• शनिबार, १२ श्रावण, २०८१
  • ०९:५३:२४

२० घण्टाको रेल यात्रा गर्दै किम जङ किन गए रुस ?

  • Netizen Nepal
  • बुधबार, २७ भदौ, २०८०- १३:०९:००/ Wednesday 09-13-23

   

नेटिजन सम्बाददाता

काठमाडौं, २७ भदौ । उत्तर कोरियाली नेता किम जङ अन बुले‍टप्रूफ रेल चढेर रुस पुगेका छन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग  भेट्नका लागि रुस गएका हुन्।      

उत्तर कोरियाली नेताहरूको पुरानो परम्परा अनुसरण गर्दै किमले पनि १,१८० किलोमिटर यात्राका लागि सुस्त गतिमा गुड्ने रेलमा झन्डै २० घण्टाको यात्रा गरेर रुस पुगेका हुन्।  उक्त रेल निकै गहौँ छ र त्यो ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्छ। तुलना गरेर हेर्ने हो भने लन्डनको द्रुत गतिको रेल प्रतिघण्टा २०० किलोमिटर र जापानको शिन्कान्सेन बुलेट रेलको गति ३२० प्रतिघण्टा छ। 

निकै आरामदायी यस्ता रेलहरूमा उच्च सुरक्षा पहरा हुन्छ। यहाँ रहेका सुरक्षा अधिकारीहरूले रेलको मार्ग र आउन लागेको स्टेशनमा बम वा अन्य कुनै खतरा रहे नरहेको राम्रोसँग जाँच गर्छन्। किम चढेको रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ पनि भएको बताइन्छ।

 किम र पुटिनबीच हुने छलफलको मुख्य विषयवस्तुमा प्योङ्‌याङले मस्कोलाई युक्रेन युद्धमा सहयोग पुग्ने गरी हातहतियार दिने कुरा हुनसक्ने यसअघि एक अमेरिकी अधिकारीले सीबीएसलाई बताउनुभएको थियो। क्रेम्लिनले उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउनेबारे पनि छलफल हुनसक्ने जनाएको छ। उत्तर कोरियामा औषधि र खाद्यपदार्थसहित अत्यावश्यक सामग्रीको चरम अभाव छ। 

यसअघि किम आफ्नो अन्तिम विदेश भ्रमणमा किम रुसको भ्लाडिभोस्टक नै गएका थिए। उत्तर कोरियाको परमाणुनिरस्त्रीकरण वार्ता विफल भएपछि त्यहाँ उनको र तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट भएको थियो।

उत्तर कोरियामा सन् १९९४ देखि मृत्युपर्यन्त सन् २०११ सम्म शासन गरेका किम जङ अनका बुवा किम जङ इल विमानमा यात्रा गर्न डराउने भएका कारण रेलमा यात्रा गर्ने गरेको बताइन्छ। किम जङ इल सन् २००१ मा पुटिनलाई भेट्न मस्को जाँदा १० दिनसम्म रेलमा यात्रा गरेको विषयमा निकै चर्चित थियो।

सन् २००१ मा उत्तर कोरियाली नेताको सवारीमा साथी पठाइएका रुसी सैन्य कमान्डर कोन्स्टान्टिन पुलिकोफ्स्कीले उक्त यात्राको 'सान'बारे आफ्नो संस्मरण 'ओरिअन्ट एक्सप्रेस' मा लेखेका छन्।“त्यहाँ रुसी, चिनियाँ, कोरियाली, जापनी वा फ्रान्सेली सबै प्रकारका परिकार मगाउन सकिन्थ्यो,” उनले भनेका छन्।

उनले रुसका राष्ट्रपति पुटिनको रेलमा पनि किम जङ इलले उपभोग गरे जस्तो सुविधा नभएको उल्लेख गरेका छन्।