• शनिबार, १२ श्रावण, २०८१
  • ०८:२२:३३

डेउडाको बहुआयामिक महत्वलाई उजागर गर्न सरोकारवालाको जोड

  • Netizen Nepal
  • बिहीबार, ३० चैत, २०७९- १४:११:००/ Thursday 04-13-23

रीता थपलिया  
काठमाडौँ, ३० चैत । 'डेउडा लोक साहित्य: विमर्श गोष्ठी' विषयक कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । युनिभर्सिटी अफ क्रियटिभ आर्ट्स बेलायतको सहयोग, नेपाल एफएमको संयोजन र विभिन्न अनुसन्धानमा संलग्न व्यक्तिहरुको पहलमा आयोजना भएको कार्यक्रममा डेउडाको उत्पति, महत्व र नेपाली साहित्यमा यसको भूमिकाका बारेमा छलफल गरिएको थियो ।  

कार्यक्रममा नेता डा. भिम रावलले डेउडा सम्पूर्ण साहित्यको अन्तरा भएको बताउनुभयो ।  उहाँले कुनै पनि राष्ट्रको विकास र पहिचानका लागि मौलिक लोक संस्कृतिको महत्व रहेको भन्दै भन्नुभयो, 'साहित्य छ भने नै देश बाँच्छ, भाषा बाँच्छ, जीवन चल्छ र पहिचान झल्किन्छ ।  त्यसैले अमुर्त सम्पदाका रुपमा रहेका यस्ता साहित्यहरुको बहुआयामिक पक्षहरुको खोज अनुसन्धान हुनुपर्छ ।' 

अन्तराष्ट्रियस्तरमा साहित्यको खोज अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डा साइमोनले भाषा संस्कृतिले समाजलाई  जीवन्त राख्न महत्वपुर्ण भूमिका खेल्ने बताउँदै यसको अध्ययनका लागि आफु उत्साहित रहेको बताउनुभयो।  उहाँले डेउडाको मौकिल महत्वलाई बुझेर विश्वविद्यालयले केहि अनुसन्धानको कामा गर्न थालेको बताउनुभयो ।  अब छिट्टै डेउडा साहित्यका बारेमा बुझ्न  सुदुरपश्चिममा स्थलगत अध्ययनमा जान लागेको उहाँले बताउनुभयो ।

बरिष्ट लोक गायक नन्दकृष्ण जोशीले लेखन, अभिव्यक्ति र खेलको संयोजन रहेको देउडा गीत उत्कृष्ट सिर्जनाका रुपमा रहेको बताउनुभयो । 'देउडा यस्तो सिर्जना हो, जुन लेख्दा साहित्य, बोल्दा गीत र खेल्दा नाच हुन्छ । यी तिनै कुराको संयोजन भएको साहित्यिक वैभव संसारमै छैन', उहाँले भन्नुभयो ।  यस्तै नेपाली साहित्यको उद्गम स्थल सिंजा भएको र त्यहाँबाटै देउडा गीतको पनि उत्पति भएकाले डेउडा नेपाली साहित्यका लागि पनि महत्वपुर्ण रहेको उहाँको भनाई थियो ।  

डेउडाले मौलिक संस्कृतिको धरातल भएको  बताउँदै अनुसन्धानकर्ता दिलादत्त पन्तले सुदुरपश्चिम मात्र नभई यसले समग्र नेपालको चिनारी दिन सक्ने बताउनुभयो । उहाँले नेपाली साहित्यमा डेउडाको विशेष महत्व रहेको समेत बताउनुभयो ।  उहाँले डेउडाको महत्व,भाषिक, सामाजिक, न्यायिक, मनोवैज्ञानिक, राजनीतिक, संचार रलगायतका बृहतर  पक्षहरुसंग जोडिएकाले यसका तथ्यको खोजिका लागि सहयोग पुगोस भन्ने उदेश्यले यो छलफल आयोजना गरिएको बताउनुभयो।   

 कार्यक्रममा समाजशास्त्रीय दृष्टिकोणमा डेउडा  र सामाजिक रुपान्तनमा डेउडाको योगदान विषयमा डा  बद्री शर्मा बिनाडी र डा पदमराज कलौनीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रमका सहभागीहरुले डेउडाको बहुआयामिक महत्वलाई उजागर गर्न बृहतर अध्ययनको आवश्यकता भएको र त्यसका लागि यस किसिमका छलफल उपयोगी हुने बताएका थिए।  

मानसखण्ड अन्तर्गतमा (बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, मुगु, जुम्ला, दैलख, कालिकोट, जुम्ला) खस राज्यको उत्पतिसंगै डेउडा गीतको उत्पति भएको मानिन्छ । डेउडा लोकप्रिय, कर्णप्रिय, लयात्मक र गेयात्मक अभिव्यक्ति हो ।  स्थानिय जनताले खस राजालाई आफ्ना दुख, पिडा, वेदना लयात्मक रुपमा पोख्दा पोख्दै डेउडा जन्मिएको मानिन्छ।  

अहिले पनि यो गीत गाई, बस्तु, मेलापातदेखि चाडपर्व, जात्रा, सुभ संस्कार र उत्सवहरुमा सामुहिक रुपमा गाइने गरिन्छ । जसमा शृंगार, प्रेम, विरह, वेदना, विछोड र अतितसम्बन्धि तिता मिठा अनुभवलाई कवितात्मक शैलीमा प्रस्तुत गरिन्छ ।