नेपाल टेलिकमका प्रयोगकर्ता २ करोड बढी
- Netizen Nepal
- मंगलबार, ५ भदौ, २०८०- २२:०८:००/ Tuesday 08-22-23
नेटिजन सम्बाददाता
काठमाडौं , ५ भदौ। नेपाल टेलिकमको मोबाइल तथा फिक्स ब्रोडब्यान्डमार्फत डेटा एवम् इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या दुई करोड नाघेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको दूरसञ्चार सूचकाङ्कले यस्तो देखाएको हो ।
सूचकाङ्कअनुसार वैशाख महिनामा टेलिकमको डेटा तथा इन्टरनेट प्रयोग गर्ने ग्राहकको सङ्ख्या दुई करोड आठ हजार ५२ पुगेको छ । यस मध्ये सबैभन्दा धेरै एक करोड २६ लाख ७९ हजार १८ फोरजी प्रयोगकर्ता रहेका छन् ।
थ्रीजीमा ५९ लाख ३१ हजार २१९, केबल तथा एफटीटीएचमा १० लाख २४ हजार ८५२, एडीएसएलमा दुई लाख ३६ हजार ३९० रहेका छन् । त्यसै गरि ईभीडीओ चलाउने एक लाख ३६ हजार ५७३ रहेको प्राधिकरणको इन्डिकेटर्समा उल्लेख छ ।
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा भने ७१ लाख दुई हजार ४७१ फोरजी तथा १८ लाख २२ हजार ४२ थ्रीजी गरी कूल डेटा तथा इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८९ लाख २४ हजार ५१३ रहेको छ । यस बाहेक विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या एक करोड तीन लाख ६९ हजार ८८३ रहेको अनुमान छ ।