बेला एकजना बुढी आमाले 'मसंग यति मात्र छ बाबु' भन्दै १० रुपैयाँ दिनुभएको थियो ।  ड्राइभर दाइले 'हुन्छ' भन्दै खुशी खुशी त्यो पैसा लिनुभएको थियो । जुन कुरा मलाई निकै मन परेको थियो ।'  

पहिलो पटक सो गाडीमा चढेकी ज्योती महर्जनलाई पनि गाडीमा लेखिएको कुराहरु ज्यादै राम्रो लाग्यो । फोहोर फाल्ने व्यवस्था र यात्रुसंगको व्यवहारहरु अरुले पनि सिक्न लायक रहेको उहाँ बताउनुहुन्छ । संगै बस्नुभएकी उर्मिला कार्कीलाई पनि चकलेट र खानेपानीसहित यात्रुको स्वागत सत्कार गर्ने त हवाईजहाजमा मात्र हो भन्ने लाग्थ्यो । 'मलाई यो गाडी चढेपछि खुशी लाग्यो । सिस्टम सरकारले होइन व्यक्ति आफैंबाट सुरु गर्नुपर्छ भन्ने कुरासमेत महसुस भयो', उहाँले भन्नुभयो ।  

लामाले हरेक दिन लगभग डेढ सय यात्रुलाई गन्तब्यसम्म पुर्याउनुहुन्छ । त्यो क्रममा आफ्नो आफ्नो मनस्थितिअनुसारका मानिसहरु चढ्छन् । 'सबैसंग बिन्दास भएर बोल्ने मेरो बानी हो । त्यसैले रिसाएर या दुखि भएर गाडी चढ्नेहरुलाई पनि म 'कुल' बनाएर पठाइदिन्छु', लामाले ठट्टा गर्दै भन्दै थिए । वरिपरि बसेका यात्रुहरु भने उनको कुरा सुनेर हाँस्दै थिए । कहिलेकाहीं यात्रुहरु पछाडी नसर्दा र झर्ने बेलामा ५ सय या हजारको नोट दिंदा चाहि अलि रिस उठ्ने गरेको उहाँ बताउनुहुन्छ । 

 

उहाँले दैनिक ४ टिप गर्नुहुन्छ । गाडीबाट एक चोटीमा ३ देखि ४ हजार र एक दिनमा लगभग १२ देखि १५ हजारको कमाइ हुन्छ । खर्च कटाएर दैनिक ४ देखि ५ हजार बचत हुने उहाँ बताउनुहुन्छ। चालक भएकै कारण देशका कुना कुनासम्म पुग्ने अवसर पाएकोमा उहाँ खुशी व्यक्त गर्नुहुन्छ ।