• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:०६

औषधि व्यवस्था विभागले लगायो १०३ प्रकारका एन्टिबायोटिकमा प्रतिबन्ध

  • Netizen Nepal
  • मंगलबार, २ असोज, २०८०- १२:०९:००/ Tuesday 09-19-23

नेटिजन संवाददाता
काठमाडौं,२ असोज ।  औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ ।  एन्विायोटिकको प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समूचित प्रयोगलाई बढावा दिने उद्देश्यले विभागले यस्तो निर्णय गरेको  विभागले जनाएको छ।  यी औषधिहरु  विभागका अनुसार विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र समिश्रणलाई विभागले रोक लगाउने निर्णय गरेको हो । 

'एन्टिमाइक्रोबिअल रिजिस्टन्स' वा प्रतिजैविक प्रतिरोध भनिने त्यस्तो स्थितिलाई डब्ल्यूएचओले मानवजातिले सामना गरिरहेका मुख्य १० जनस्वास्थ्य जोखिमको सूचीमा राखेको छ। डब्ल्यूएचओको सुझावबमोजिम औषधि व्यवस्था विभागले छानिएका १०३ प्रकारका औषधिमा अङ्कुश लगाएको हो।

विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
हाल बजारमा यस्ता औषधि बिक्री भइरहेको भए छ महिनाभित्र सक्नुपर्ने र छ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले अनुरोध गरेको छ ।

के हो प्रतिजैविक प्रतिरोध?

सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिनको आविष्कार गरेयता एन्टिबायोटिक औषधि मानवजातिका निम्ति जीवनदायी वरदान पुष्टि भएको छ। तर पछिल्ला वर्षहरूमा एन्टिबायोटिकको व्यापक प्रयोग आफैँमा एक किसिमको महामारी बन्दै गएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ। जथाभाबी एन्टिबायोटिक प्रयोग गर्दा समयक्रममा जीवाणुले त्यसविरुद्ध प्रतिरोध क्षमता हासिल गर्ने र त्यो बेकामे हुने खतरा बढ्छ।

ती औषधि र सम्मिश्रण उत्पादन गर्नका निम्ति कच्चा पदार्थहरूको थप/नयाँ दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र अब जारी नहुने विभागले जनाएको छ।

यी सम्मिश्रणहरूको प्रयोग औचित्यपूर्ण छैन भन्ने विज्ञहरूको सल्लाहबमोजिम नै प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न विभागले औषधि सल्लाहकार समितिको निर्णयको समेत पालना गर्दै यिनको प्रयोग र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको  बताइएको छ।  

उक्त निर्णयअनुसार हाल बजारमा उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका त्यस्ता औषधि एवं सम्मिश्रणको हकमा बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने बताइएको छ।