आज कुशे औँसी, गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड
- Netizen Nepal
- बिहीबार, २८ भदौ, २०८०- १०:२०:००/ Thursday 09-14-23

नेटिजन सम्बाददाता
काठमाडौं, २८ भदौ । आज भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा कुश भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ।
कुशे औँसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ , रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावती लगायतका तीर्थस्थलको नदी किनारमा आफ्नो पिता गुमाएकाहरूले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्ड दान दिई पितालाई सम्झनेहरूको भीड लागेको छ।