• शुक्रबार, ७ बैशाख, २०८१
  • ०७:४५:५९

विश्वकै धेरै जनसंख्या: भारतलाई हर्ष कि विस्मात ? 

  • Netizen Nepal
  • बुधबार, २० बैशाख, २०८०- १२:१७:००/ Wednesday 05-03-23

नेटिजन संवाददाता 
काठमाडौँ, २० बैशाख । संयुक्त राष्ट्रसङ्घको आँकलनमा चिनियाँ मुख्य भूमिको जनसङ्ख्यालाई उछिन्दै भारतको जनसङ्ख्या १,४२,५७,७५,८५० पुगेको छ ।

हरेक दशकमा हुने भारतको जनगणना सन् २०२१ मै हुनुपर्ने भए पनि ढिलो भएका कारण त्यहाँको जनसङ्ख्याबारे यकिन तथ्याङ्क उपलब्ध छैन । चीनको भने सबैभन्दा पछिल्लो जनगणना सन् २०२० मा भएको थियो ।

भारत र चीन दुवै देशको जनसङ्ख्याबारे प्रक्षेपणका लागि संयुक्त राष्ट्रसङ्घले प्रजनन दर मृत्युदर बसाइसराइको अवस्थाबारे सरकारी तथ्याङ्क सर्वेक्षणहरू र प्रशासकीय विवरणहरूको अध्ययन गर्छ ।

अहिले भारत र चीन दुवै एसियाली शक्ति राष्ट्रहरूमा १ अर्ब ४० करोडभन्दा बढी मानिसहरू छन् र पछिल्लो ७० वर्षयता यी दुई देशको जनसङ्ख्या विश्वभर बस्ने मानिसहरूको एक तिहाइभन्दा बढी छ ।

चीनको जनसङ्ख्या आगामी वर्षबाट घट्न सुरु गर्नेछ । गत वर्ष १ करोड ६ लाख मानिसहरू जन्मिएका थिए । यो सङ्ख्या त्यो वर्ष मृत्यु भएका मानिसहरूको भन्दा थोरै मात्र बढी थियो । चीनमा प्रजनन दरमा व्यापक ह्रास आएको छ ।

राष्ट्रसङ्घका अनुसार चीनको जनसङ्ख्या निरन्तर घट्दै गएर यो शताब्दीको अन्त्यसम्ममा एक अर्बभन्दा कम हुनसक्छ । भारतको प्रजनन दर पनि पछिल्ला वर्षहरूमा उल्लेख्य मात्रामा घटेको छ । सन् १९५० मा ५.७ प्रतिमहिला रहेको प्रजनन दर अहिले दुई जन्म प्रतिमहिलामा पुगेको छ । यद्यपि घट्ने क्रम भने कम भएको छ । भारतको जनसङ्ख्या चाहिँ अझै बढ्दो क्रममै रहेर सन् २०६४ सम्म उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दो क्रममा जाने आँकलन गरिएको छ ।

त्यसो भए जनसङ्ख्यामा भारतले चीनलाई उछिन्नुको अर्थ के हुन्छ त?

जनसङ्ख्या कम गर्न भारत भन्दा चीन छिटो

चीनले सन् १९७३ मा २ प्रतिशत रहेको जनसङ्ख्या बृद्धिदर त्यसको एक दशकपछि १९८३ मा १.१ प्रतिशतमा झार्‍यो । यो उपलब्धि हाँसिल गर्न चीनले एक मात्रै बच्चाको नीति, ढिलो विवाह जस्ता नीतिहरू अघि सारेर मानवअधिकार सीमित गर्‍यो । सार्वजनिक स्वास्थ्यमा लगानी वृद्धि महिलाका लागि शिक्षा र काममा सहभागिता बढाएका कारण पनि प्रजनन दरमा कमी आयो। 

भारतको जनसङ्ख्या भने स्वतन्त्रतापछि तेब्बरले बढ्यो । सन् १९५१ मा ३६ करोड रहेको भारतको जनसङ्ख्या सन् २०११ मा १ अर्ब २० करोड पुगेको थियो ।

अघिल्लो शताब्दीको अन्त्यतिर भारतको जनसङ्ख्या हरेक वर्ष २ प्रतिशतले बढिरहेको थियो । समयसँगै मृत्युदरमा कमी आयो मानिसहरूको औसत आयु बढ्यो र स्रोत पनि बढ्दै गयो ।

विशेष गरी सहरमा बस्ने धेरै मानिसहरूले सफा खानेपानी र आधुनिक ढल व्यवस्थापनको सुविधा पाए । “यद्यपि जन्मदर अझै उच्च रह्यो,” लन्डन स्कुल अफ इकोनोमिक्सका जनसाङ्ख्यिक विश्लेषक टिम डाइसन भन्छन् ।

भारतले सन् १९५२ मा परिवार नियोजन कार्यक्रम सुरु गर्‍यो। तर भारतले आफ्नो जनसङ्ख्या नीति सन् १९७६ मा मात्रै ल्यायो जति बेला चीन जनसङ्ख्या घटाउने अभियानमा लागिसकेको थियो ।

भारतमा नागरिक अधिकारहरू निलम्बन गरिएको सन् १९७५को सङ्कटकालको समयमा दशौँ लाख मानिसहरूलाई वन्ध्याकरण गर्न दबाव दिइयो जसले परिवार नियोजनबारे सामाजिक विरोध निम्त्यायो । प्राध्यापक डाइसन सङ्कटकाल लागु नभएको भए भारतमा प्रजनन दर कम हुने थियो भन्ने ठान्छन् ।

भारतभन्दा ढिलो जनसङ्ख्या नीति सुरु गरेका अन्य पूर्वी एसियाका देशहरू दक्षिण कोरिया, मलेसिया, ताइवान, थाइल्यान्डले न्यून प्रजननको लक्ष्य पूरा गरिसकेका छन् । यी देशहरूमा मातृ मृत्युदर कम हुनुका साथै आयस्रोत र विकास पनि तीव्र बढेको छ।

जनसङ्ख्या विस्फोटको जोखिम

स्वतन्त्रता यता एक अर्ब जनसङ्ख्या बढेको भारतमा अझै ४० वर्षसम्म जनसङ्ख्या वृद्धि हुने प्रक्षेपण गरिएको छ । तर यहाँको जनसङ्ख्या वृद्धिदर भने केही दशकयता घट्दो क्रममा छ जसकारण जनसाङ्ख्यिक सङ्कट नआउने ठानिएको छ।

त्यसकारण चीनभन्दा धेरै जनसङ्ख्या हुनु पनि भारतका लागि चिन्ताको विषय चाहिँ नभएको जनसङ्ख्याविद्हरू बताउँछन् । बढ्दो आयस्रोत, स्वास्थ्य र शिक्षामा बढ्दो पहुँचले भारतीय महिलाहरू विगतको भन्दा कम बच्चा जन्माउन थालेका छन् ।

पिउ रिसर्च सेन्टरका अनुसार पछिल्लो जनगणना र राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणका तथ्याङ्कले भारतमा सबै धर्म समूहका मानिसहरूको प्रजनन दरमा कमी आएको देखाएको छ । सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तरी भारतमा भन्दा दक्षिण भारतमा जन्मदर तीव्र गतिमा कम हुँदै गएको छ ।

चीनलाई पछि पार्नु महत्त्वपूर्ण

चीनसहित पाँच स्थायी सदस्य भएको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ सदस्यमा दाबी गरिरहेको भारतका लागि जनसङ्ख्यामा चीनलाई पछि पार्नु महत्त्वपूर्ण हुनसक्छ ।

राष्ट्रसङ्घको संस्थापक सदस्य रहेको भारतले स्थायी सदस्यमा आफ्नो दाबी न्यायसङ्गत भएको बताउँदै आएको छ । मुम्बईमा मुख्यालय रहेको इन्टरन्याशनल इन्स्टिट्यूट अफ पपुलेसन साइन्सेसका निर्देशक के एस जेम्सका अनुसार भारतको जनसाङ्ख्यिक आकारमा आएको परिवर्तन पनि आफैँमा महत्त्वपूर्ण छ ।

भारतले गरिब र धेरैजसो अशिक्षित जनसङ्ख्या रहेको देशमा परिवार नियोजनलाई प्रभावकारी बनाएर स्वास्थ्य जनसाङ्ख्यिक आकार परिवर्तन गरेको प्राध्यापक जेम्स बताउँछन्।

त्यो भन्दा पनि राम्रो कुरा भारतका लागि के छ भने विश्वभरका २५ वर्ष मुनिका हरेक पाँच जना व्यक्तिमध्ये एक जना भारतका छन् र यो उमेर समूहका मानिसहरू भारतमा ४७ प्रतिशत छन् । भारतको जनसङ्ख्याको दुई तिहाइ मानिसहरू सन् १९९०को दशकमा देशले अर्थतन्त्रमा उदारीकरण गरेयता जन्मिएका छन् ।

अर्थशास्त्री श्रुति राजगोपालनका अनुसार यी युवा भारतीयहरूको भिन्नै विशेषता छन् । “युवा भारतीयहरूको यो पुस्ता सबैभन्दा ठूलो उपभोक्ता मात्रै नभएर श्रम ज्ञान र वस्तुको अर्थतन्त्रको स्रोत पनि हुनेछ। विश्वभरका प्रतिभाहरूको सबैभन्दा ठूलो स्रोत भारतीयहरू हुनेछन्,” उनले भनिन्।

चुनौतीहरू 

जनसाङ्ख्यिक लाभ लिनका लागि भारतले पर्याप्त रोजगारीहरू सिर्जना गर्नुपर्ने हुन्छ । भारतीय अर्थतन्त्रको अध्ययन गरिरहेको एक संस्थाका अनुसार यो देशमा काम गर्न सक्ने उमेर समूहका जम्मा ४० प्रतिशत मानिसहरू मात्रै काम गर्छन् वा गर्न चाहन्छन् । 

काम गर्न सक्ने उमेरमा बच्चा जन्माउने र बालबच्चा हेर्ने काममा कम समय दिनुपर्ने भएपछि धेरै महिलाहरूलाई रोजगारी आवश्यक पर्छ ।

तर भारतको तस्बिर यहीँनेर धुमिल छ । गत अक्टोबरको तथ्याङ्क अनुसार भारतमा जम्मा १० प्रतिशत महिलाहरू मात्रै श्रममा जोडिएका छन् । जबकि चीनमा ६९ प्रतिशत महिलाहरू श्रमिक छन् ।

त्यसपछिको अर्को समस्या हो आप्रवासन । करिब २० करोड भारतीयहरू देशभित्रै फरक राज्यमा वा जिल्लाहरूमा बसोबास गर्छन् । यो सङ्ख्या अझै बढ्दो क्रममा छ। धेरै काम गर्ने मानिसहरू कामको खोजीमा गाउँबाट सहरतर्फ बसाइँ सरेका छन् ।

जनसङ्ख्याविद्हरूका अनुसार भारतमा बालविवाह रोक्न पनि चुनौती छ र जन्म र मृत्यु दर्ता राम्रोसँग गर्ने पनि अर्को चुनौती छ। अर्को चुनौती भनेको छोरीभन्दा धेरै छोराहरू जन्मने अवस्था पनि हो ।

भारतमा जनसङ्ख्या नियन्त्रण मुस्लिमहरूप्रति लक्षित जस्तो पनि देखिन्छ। पिउ रिसर्च सेन्टरका अनुसार भारतको धार्मिक अल्पसङ्ख्यकमा बच्चा जन्माउने अन्तर विगतभन्दा कम भएको छ।

बुढ्यौलीमा कम ध्यान

जनसङ्ख्याविद्हरूले बुढ्यौलीतर्फ कम ध्यान दिइएको बताएका छन् । सन् १९४६ मा भारतमा आधा मानिसहरू २१ वर्ष मुनिका थिए। भारतमा ६० वर्षभन्दा बढी उमेरका मानिसहरूको जनसङ्ख्या ५ प्रतिशत मात्रै थियो।

अहिले आधा मानिसहरू २८ वर्ष माथिका छन् र १० प्रतिशत भारतीयहरू ६० वर्ष माथिका छन्। दक्षिणी राज्यहरू केरला र तमिलनाडुले २० वर्ष अघिबाटै आमाबाबुको सङ्ख्या प्रतिस्थापन गर्ने गरी प्रजनन दर कायम गरेका छन्।

सन् २००१ देखि २०११ सम्म केरलाको जनसङ्ख्या बृद्धिदर सबै राज्यहरूको भन्दा कम ४.९ प्रतिशत थियो। यो राज्यमा हालै जन्मिएका मानिसहरू ७५ वर्षसम्म बाँच्ने अपेक्षा गर्न सकिन्छ। जबकि देशको औसत आयु ६९ वर्ष छ।

सानो परिवारले बालबच्चाहरूको पढाइ राम्रो होस् भन्ने सुनिश्चित गर्न चाहन्छन्। जसले युवा पुस्ता अन्यत्रै जाने र घरमा अभिभावक मात्रै रहने अवस्था बनेको छ । राष्ट्रसङ्घले सन् २०२३ बाट २०५०को बीचमा चीनमा ६५ वर्ष वा त्यो भन्दा माथिका मानिसहरूको सङ्ख्या करिब दोबर हुने भारतमा त्यो भन्दा बढी हुने आकलन गरेको छ ।

यो अवस्थामा स्वास्थ्य हेरचाह र बिमा लगायतका समस्या देखा पर्न सक्छन् । काम गर्ने उमेरको जनसङ्ख्या घटेर वृद्ध जनसङ्ख्या धेरै हुँदा सरकारका स्रोत साधनमा थप दबाब पर्न सक्छ । विविसी ।