• बिहीबार, १० जेठ, २०८१
  • १२:०२:५६

विपी कोइराला भारतको स्वतन्त्रताका लागि किन लडेका थिए ?

  • Netizen Nepal
  • सोमबार, २९ श्रावण, २०८०- १७:२१:००/ Monday 08-14-23

नेटिजन संवाददाता 
काठमाडौँ, २९ साउन । सन् १९४५ मार्चमा एक ३१ वर्षे नेपाली युवकले भारतको पटनाबाट आफ्नी श्रीमतीलाई हृदयस्पर्शी पत्र लेखे। पत्रमा पत्नीप्रति गहिरो प्रेम व्यक्त गरिएको थियो । अनि घर व्यवहारका निम्ति समय दिन नसकेको पछुतो पनि । त्यसमा उल्लेख भएमध्ये सम्भवत: सबैभन्दा मार्मिक विवरण थियो- ती युवा भर्खरै जेलबाट छुटेका थिए र उनी कारागारमुक्त भएकै दिन नेपालमा तिनका पिताको निधन भएको थियो ।

त्यति हुँदा पनि उनी नेपाल आउन पाउँदैन थिए किनकि उनलाई पटना छाडेर बाहिर जाने अनुमति प्रशासनले दिएको थिएन । उनलाई लाग्यो - आमाले मेरो परिबन्द बुझ्नुभएन भने पनि कम्तीमा पत्नीले त बुझ्लिन् ।

त्यसैले उनले पत्नीलाई लेखे, “मलाई आमाको चिन्ता लागिराखेको छ । यस्तो विकट अवस्थामा उहाँ कसरी रहनुभएको होला । दु:ख खप्ने क्षमता उहाँमा प्रशस्त छ तर त्यसको पनि कुनै सीमा होला । आमालाई सम्झिँदा मेरो मनमा ग्लानि उत्पन्न हुन्छ । उहाँको सन्दर्भमा मेरा ठूल्ठूला आदर्शवादी गफहरू अनुचित छन् जस्तो लाग्छ । म उहाँलाई माया गर्छु, यो कुरा सम्झाउनू ।”

त्यो पत्र पठाउँदै गर्दा उनलाई 'शान्ति सुरक्षामा खलल पुर्‍याएको' भन्दै पटना छाडेर अन्यत्र जान निषेध गरिएको थियो । उनीसँगै जेल परेका कतिपय साथीहरू अझै पनि जेलमै थिए ।

नेपाली भए पनि ती युवक भारतको स्वतन्त्रता आन्दोलनमा विभिन्न माध्यमबाट सक्रिय थिए । त्यसै कारण उनी भारतको जेलमा झन्डै अढाई वर्ष बिताएर भर्खरै छुटेका थिए ।

भारतको स्वतन्त्रताका लागि लडेर जेल परेका र आफ्नै पिताको मृत्युमा समेत नेपाल आउन नपाएका तिनै व्यक्ति अर्थात् विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) त्यसको १४ वर्षपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

कोइरालाको पुस्तक 'आफ्नो कथा'को 'पत्र: दस्तावेज' खण्डमा समेटिएको उक्त पत्रमा उनले पत्नी सुशीलालाई आफू पक्राउ परेकै दिन जेल परेका पटनाका आफ्ना साथी देवेन्द्र पनि छुटिसकेको उल्लेख गरेका छन् । तर देवेन्द्रलाई पनि बिहारको आरा सहर छाड्न नपाइने आदेश दिइएको थियो ।

बीपी कोइरालाले आफ्नो पत्रमा उल्लेख गरेका व्यक्ति देवेन्द्रप्रसाद सिंह पछि भारतको समाजवादी दलका नेता बने र राज्यसभा सदस्यसम्म भए । त्यो पत्र दिवङ्गत कांग्रेस नेता प्रदीप गिरिको सम्पादनमा प्रकाशित 'विश्वेश्वरप्रसाद कोइराला आधारभूत सङ्कलन'मा पनि अनुवाद गरेर समेटिएको छ ।

अरू पनि बने प्रधानमन्त्री

भारतको स्वतन्त्रताका लागि आन्दोलनमा लागेर ब्रिटिश भारतमा जेल जीवन बिताएका उनी मात्र होइन अरू केही नेता पनि नेपालको सर्वोच्च कार्यकारी पदमा पुग्न सफल भएका थिए । भारतीय स्वतन्त्रताका लागि लड्दा उतै जेल परेर पछि नेपालको प्रधानमन्त्रीसम्म बन्ने पहिलो व्यक्ति थिए बीपीका दाजु मातृकाप्रसाद कोइराला।

कोइराला दाजुभाइबाहेक नेपालको दोस्रो जनआन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई र दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री भनिएका मनमोहन अधिकारी पनि भारतको स्वतन्त्रताका लागि लड्दा जेल परेका थिए ।

तारिणीप्रसाद कोइराला र अर्का भाइ गिरिजाप्रसाद कोइराला पनि भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएका थिए । तर उनीहरू सोही कारणले जेल चाहिँ परेनन् । गिरिजाप्रसाद कोइराला पछि पटक पटक प्रधानमन्त्री बने ।

केही लेखकहरूले सुवर्णशम्शेर राणा र केआई सिंह पनि भारतको स्वतन्त्रताको आन्दोलनमा सहभागी भएको बताउने गरेका छन् । तर उनीहरूबारे अध्ययन गरेका व्यक्तिहरूले भने उनीहरूको प्रत्यक्ष संलग्नताको पुष्टिको दरिलो प्रमाण अहिलेसम्म फेला पर्न नसकेको भन्दै थप अध्ययन आवश्यक भएको औँल्याएका छन् ।

मातृकाप्रसाद कोइराला र बीपी कोइरालाको जेल यात्रा

कुनै बेला राणा शासक चन्द्र शम्शेरका 'मन पर्ने व्यक्ति'मा परेका कृष्णप्रसाद कोइरालाले सामाजिक सुधारका कुरा उठाउन थालेपछि चन्द्रशम्शेरकै कारण देश छाड्नुपर्‍यो । उनी निर्वासित हुँदा प्रथम विश्वयुद्ध भर्खरै सकिएको थियो र रुसमा क्रान्तिद्वारा राजतन्त्र अन्त्य भई साम्यवादी शासनको आरम्भ हुँदै थियो । विश्वका कैयौँ स्थानमा उपनिवेशविरुद्ध स्वतन्त्रताका निम्ति विद्रोहहरू सुरु भएका थिए।

कृष्णप्रसाद कोइरालाका तीनमध्ये माइली श्रीमतीबाट जन्मिएका जेठा छोरा मातृकाप्रसाद कोइरालाले 'अ रोल इन अ रेभलूशन' शीर्षित पुस्तकमा लेखेका छन्, "सन् १९१९ को एक साँझ नेपाल-भारत सीमास्थित रेलवे स्टेशनको टर्मिनलमा उमेरले तीन दशकको अन्त्यतिर रहेका एक व्यक्ति प्ल्याट्फर्ममा हिँडिरहेका थिए।"

"उनका दुवैतर्फ दुई छोरा थिए - एउटा झन्डै नौ वर्षका र अर्का झन्डै छ वर्षका । ती दुई केटाहरू पछि समकालीन नेपालको इतिहासमा कोइराला दाजुभाइ एमपी र बीपीका रूपमा चिनिए ।" "ती व्यक्ति थिए - कृष्णप्रसाद कोइराला जसले केहीअघि मात्र आफ्नो परिवार र सम्पूर्ण सम्पत्ति तात्कालिक राणा प्रधानमन्त्री चन्द्रशमशेरको कृपामा छाडेर हिँडेका थिए ।" 

निर्वासित भएपछि कृष्णप्रसाद कोइरालाको परिवार सुरुमा बनारस पुग्यो । आर्थिक अभावसँग जुध्दै उनीहरू भारतको उत्तर प्रदेशस्थित गोरखपुर, बङ्गालस्थित कोलकाता तथा बिहारका दीपनगर, जयनगर तथा बेतियामा बसाइँ सर्दै बस्न बाध्य भए ।

कोइराला दाजुभाइले लेखेअनुसार केही समय उनीहरू महाराष्ट्रको कोल्हापुरमा पनि त्यहाँका रजौटाका पाहुना भएर बसेका थिए । निर्वासित जीवनमा मातृकाप्रसाद कोइराला बिहारस्थित सदाकत आश्रममा अध्ययनरत थिए भने बीपी बनारसस्थित हरिश्चन्द्र स्कूलमा।

सदाकत आश्रममा पढ्दाताका नै मातृकाप्रसाद कोइराला आसामको गुवाहटीमा भएको अल इन्डिया कङ्ग्रेसको वार्षिक अधिवेशनमा उत्तर भागलपुरको प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।

मातृकाप्रसाद कोइरालाले आफ्नो पुस्तकमा लेखेका छन्, "सदाकत आश्रममा रहँदा मैले पटना जिल्ला कांग्रेसको सदस्य मात्र होइन, जिल्ला कार्यकारिणीमा विभिन्न पदमा रहेर पनि जिम्मेवारी सम्हालेँ।"

ब्रिटिशविरुद्ध आन्दोलन तीव्र हुँदै गएपछि भारतीय कांग्रेसका ठूला नेताहरू क्रमश: पक्राउ पर्दै गएपछि बिहार क्षेत्रमा पार्टीका सबै खालका गतिविधिमा मातृकाप्रसाद कोइरालाको भूमिका बढ्न थालेको थियो ।

त्यस्तो अवस्थामा पक्राउ पर्ने खतरा बढ्दै गएपछि उनी केही समय विराटनगर आएर बसे र त्यसपछि पुन: भारत फर्किए । सन् १९३० को दशैँताका उनी बनारस गए अनि आफ्ना भाइ बीपी कोइरालासँग एउटै कोठामा बसे।

मातृकाप्रसाद कोइरालाले आफ्नो पुस्तकमा काशीवास गएकी हजुरआमाको हातको टीका लगाउन त्यस बेला बनारस गएको लेखेका छन् । बीपीको आत्मवृत्तान्तमा चाहिँ त्यस बेला उनकी हजुरआमाको देहान्त भइसकेको उल्लेख छ । यद्यपि त्यस बेला आफूहरू सँगै रहेको कुरा दुवै जनाले आफ्ना पुस्तकमा पुष्टि गरेका छन्।

दशैँको टीकाको भोलिपल्ट बिहानै मातृकाप्रसाद र बीपी बसेको कोठाको ढोका कसैले ढकढक गर्‍यो । "हाम्रो सुत्ने कोठा इन्स्पेक्टरको नेतृत्वमा रहेको प्रहरीको एउटा टोलीले जबरजस्ती खोल्यो," मातृकाप्रसादले लेखेका छन् । "त्यस बेला कांग्रेसका पर्चा र बुलेटिन बरामद गर्न सहरका घरघरमा खोजी भइरहेको थियो। मलाई लाग्यो - यो पनि सोही उद्देश्यका लागि हो । मैले इन्स्पेक्टरसँग सर्च वारेन्ट मागेँ तर मेरो कुरा सुनेर उनले मेरो खिल्ली उडाए ।"

मातृकाप्रसाद र बीपी दुवैलाई हत्कडी लगाइएको र सुरुमा स्थानीय प्रहरीचौकी कोतवाली पुर्‍याइयो । त्यसपछि बनारस जेल र अन्तिममा मोतीहारी पुर्‍याइयो । सुरुमा दुवैलाई आफूहरूलाई किन पक्राउ गरियो भन्ने थाहा थिएन ।

मातृकाप्रसाद अधिकांश ठूला नेताहरू पक्राउ परेकाले भारतीय कांग्रेसको बिहार राज्यका कार्यवाहक महासचिवको भूमिकामा थिए। उनले कांग्रेस नेताका रूपमा आफूले विद्रोही गतिविधिमा गरेका कामका लागि पक्राउ गरिएको हो भन्ने सोचेका थिए । तर कोतवाली पुगेपछि उनले थाहा पाए- बीपी र उनलाई त 'राजनीतिप्रेरित आतङ्ककारी षड्यन्त्र गरेको' मामिलामा पो पक्राउ गरिएको रहेछ।

किरण मिश्रले 'बीपी कोइराला लाइफ एन्ड टाइम्स'मा लेखेअनुसार सन् १९३० ताका कांग्रेसले चलाएको असहयोग आन्दोलन तीव्र रूपमा अघि बढिरहेको भए पनि केही भारतीय युवाहरू त्यसको सुस्त गतिप्रति असन्तुष्ट थिए । आन्दोलनको गति सुस्त भएको ठान्ने केही भारतीय युवाहरूले ठाउँठाउँमा बन्दुक बोके र हिंसात्मक गतिविधिमा सहभागी भए ।

उनीहरूले विभिन्न दल र समूह पनि बनाएका थिए । बीपी पनि त्यस्ता समूहको सम्पर्कमा पुगे । उनीहरूका छलफलमा सहभागी भए । त्यसैका आधारमा उनीहरूलाई 'सन्दिग्ध' मानेर पक्राउ गरिएको थियो। मुद्दा चलाइएको थियो । "त्यो मुद्दालाई मौलानिया मुद्दाका रूपमा चिनिन्छ । दुवै कोइराला बन्धुलाई उक्त मुद्दामा सन्दिग्ध व्यक्तिका रूपमा हिरासतमा लिइएको थियो," मिश्रले लेखेकी छन् । "लगभग तीन महिना जेल बसेपछि उनीहरूलाई कसैले पनि सनाखत गर्न सकेनन् । उनीहरूको भाग्यले साथ दियो र मुक्त भए ।"

उनीसँग गणेशराज शर्माले कुराकानी गरेर रेकर्ड गरी तयार पारेको 'आत्मवृत्तान्त'मा पनि बीपीले सोही कुरा उल्लेख गरेका छन् । उनले आतङ्ककारी भनिएको 'हाजीपुर समूह'सँग आफ्नो सम्पर्क रहेको बताएका छन् । उनीहरूसँगै पक्राउ परेका 'आतङ्ककारी समूह'का कतिलाई मृत्युदण्डको सजाय दिइयो भने कतिलाई जेल सजाय तोकियो ।

बीपी कोइराला फेरि पक्राउ परे

चन्द्र शमशेरको निधनपछि कृष्णप्रसाद कोइरालाको परिवार नेपाल फर्किएको थियो । पछि मातृकाप्रसाद पनि नेपाल फर्किए र सुरुमा व्यापार व्यवसाय अनि पछि सरकारी जागिरे समेत भए । तर भारतमा चर्केको आन्दोलनमाथि धरपकड हुँदा कैयौँ भारतीय नेता तथा कार्यकर्ता नेपालतर्फ आउन थाले ।

त्यस्ता नेताहरूलाई सहयोग गरेको आरोपमा कृष्णप्रसाद कोइरालालाई राणा शासकले गिरफ्तार गरेर काठमाडौँ ल्याए । काठमाडौँमा जेल परेका वृद्ध कृष्णप्रसाद कोइरालाको पछि थुनामै रहँदा निधन भएको थियो । मातृकाप्रसादको जागिर पनि गयो र उनी पुन: व्यापार व्यवसायतर्फ फर्किए ।

भारतबाट कतिपय नेताहरू गिरफ्तारीबाट बच्न नेपाल छिरेका थिए । बीपी पनि विराटनगरमै थिए  । त्यस बेलासम्ममा उनले कोलकाताबाट कानुनमा स्नातक पनि सकेका थिए र केही समय वकालत गरिसकेका थिए । यद्यपि उनी पूर्णरूपमा राजनीतिमा लाग्ने मनसाय बनाएर भारतको कांग्रेस सोशलिस्ट पार्टीको सदस्य बने ।

भोला चटर्जीको 'बीपी कोइराला: पोट्रेट अफ अ रेभलूशनरी'मा प्रकाशित उनको अन्तर्वातामा कोइरालाले सन् १९३९ मा पटना गएर कांग्रेस सोशलिस्ट पार्टीमा सक्रिय हुने आफूले निर्णय लिएको उल्लेख गरेका छन् ।

त्यो अन्तर्वार्तामा उनले भनेका छन्, "...बिहारको समाजवादी आन्दोलनमा निकै सक्रिय भएर लागेँ। आखिरमा म बिहार समाजवादी पार्टीको सहायक सचिव भएँ र कांग्रेस सोशलिस्ट पार्टीको भारतभरिको विद्यार्थी आन्दोलनको जिम्मेवारी पनि मलाई दिइयो।" सन् १९४२ मा बीपी कोइराला विराटनगरबाट पटना गएका थिए। त्यसै दिन उनी पक्राउ परिहाले।

'आत्मवृत्तान्त'मा समाजवादी नेता जयप्रकाश नारायणसँग सम्पर्क गर्न खोज्दाखोज्दै उनी पक्राउ परेको उल्लेख छ । तर बीपी पक्राउ पर्नुपूर्व नै जयप्रकाश नारायण गिरफ्तार भइसकेका थिए।

बीपी र उनका साथी देवेन्द्रप्रसाद सिंह तात्कालिक सुरक्षा कानुनअनुसार एकैदिन पक्राउ परेका थिए । 'भारत छोडो' आन्दोलनमा सक्रिय भएका कारण उनीहरू दुवै पक्राउ परेको बीपी कोइराला लेखेका छन् ।

जेलमा राजेन्द्रप्रसादसँग भेट

पक्राउ परेपछि सुरुमा बीपी कोइरालालाई बाँकेपुर जेल पठाइयो । त्यहाँ राजेन्द्रप्रसादलाई पनि राखिएको थियो जो पछि स्वतन्त्र भारतको पहिलो राष्ट्रपति बने । "त्यस जेलमा डा. राजेन्द्रप्रसाद पनि थुनिएका थिए । त्यस जेलको अस्पतालको एउटा कोठा सफा गरेर राजेन्द्रबाबुको निम्ति दियो र अर्को एउटा ठूलो हल खाली गरेर दुइटा बेड राखिदिएको थियो, त्यसको एउटा बेड मलाई दिएको थियो," बीपीले 'आत्मवृत्तान्त' लेखेका छन् ।

जेलमा बीपीलाई केन्द्रीय सरकारका बन्दी भनिएको थियो र 'ए' क्लासमा राखिएको थियो । उक्त जेलमा राजेन्द्रप्रसाद र बीपी मात्र केन्द्र सरकारका बन्दीका रूपमा रहेका थिए । आत्मवृत्तान्तमा उक्त जेलमा राजेन्द्रप्रसादसँग भएका संवाद तथा उनीसँगका विभिन्न प्रसङ्गहरू उल्लेख गरिएको छ। त्यसपछि बीपी र राजेन्द्रप्रसाद दुवैलाई हजारीबाग जेलमा सारियो । त्यो जेलमा बीपीको भारतीय समाजवादी नेताहरू श्रीकृष्ण सिन्हा, अनुग्रह नारायण सिन्हासहित धेरै नेतासँग भेट र अन्तरङ्ग सम्बन्ध स्थापित भयो ।

त्यसबीचमा बीपीलाई राणा शासकहरूले नेपाल सुपुर्दगी गराउन चाहेका थिए तर बीपीका तर्फबाट भारतको सङ्घीय अदालतका प्रधानन्यायाधीशसमक्ष एउटा न्यायिक अपील गरिएपछि उनको सुपुर्दगी भएन । 'विश्वेश्वरप्रसाद कोइराला आधारभूत सङ्कलन'मा प्रदीप गिरिले लेखेको 'सम्पादकीय नोट'अनुसार सन् १९४२ नोभेम्बर २९ मा पक्राउ परेका बीपी सन् १९४५ ज्यानुअरी १७ मा जेलमुक्त भएका थिए ।

त्यसपछि उनले पार्टी गठनका लागि आह्वान गरे र भारतमै नेपाली राष्ट्रिय कांग्रेस गठन भयो । कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र विद्रोह गरेपछि त्यसकै बलमा नेपालमा प्रजातन्त्रको स्थापना पनि भयो ।

बीपी कोइराला सन् १९५९ मा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । यद्यपि प्रधानमन्त्री बनेको दुई वर्ष नपुग्दै राजा महेन्द्रले उनलाई पदमुक्त गरेर जेल हाले अनि नेपालमा निर्दलीय पञ्चायती व्यवस्था सुरु गरे । भारतमा बसेर तथा स्वदेश फर्केर पनि बीपीले उक्त व्यवस्थाविरुद्ध लडिरहे तर उनको जीवनकालमा नेपालमा प्रजातन्त्र पुनर्स्थापना हुन सकेन ।

उनका दाजु मातृकाप्रसाद भने 'दिल्ली सम्झौता'अन्तर्गत बनेको अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि गठन भएको सरकारमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनैलाई सर्वसाधारण नेपाली नागरिकका तर्फबाट प्रधानमन्त्री बनेका नेपालको पहिलो व्यक्ति मान्ने गरिन्छ ।

कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको जेल यात्रा

बीपी स्वयंले भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएर कैयौँ नेपाली नेताहरू भारतमा पक्राउ परेको उल्लेख गरेका छन् । त्यसरी पक्राउ पर्नेमा नेपाली नेताहरू सूर्यप्रसाद उपाध्याय र डिल्लीरमण रेग्मीसहित अरू पनि छन्। नेपाली कांग्रेसको इतिहास लेख्नेहरूले पनि ती विवरणहरूको पुष्टि गरेका छन् । तर भारतीय स्वतन्त्रताको आन्दोलनमा सहभागी भएर त्यसरी पक्राउ परेकामध्ये केही नेताहरू मात्र नेपालको प्रमुख कार्यकारी पदमा पुगेका उदाहरण छन् ।

कोइराला दाजुभाइबाहेक त्यस्तो सूचीमा पर्ने अन्य दुई व्यक्ति हुन्- मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई । उनीहरू भारतीय स्वतन्त्रता सङ्ग्रामका बेलामा बनारसबाट पक्राउ परेका थिए ।

सन् १९४२ मा कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई बनारस हिन्दू विश्वविद्यालयमा व्यवस्थापन सङ्कायमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गर्दै थिए । मनमोहन अधिकारी पनि उक्त विश्वविद्यालयमै आइएस्सी दोस्रो वर्षका विद्यार्थी थिए। कृष्णप्रसाद भट्टराई भने दयानन्द एङ्ग्लो कलेजमा आईए अध्ययनरत थिए।

कृष्णप्रसाद भट्टराईको 'मेरो म'मा लेखिएको छ, "हामी सबै दाजुभाइजस्तै भएर बसेका थियौँ र मनमोहनजी चाहिँ कलेजको पढाइ सुरु हुने र अन्त्य भएपछि पनि घर नफर्केसम्म प्रत्येक वर्ष हाम्रै घरमा बस्नुखानु हुन्थ्यो।"

बनारसमा अध्ययनका क्रममा यी नेताहरूमा अङ्ग्रेजविरोधी भारतीय राष्ट्रिय कांग्रेसको व्यापक प्रभाव परेको थियो । भट्टराईका अनुसार उनका दाजु गोपालप्रसाद र मनमोहनबीच कांग्रेस नेताहरूबारे चर्चा भइरहन्थ्यो।

मनमोहन अधिकारी गान्धी तथा नेहरूभन्दा सुभाषचन्द्र बोसप्रति बढी आकर्षित थिए । उनीहरू काशीमा देव शम्शेरको घरमा भाडामा बसेका थिए। राणाहरूले देव शम्शेरलाई प्रधानमन्त्रीबाट हटाएर निर्वासनमा पठाएका थिए ।

सन् १९४२ मा 'भारत छोडो' आन्दोलन सुरु भयो। उक्त आन्दोलन चलिरहेका बेला कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराईले एक दिन आफूहरू भाडामा बस्ने घरमा साइकलमा कपडाले छोपेर एउटा मशीन लिएर आए । उनले त्यसलाई घरको चार तलामाथि आफूहरू बस्ने कोठामा लगेर लुकाएर राखे।

कृष्णप्रसाद भट्टराईले त्यो मशीनबारे सोध्दा गोपालप्रसादले त्यो "साइक्लोस्टाइल" भएको र कांग्रेसले प्रतिवर्ष मनाउने स्वतन्त्रता दिवसका लागि "पर्चा छाप्न ल्याएको" बताए । आफ्ना दाइको प्रसङ्ग उल्लेख गर्दै भट्टराईले लेखेका छन्, "उनले सोही घरको भर्‍याङनिरको एउटा खाली कोठामा चाहिँ दश हजारजति साना-ठूला भारतीय कांग्रेसका झण्डा पनि लुकाएर राखेको छ भनी भने।"

उक्त मशीनबाट कृष्णप्रसाद भट्टराईसहित साथीहरू मिलेर दिनभरिमा ५,०००/६००० वटाजति पर्चा छापेका थिए । भोलिपल्ट उनीहरू नउठ्दै केही मानिसहरू भट्टराई दाजुभाइको निवासमा छिरे । त्यहाँ उनीहरूका भानिज तीर्थप्रसाद नेपाल पनि बिदा मनाउन पुगेका थिए ।

उनीहरूका कोठामा प्रवेश गर्ने व्यक्तिहरू ब्रिटिश भारतीय प्रहरीहरू थिए र उनीहरूले खानतलासी गर्दै बिनावारेन्ट तीनै जनालाई पक्रिए।उनीहरूलाई कोतवाली थानामा लगेर थुनियो। कृष्णप्रसाद र तीर्थप्रसाद २० दिनमा थुनामुक्त भए तर गोपालप्रसादलाई केन्द्रीय कारागार चलान गरियो ।

गोपालप्रसाद डेढ वर्षपछि मात्र जेलबाट छुटे। स्वतन्त्र भारतका लागि पर्चा छापेर पक्राउ परेका कृष्णप्रसाद भट्टराई भने नेपालमा दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधानमन्त्री बने । त्यसपछिको तेस्रो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पनि उनी केही समयका लागि प्रधानमन्त्री बनेका थिए।

कृष्णप्रसाद भट्टराईकै अनुसार बनारसमा उनका दाजु गोपालप्रसाद भट्टराई र मनमोहन अधिकारी ब्रिटिश शासनविरुद्धको आन्दोलनमा पक्राउ पर्ने सुरुका व्यक्तिमध्येमा पर्छन् । 'मेरो म'मा उनले लेखेका छन्, "मेरा दाइ गोपालप्रसाद भट्टराई र मनमोहनजी तथा एक धनी भारतीय विद्यार्थी श्री जगदीश अरोडा चाहिँ काशीमा मात्रै होइन, सम्पूर्ण उत्तर प्रदेशका करोडौँ बासिन्दामध्ये पक्राउ पर्नेहरूमा पहिला थिए ।"

यद्यपि भारतीय स्वतन्त्रता सङ्ग्रामका क्रममा पक्राउ परेका मनमोहन अधिकारीको गिरफ्तारी तथा उनको जेल जीवनबारे कोइराला दाजुभाइ तथा भट्टराईको जस्तो विस्तृत रूपमा कमै लेखिएको पाइन्छ ।

उनी पक्राउ पर्दा कम्युनिस्ट भने बनिनसकेको भट्टराईले लेखेका छन् । उनी पक्राउ परेको समयभन्दा पछि मात्र भारतमा नेपाल कम्युनिस्ट पार्टी गठन भएकाले पनि उनी त्यस बेला कम्युनिस्ट बनिनसकेको पुष्टि हुन्छ ।

मनमोहन अधिकारीकै बारेमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालयमा इतिहासका उपप्राध्यापक ढाकाराम सापकोटा अधिकारीसँग कुराकानीलाई आधार बनाउँदै 'मनमोहन अधिकारी नेपाली राजनीतिका ६ दशक'मा लेख्छन्, "बीएस्सी पढ्दै गर्दा नै 'भारत छोडो' आन्दोलनमा सहभागी भएका कारण पक्राउ परी डेढ वर्ष भारतीय जेलमा पर्नुभयो। जसले गर्दा बीएस्सी पढाइ पनि बीचैमा छोड्नुपरेको थियो।"

गोपाल शिवाकोटीले 'कम्युनिस्ट आन्दोलनको इतिहास उद्भव र विकास'मा लेखेअनुसार मनमोहन अधिकारी भारतको कम्युनिस्ट पार्टीका सदस्य भएका थिए । उनी लेख्छन्, "मनमोहन भारतीय कम्युनिस्ट पार्टीका सदस्य समेत थिए । उनी कुच इन्डियामा जेल परेका थिए।" 

'नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस'को पहिलो भागमा प्राध्यापक राजेश गौतमले पनि 'भारत छोडो' आन्दोलनका क्रममा कैयौँ नेपालीहरू पनि पक्राउ परेको र त्यसमा मनमोहन अधिकारीसमेत रहेको लेखेका छन् ।

मनमोहनबारे विद्यावारिधि गरेका सापकोटा अधिकारीको भारतीय स्वतन्त्रता आन्दोलनमा भएको सहभागिता तथा त्यहाँ उनको जेल जीवनबारे थप अध्ययनको आवश्यकता देख्छन् । "उहाँले भारतमा कस्ता गतिविधिमा सहभागिता जनाउनुभयो र जेल जीवन कसरी काट्नुभयो भन्नेबारे अझै थप अध्ययन र सामग्रीको खोजी हुनुपर्ने आवश्यकता छ," उनले भने।

मनमोहन अधिकारी नेपालमा दोस्रो जनआन्दोलनमार्फत् पुनर्स्थापित बहुदलीय प्रजातन्त्रिक शासनको दोस्रो निर्वाचनपछि अल्पमतको सरकारमा नौ महिना प्रधानमन्त्री बनेका थिए । उनलाई त्यस बेला 'दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री' भन्ने गरिन्थ्यो।

अरू पनि भारतको जेलमा परेका थिए ?

कतिपयले यी चार नेताबाहेक नेपालको प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, सुवर्ण शम्शेर राणा, केआई सिंहलगायतका नेताहरू पनि भारतको स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर जेल परेको बताउने गरेका छन् । यद्यपि हालसम्म फेला परेका तथ्यहरूले त्यसलाई पुष्टि नगर्ने इतिहासकारहरूको भनाइ छ।

प्राध्यापक गौतम भन्छन्, "भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएर उतै जेल परेका ती चार नेताहरू नै हुन् नेपालमा प्रधानमन्त्री बनेका। अरू नेताहरू पनि भारतको स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुन् तर जेलै परेको तथ्य फेला परेको छैन।"

'बीपीको विद्रोह' तथा गिरिजाप्रसाद कोइरालाको 'आफ्नै कुरा'को समेत लेखक रहेका पत्रकार एवं त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक जगत नेपाल पनि ती चार नेताबाहेक गिरिजाप्रसाद वा अन्य प्रधानमन्त्री भएका नेताहरू भारतमा पक्राउ परेको हालसम्म पुष्टि नभएको बताउँछन् । "गिरिजाप्रसाद कोइराला भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएको त भेटिएको छ तर उनी पक्राउ परेको मैले चाहिँ पुष्टि गर्न सकेको छैन," उनले भने।

त्यस्तै केआई सिंहकै विषयमा विद्यावारिधि गरेका तथा उनीबारे पुस्तक पनि लेखेका इतिहासकार प्राध्यापक भवेश्वर पङ्गेनी पनि "सिंहले भारतको स्वतन्त्रता आन्दोलनमा सहभागिता जनाएको छनक पाइने तर उनी भारतमा पक्राउ परेको पुष्टि हुने स्पष्ट आधार नभेटेको" बताउँछन् । 

सुवर्ण शम्शेरका हकमा त उनले विशेषगरी नेपाली कांग्रेसको सङ्गठन निर्माणमा सुरुमा आर्थिक र पछि आफैँ संलग्न भएर सहयोग गरेको तर भारतमा प्रत्यक्षरूपमा आन्दोलनमा सरिक भएको तथ्य खासै नपाइने इतिहासकारहरू बताउँछन् ।

नेपाली नेता किन सहभागी भए भारतको आन्दोलनमा ?

नेपाली नेताहरू भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी हुनुका विभिन्न कारणहरू रहेको इतिहासकार र राजनीतिक विश्लेषकहरू बताउँछन् । उनीहरूका भनाइमा एउटा भारतमा बढ्दो गान्धी-नेहरू प्रभाव हुनसक्छ भने अर्को नेपाली नेताहरूले अध्ययन गर्दा त्यहाँका कांग्रेस वा समाजवादीहरूसँग उठबस हुनु पनि हुनसक्छ ।

त्यस्तै तेस्रो कारण नेपाली नेताहरू विशेषगरी बीपी कोइरालाले “भारतबाट अङ्ग्रेजहरू नहटी नेपालमा राणा शासन अन्त्य गर्न सकिँदैन” भन्ने विश्लेषण गर्नु पनि हो । त्यसबारे बीपीले आफ्नै लेखहरूमा पनि उल्लेख गरेका छन् भने उनका पिता कृष्णप्रसादले पनि निर्वासनका बेलामा त्यस्तै खालका कुरा गर्ने गरेको उनको स्मृतिग्रन्थमा संस्मरण लेख्ने कतिपयले उल्लेख गरेका छन्।

राजा महेन्द्रको ‘कू’पछि सुन्दरीजल जेलमा रहँदा बीपीले लेखेका अप्रकाशित डायरी हेरेका पत्रकार जगत नेपालका अनुसार भारतमा अङ्ग्रेजको बहिर्गमन नभरिकन नेपालमा राणा शासन अन्त्य गर्न नसकिने कुरा उनले त्यो डायरीमा पनि लेखेका छन् । नेपालले भने, “बीपी एक पटक काठमाडौँ आउँदा टङ्कप्रसाद आचार्यले ‘भारत नजानूस् नेपालमै बसेर आन्दोलन गर्नुपर्छ’ भन्ने प्रस्ताव राखेका रहेछन्। बीपीले चाहिँ भारतबाट अङ्ग्रेजहरू नफर्किकन नेपालमा राणा शासन अन्त्य नहुने भएकाले आफू भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी हुने जबाफ दिएछन् ।”

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार समेत रहेका राजनीतिक विश्लेषक हरि शर्माका अनुसार बीपीमा ‘विश्वदृष्टि’ भएकाले पनि उनी भारतको स्वतन्त्रता सङ्ग्राममा सहभागी भएका थिए । उनी भन्छन्, “राणाहरूको अन्तर्राष्ट्रिय शक्तिको स्रोत ब्रिटिशहरू हुन् र तीनलाई नहटाउँदासम्म नेपालमा पनि प्रजातन्त्र आउँदैन भन्ने विश्लेषण गरेर नै उहाँहरू त्यो आन्दोलनमा लाग्नुभएको हो।” उनी नेपाली नेताहरू लहडमा नभई विश्लेषण गरेर नै भारतको आन्दोलनमा सहभागी भएका थिए भन्ने मत राख्छन् ।

त्यस्तै उक्त आन्दोलनमा लाग्न गान्धीको प्रभाव पनि धैरैलाई परेको उनी बताउँछन् । गान्धीको प्रभावबारे उदाहरण दिँदै उनी भन्छन्, “कोइराला परिवारमा गान्धीको प्रभाव कति थियो भने निर्वासित जीवनमा कृष्णप्रसाद कोइरालासहित कोइराला परिवारका सदस्यहरूले खद्दरको लुगा मात्र लगाउने गर्नुभएको थियो।” विविसी ।