• शनिबार, १२ श्रावण, २०८१
  • ०९:५७:५९

डेढ सय वर्षअघि दिल्लीमा भएका थिए यस्ता अपराध

  • Netizen Nepal
  • आइतबार, १० भदौ, २०८०- १२:१०:००/ Sunday 08-27-23

नेटिजन सम्बाददाता

काठमाडौं,१० भदौ । यो घटना सन् १८७६ को ज्यानुअरीको एउटा चिसो रातको हो। दुई थकित यात्रुहरूले दिल्लीस्थित सब्जीमन्डी क्षेत्रमा मोहम्मद खानको घरको ढोका ढकढक्याए। सब्जीमन्डी साँघुरा गल्लीहरू भएको भुलभुलैयाजस्तो ठाउँमा छ। ती यात्रु खानको घरमा एक रातका लागि बास मागे।

खानले विनम्रतापूर्वक ती अतिथिलाई आफ्नो कोठामा सुत्न दिए। तर भोलिपल्ट बिहान उनीहरू त्यहाँ थिएनन्, उनीहरूलाई सुत्न दिइएको डसना पनि त्यहाँ थिएन। खानले घरमा चोरी भएको पत्तो पाइहाले।

झन्डै १५० वर्षपछि उक्त घटना अहिले दिल्लीमा दर्ता भएका पुराना अपराधहरूको सूचीमा समाविष्ट छ। प्रहरीको वेबसाइटमा उक्त सूची केही समयअघि राखिएको हो।

यी “पुराना उजुरीहरूले” दिल्लीका ५ मुख्य प्रहरी चौकी - सब्जीमन्डी, मेहरौली, कोतवाली, सदरबजार र नाङ्गलोई - मा सन् १८६१ देखि १९०० को आरम्भसम्मको अवधिमा दर्ता भएका २९ वटा उस्तै प्रकृतिका घटनाबारे जानकारी दिन्छन्।

खानको घरमा भएको चोरीको घटनामा प्रहरीले केही मानिसलाई पक्रिएको थियो। ती सन्दिग्धहरू चोरी गरेको अभियोगमा तीन महिना जेल परे। ती उजुरीहरू उर्दू भाषा र शिकस्ता लिपिमा छन्। तिनमा अरबी र फारसी शब्दहरू पनि प्रयोग भएको देखिन्छ।

दिल्ली प्रहरीका सहायक आयुक्त राजेन्द्र सिंह कलकलले ती उजुरीहरू अनुवाद तथा सङ्ग्रह गरेका थिए। ती उजुरीबारे उनले आफैँ विश्लेषण पनि गरेका थिए। कलकलले ती अभिलेखहरूले "आफूसँग बोल्न चाहेको" अनुभूति भएको बताए। किनकि ती कागजपत्रमा जितहार र परिवर्तनका छालहरू बेहोरेको सहरका मानिसहरूको जीवनका आकर्षक पाटाहरू छन्।

"ती कागजपत्रहरू वर्तमानमा बसेर विगतमा चियाउने झ्याल हुन्," उनी भन्छन्। भएका घटनाहरूबारे उल्लेख गरिएको छ। ती उजुरी पढ्दा अलिअलि हाँसो पनि उठ्न सक्छ।

एउटा घटनामा एउटा गिरोहले एक गोठालालाई धरापमा पारेर कुटपिट गरी उसका ११० बाख्रा लुटेको देखिन्छ। तन्ना चोर्ने एउटा चोर त “४० पाइलाजति अगाडि पुगेपछि” पक्राउ परेको थियो। जुटको बोराको रेखदेख गर्ने दर्शन नामक व्यक्तिको दुःखद कथा छ जसलाई लुटेराहरूले मरणासन्न हुनेगरी कुटे र उनको सिरक र एउटा जुत्ता लिएर भागे।

भारतको विगतबारे ज्ञान भएका व्यक्तिलाई यी घटनाक्रमहरू अस्वाभाविक लाग्न सक्छ किनकि सन् १८६० को दशकमा दिल्ली डरलाग्दो स्थितिमा थियो। ब्रिटिश सत्ताले सन् १८५७ मा भएको विद्रोहलाई दमन गरेपछि मुगल शासनको अन्त्य भएको थियो।

त्यो विद्रोहलाई प्रायः भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम मानिन्छ। कुनै समय रमणीय बगैँचाहरू, सुफी भक्ति, कला र मुगल वैभवका लागि प्रख्यात उक्त सहर त्यतिबेला अस्तव्यस्त र अपहेलित अवस्थामा थियो।

कलाकार तथा इतिहासविद् महमूद फारूकीका अनुसार ब्रिटिश शासकहरूसँग मानिसहरू सम्भवतः निकै डराउने भएकाले त्यस समय जघन्य अपराधहरू हुँदैनथे। विद्रोहको कैयौँ वर्षसम्म पनि अङ्ग्रेजहरूले निकै कठोर र नियन्त्रित शासन गरेका थिए।

त्यतिबेला पुरुष, महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरिएको थियो। अधिकांश मानिसलाई सधैँका लागि दिल्ली छाड्न बाध्य पारिएको थियो। ती मानिसहरू नजिकैका गाउँहरूमा बसाइँ सरे जहाँ उनीहरू वर्षौँसम्म गरिबीमा बाँचे।

तीमध्ये केही लुकीछिपी सहरका पर्खालभित्र रहन सफल भए। यद्यपि उनीहरूलाई कुनै पनि समय गोली लाग्ने वा सुलीमा चढाएर फाँसी दिइने डर हुन्थ्यो। “यो नरसंहारको समय थियो। मानिसहरू निकै आतङ्कित र यातनाबाट पीडित थिए जसको पीडा उनीहरूले वर्षौँसम्म भोगिरहे।”

फारूकीका अनुसार भारतको अन्य सहरजस्तै कोलकाता (पहिले कलकत्ता) मा आधुनिक प्रहरी कार्यशैलीले रूप लिन थालेको थियो। तर दिल्लीमा भने मुगल शासनकै बेला लागु गरिएको पुरानो प्रणाली विद्यमान थियो। यसलाई भत्काउन वा पूर्ण रूपले विस्थापन गर्न निकै गाह्रो थियो। “त्यसैले यी दस्तावेज तथा तथ्याङ्कमा भएका विसङ्गति वा खाडलहरू प्रश्नभन्दा बाहिर छैनन्।”

दिल्ली प्रहरीको सङ्ग्रहालयमा भएका यी दस्तावेजहरू गत वर्ष मात्रै भएका थिए। सङ्ग्रहालयका कलाकृतिहरूको अनुसन्धान र संरक्षणको जिम्मेवारी सम्हालेका कलकलले एक दिन पुराना अभिलेखहरू नियाल्दै गर्दा ती दस्तावेजहरू फेला पारेका थिए।

"मैले सयौँ उजुरीहरू विस्मृतिको गर्भमा थन्किएको फेला पारेँ। ती पढ्दा मलाई तिनको ढाँचा २०० वर्षदेखि जस्ताको तस्तै रहेको भेउ पाएँ। राजेन्द्र सिंह कलकल ती सामान्य अपराधबारे पढ्दा छक्क परेका थिए। त्यो एउटा यस्तो कालखण्ड जसमा चुरोट, कमिज वा सुन्तला चोर्नु “कल्पना गर्न सकिने सबैभन्दा ठूलो दुष्कर्म” थियो।

तर सानातिना अपराधबारे उजुरी पर्नुको अर्थ त्यतिबेला जघन्य घटनाहरू हुँदैनथे भन्ने भने चाहिँ होइन। कलकल हत्याबारे पहिलो मुद्दा सन् १८६१ को सुरुतिर परेको आशङ्का व्यक्त गर्छन्। त्यतिबेला अङ्ग्रेजहरूले कानुन बनाएरै प्रहरीलाई सङ्गठित बनाएका थिए।

“हाम्रो अनुसन्धानको उद्देश्य हत्यासम्बन्धी मुद्दा खोज्नु थिएन तर पनि त्यससँग सम्बन्धित दस्तावेजहरू पनि यतै कतै छन् भन्ने कुरामा म विश्वस्त छु," उनले भने। धेरै मुद्दाको नतिजालाई "अनट्रेसेबल” अर्थात् "पत्ता लगाउन नसकिएको" चिह्न लगाइएको छ। यसको अर्थ अपराधीहरू पक्राउ पर्न सकेनन्। तर सब्जीमन्डीका मोहम्मद खानका जस्तै अन्य धेरै मुद्दामा कोर्रा हान्ने, लट्ठीले पिट्नेदेखि केही साता वा महिनाको जेल हाल्ने जस्ता सजाय सुनाइएको देखिन्छ।

यस्तै एउटा अपराध सहरको सबैभन्दा सुन्दर २३३ कोठे इम्पीरिअल होटलमा सन् १८९७ मा भएको थियो। होटलका एक भान्सेलाई सब्जीमन्डी पुलिस चौकीमा अङ्ग्रेजीमा लेखिएको “उजुरीपत्र" सहित पठाइएको थियो। उक्त उजुरीमा चोरहरूको एउटा गिरोहले अविश्वसनीय रूपमा एउटा कोठाबाट मदिराको बोतल र चुरोटको प्याकेट चोरेको विवरण उल्लेख थियो।

होटलले ती चोरहरू पक्रिने व्यक्तिलाई १० रुपैयाँ इनाम दिने घोषणा गरेको थियो। त्यतिबेला त्यो निकै ठूलो रकम थियो। तर त्यो मुद्दा त्यत्तिकै सेलायो, कहिल्यै पार लाग्न सकेन।

"हिजोआज अपराधहरू यति जटिल भएका छन् कि तिनलाई सुल्झाउन महिनौँ वा वर्षौँ लाग्छ। तर त्यतिबेलाको जीवन निकै सरल थियो। तपाईँले मुद्दाहरू सहजै सुल्झाउन सक्नुहुन्थ्यो वा सुल्झाउनै सक्नुहुन्नथ्यो,” कलकल भन्छन्।

कलकलको टोली यो सङ्ग्रह तयार पार्न सकिएकोमा निकै प्रसन्न छ। तर अनुवादको प्रारम्भिक प्रक्रिया निकै नीरस रहेको कलकल बताउँछन्। शिकस्ता लिपिमा लिखित वाक्यहरू अनुवाद गर्दा उनी धेरै पटक थाके। तर उनको टोलीले सहरका विभिन्न भागबाट उर्दू र फारसीका विद्वान् तथा मौलवीहरूसँग सहयोग लियो।

“तर हामीलाई यो प्रयास सार्थक छ भन्ने सधैँ लागिरह्यो,” उनले भने। उनी विशेषगरी एउटा उजुरीको एक अनुच्छेदबाट निकै मोहित भए जसमा चोरीको मुद्दाको अनुसन्धान गर्ने क्रममा आफ्नो प्यारो घोडा तातो घाममा बाहिर राख्न बाध्य भएपछि एक प्रहरी अधिकारी रिसाएको वर्णन छ। “यी विवरणहरू देख्दा हामीले कति प्रगति गरेछौँ भन्ने कौतूहल तपाईँमा जाग्छ, होइन त?” बीबीसी।