• आइतबार, २० असोज, २०८१
  • १२:४८:४५

मुक्ति सेनाको गोली सकिएपछि जन्मिएको रेडियो

  • Netizen Nepal
  • आइतबार, ७ असोज, २०८०- १०:३५:००/ Sunday 09-24-23

पार्वती अधिकारी

काठमाडौँ, ७ असोज । नेपालमा रेडियो प्रसारणको इतिहास हेर्दा २००३ सालमा दोस्रो विश्व युद्धबाट फर्किएका योद्धाहरुले युद्ध सञ्चारका लागि प्रयोग गरेको उपकारणमार्फत पहिलो पटक ‘नेपाल ब्रोडकाष्ट’ नाममा तत्कालिन बिजुली अड्डाबाट गरिएको इतिहास भेटिन्छ ।

२००३ साल फागुन २ गते श्री ३ महाराज पद्य शमशेरले दिएको भाषण उक्त रेडियोबाट प्रसारण भएको थियो । त्यस्तै २००५ साल साउन १८ गते काठमाडौंबाट रेडियो प्रसारण भएको कुरा २००५ साल साउन २० गतेको गोरखापत्रबाट पनि थाहा हुन्छ ।

त्यसको दुई वर्षपछि २००७ साल मङ्सिर अन्त्यतिर नेपाली काङ्ग्रसको मुक्तिसेनाका योद्धाहरुले भोजपुर कब्जा गरेपछि त्यहाँको आकाशवाणी सेटमार्फत रेडियो प्रसारण गरेको कुरा मुक्ति सेनाका कमान्डर नारदमुनी थुलुङले आफ्नो पुस्तक ‘बिर्सिएका अनुहार, बिर्सन नसकेका घटना’मा उल्लेख गर्नुभएको छ । 

मुक्ति सेनाले विराटनगरको जुटमिल क्षेत्रलाई आफ्नो हेडक्वार्टर बनाएर विराटनगर जुटमिलको सिमानामा रहेको मोरङ कटनमिल क्षेत्रबाट रेडियो प्रसारणको सुरुवात गरिएको थियो ।

तारिणी प्रसाद कोइरालाले सर्वप्रथम २००७ साल माघ २० गतेबाट प्रजातन्त्र नेपाल रेडियोका नाममा आरम्भ गरेको रेडियो प्रसारण भने अहिले पनि आधिकारिक रेडियो प्रसारणको शुरुवातको रुपमा भेटिन्छ ।  मुक्ति सेनाले विराटनगरको जुटमिल क्षेत्रलाई आफ्नो हेडक्वार्टर बनाएर विराटनगर जुटमिलको सिमानामा रहेको मोरङ कटनमिल क्षेत्रबाट रेडियो प्रसारणको सुरुवात गरिएको थियो । भारतका प्रसिद्ध उपन्यासकार फणिस्वरनाथ रेणुले समेत आफ्नो पुस्तक ‘नेपाली क्रान्ति कथा’मा कटन मिलबाटै तारिणीले प्रजातन्त्र नेपाल रेडियोको प्रसारण आरम्भ गरेको उल्लेख गर्नुभएको छ । 

रेणु अगाडी लेख्नुहुन्छ, ‘रेडियो प्रसारण हुनुभन्दा केहि दिनअघि तारिणी प्रसाद कोइराला र फणिश्वरनाथ रेणुले सङ्ग्राम समितिमा एउटा प्रस्ताव राखे । हाम्रो समधारण वायरलेसले काठमाडौं, बनारस, कलकत्ता, दार्जलिङ र गोरखपुरसम्म धान्न सक्छ । यसैलाई रेडियो ब्रोडकाष्ट किन नगर्ने ? त्यसपछि विपी कोइरालाले भारतबाट उपकरणहरु मगाएर रेडियो प्रसारणको सुरुवात गरेका थिए ।’ आवश्यक सामाग्रीहरु नेपाल भित्र्याउन फणिश्वरनाथ रेणुले निकै सहयोग गरेको कुरा विराटनगरका इतिहासकार तथा साहित्यकार दधिराज सुवेदी बताउनुहुन्छ ।

मुक्ति सेनाको गोली सकिएपछि जन्मिएको रेडियो 

त्यो दिन बेकर (विपी कोइरालाको युद्धका बेला बोलाइने नाम) निकै तनावमा थिए । शत्रुहरु जुनसुकै समयमा आएर पनि हमला गर्न सक्थे । मुक्ति सेनाको पनि जोश हराएको थियो । राणा शासन नै ढाल्ने उद्धेश्य बोकेर युद्ध मोर्चामा होमिएका व्यक्तिहरुको यसरी जोश र होस किन हरायो होला ?

तारिणी प्रसाद कोइराला सिधै हानिएर बेकर ( वि.पि.) को अफिसमा पुगे ।
‘गोली एउटा पनि छैन ?’, विपीको पहिलो प्रश्न यहि थियो ।
‘छैन । सबैले गोली मागीरहेका छन्, उनीहरुलाई के जवाफ दिने ?’ तारिणीले अर्को प्रश्न तेर्स्याए ।  
जवाफ दुवैजनासंग थिएन ।  
‘गोली त भोली मात्र आइपुग्छ । त्यो बेलासम्म जसरी पनि शत्रुलाई मुक्ति सेनाको घेरा तोडेर आउन दिनु हुन्न’, विपीले भने ।  
तारिणी नाजवाफ थिए ।  
त्यसपछि वि.पि. सुत्न गए । तारिणी जुरुक्क उठे र कोठाबाट बाहिरिए । उनलाई चिन्ता थियो कि विपी कोइराला हत्तपत्त दिउँसै सुत्दैनन् । तनाव धेरै नै भयो भने उनको दिउँसै मस्त सुत्ने बानी थियो । भारी मन लिएर वायरलेसको बाटो हुँदै पाइला अगाडी बढाउँदै गर्दा उनलाई लाग्यो, ‘के गोली, बारुद भएन भने युद्ध लड्न सकिंदैन ? सत्रुलाई परास्त गर्न गोलीबाहेक के प्रयोग गर्न सकिन्छ ?’  
बाटैमा वायरलेसको अफिस थियो । वायरलेसबाट आएको आवाजले तारिणी टक्क अडिए । वायरलेसमा भोजपुरका मुक्ति सेनासंग कुरा हुँदै थियो । ‘तपाईंहरु निश्चिन्त रहनुहोस् । हाम्रा सिपाहीहरु उत्साही छन् । विराटनगरबाट गई तमरमा रोकिएका सिपाहीहरुलाई हामी यताबाट मद्धत पुर्याउँछौं’, भोजपुरबाट आवाज आयो । 

तारिणीलाई त्यो आवाजले निकै ठुलो बल दियो । अझ भनौं त्यो बोलीले नै गोलीको अभावले दिएको केहि तनाव कम भयो । तारिणी थ्याच्च कुर्सीमा बसे । त्यसपछि उनले माइक उठाएर भोजपुरलाई  भने, ‘ यहाँको मोर्चा पनि बलियो छ । सायद आज हामी शत्रुको मोर्चाभित्र पस्छौं । भोलिसम्म विराटनगर मोर्चा शान्त हुन्छ, अनि कोशी तर्ने बस्दोबस्त गर्छौं । आज एक्कासी शत्रुको मोर्चामा हमला गर्नुछ । आज मुक्ति सेनामा ३०० भोलेन्टियरले नाम लेखाए । सबलाई हतियार बाँड्दैछन् । पहिले गोलीको कमि थियो, अब त्यो पनि पुरा भयो । अब हामी भोलि या पर्सि धनकुटामा भेटौंला । जय नेपाल ।’ 

वायरलेस कोठाका अपरेटरहरु आश्चर्यचकित भएर तारिणीलाई हेरे । कुरा सकिनासाथ एकजना अप्रेटरले ट्रान्समिटरको स्विच बन्द गरिदिए । त्यहाँ भएका मानिसहरुले उनलाई घेरेर भने ‘गज्जब गर्यौ तारिणी , गज्जब गर्यौ । हजारौं गोली एकैपटक पड्कायौ, शत्रुको होस उड्यो होला । अब आज राति हामीलाई ढुक्क भो ।

वायरलेस कोठाका अपरेटरहरु आश्चर्यचकित भएर तारिणीलाई हेरे । कुरा सकिनासाथ एकजना अप्रेटरले ट्रान्समिटरको स्विच बन्द गरिदिए । त्यहाँ भएका मानिसहरुले तारिणीलाई घेरेर भने ‘गज्जब गर्यौ तारिणी , गज्जब गर्यौ । हजारौं गोली एकैपटक पड्कायौ, शत्रुको होस उड्यो होला । अब आज राति हामीलाई ढुक्क भो । हामी कुनै बेला पनि हमला गर्न सक्छौं भनेर शत्रुहरु रातभरि मोर्चामा सास बाँधेर पर्खिरहनेछन् । हाम्रो मोर्चाभित्र आउने प्रयत्न पनि गर्ने छैनन् ।’

अर्का व्यक्तिले थपे, ‘र हाम्रा समर्थकहरु, जसले अहिले रेडियो खोलेर सुनिरहेका होलान्, झन् उनिहरुलाई कति बल मिल्यो होला । वन्डरफुल किया तारिणी तुमने । गजबका गोली चलाया ।’

त्यसपछि तारिणीलाई लाग्यो वायरलेसबाट मानिसको घरघरमा आवाज पुर्याउन सकिन्छ भने यसलाई नै रेडियो स्टेशन किन नबनाउनु ? तारिणीले वायरलेसलका अप्रेटरसंग आफ्ना योजना बताउँदै भने, ‘आज दुई बजे दिउँसोदेखि म ब्रोडकाष्ट गर्छु । सारा देशबासीलाई मोर्चाको खबर बताउँछु । जोशिला गीत सुनाउँछु । क्रान्तिका निम्ति अह्वान गर्छु र राणा शाहीहरुलाई तिमी जहाँ छौ त्यहिं खतम गरेर देशलाई मुक्त गर भन्ने नारा सुनाउँछु । आजदेखि म ब्रोडकाष्ट गर्छु ।’ 

अभाव नै आविष्कारको जननी हो भन्ने उक्ति रेडियो प्रसारणको सुरुवात गर्दाको क्षणसंग मिल्न जान्छ । नभन्दै उनले दिउँसो दुई बजे माइक समाएर भने ‘यो प्रजातन्त्र नेपाल रेडियो हो । हामी मुक्ति सङ्ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौं ।’ 
यहि आवाजबाट सुरु भएको प्रजातन्त्र नेपाल रेडियो आज रेडियो नेपालको रुपमा सात दशक बिताएर प्रसारण भइरहेको छ ।

प्रजातन्त्र स्थापनामा रेडियोको भुमिका 

प्रजातन्त्र नेपाल रेडियोबाट निरन्तर समाचार र जोश चढाउँने खालका गीतसङ्गीत तथा सामाग्रीहरु प्रसारण हुन्थ्यो । प्राय सबै गीतसङ्गीत र सबैखाले कार्यक्रमहरु प्रत्यक्ष प्रसारण हुन्थे । समाचारहरुमा पनि केहि झुटा र केहि साँचो समाचारहरु प्रसारण हुन्थ्यो । तारिणीकी बहिनी इन्दिरा आचार्यलाई उदृत गर्दै तारिणीकी बुहारी इन्दिरा आचार्य भन्नुहुन्छ, ‘तारिणी बुबाले पुरै पप्रोगान्डा मच्चाउने किसिमका समाचारहरु भन्नुहुन्थ्यो । उहाँ झुट पनि बोल्न सक्नुहुन्थ्यो, साँचो पनि बोलिदिनुहुन्थ्यो । अझ हामीलाई पनि त्यसरी नै समाचार भन्न लगाउनुहुन्थ्यो । हामीलाई उहाँलाई जसरी झुट बोल्न आउँदैनथ्यो ।’ 

प्रजातन्त्र नेपाल रेडियोको प्रभाव काठमाडौंमा यति परेको थियो कि पसलहरुको बाहिर रेडियो सुन्ने मानिसको अपार भिड लाग्ने गर्थ्यो । कहिलेकाहिं त त्यो भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्नुपर्थ्यो । 

रेडियोमार्फत राणा विरुद्धका आवाज निकै जोशका साथ बज्थ्यो । राणाहरुले मानिसहरुले रेडियो सुन्न नसकुन् भनेर विद्युतको लाइन नै काटिदिएका थिए । यस्तै, आफ्नो बेइज्जती सुन्न नसकेर त्यतिबेलाका कमान्डर इन चिफ बबर शमशेरले रेडियो फुटाएर चक्नाचुर बनाइदिएका थिए  ।

रेडियो प्रसारणका माध्यामबाट नै कैयौं स्थानहरु यसै कब्जा हुन्थे । एकपटक विराटनगर कब्जा गरिसकेपछि धरान र धनकुटाका शासकहरुका नाममा निरन्तर सुचना जारी भयो । ‘यदि तपाईंहरुले आत्मसमर्पण गर्नुभएन भने विराटनगर र मोरङको नियति भोग्नुपर्ला । त्यहाँ सयौं मानिसको ज्यान गयो । तैपनी उनिहरुले हारे । त्यसैले तपाईंहरु आत्मसमर्पण गर्नुहोस् ।’ नभन्दै धरान धनकुटाका शासकहरुले आत्मसमर्पण गरेको कुरा रेणुले आफ्नो पुस्तक नेपाली–क्रान्ति कथामा उल्लेख गरेका छन् । रेडियोकै कारण धेरै स्थानहरुमा मुक्ति सेनाले विना गोली, बारुद र विना क्षतिमै जित हाँसिल गर्ने गरेको वरिष्ट पत्रकार कमल कोइराला बताउनुहुन्छ । 

‘पहिला नेपालको घडी पनि भारतकै समयअनुसार चल्थ्यो । प्रजातन्त्र नेपाल रेडियोको सुरुवात भएपछि तारिणी प्रसाद कोइरालाले नेपालको छुट्टै समयको सुरुवात गरे भन्ने कुरा मैले सुनेको हुँ । मलाई पनि यो कुरा हो कि जस्तो लाग्छ, किनकी आसाममा नेपालमा भन्दा धेरै छिटो घाम लाग्छ तैपनि त्यहाँको समय नेपालको भन्दा १५ मिनेट ढिला छ ।’

प्रजातन्त्र नेपाल रेडियोको स्थापना हुनुअघि नेपालको आफ्नै घडी नभएको वरिष्ठ पत्रकार कमल कोइरालाको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘पहिला नेपालको घडी पनि भारतकै समयअनुसार चल्थ्यो । प्रजातन्त्र नेपाल रेडियोको सुरुवात भएपछि तारिणी प्रसाद कोइरालाले नेपालको छुट्टै समयको सुरुवात गरे भन्ने कुरा मैले सुनेको हुँ । मलाई पनि यो कुरा हो कि जस्तो लाग्छ, किनकी आसाममा नेपालमा भन्दा धेरै छिटो घाम लाग्छ तैपनि त्यहाँको समय नेपालको भन्दा १५ मिनेट ढिला छ ।’

स्रोत साधनको सिमितताका बीच तरिणीले युद्धका बेला रेडियोको सबै सामाग्रीहरु बोकेर सिंघिया नदीको किनारमा लगि प्रत्यक्ष प्रसारण गर्नुभएको थियो । जुन कुरा अहिलेको डिजिटल प्रविधिको युगमा अपत्यारिलोसमेत लाग्न सक्छ । तर यो कुरा वास्तविक भएको रेडियो नेपालका पुर्व नायव कार्यकारी निर्देशक महेश प्रसाद अधिकारी बताउनुहुन्छ । ‘रेडियो नेपालमा २०२६-२७ सालतिर पनि प्रत्यक्ष प्रसारण गर्नुपर्यो भने हामी एउटा सानो ट्रान्समिटर बोकेर घटनास्थलमा पुग्थ्यौं र त्यहिंबाट प्रसारण गथ्र्यौं । त्यसैले तारिणीले पनि सोहि उपकरण प्रयोग गरेर त्यहाँ प्रत्यक्ष प्रसारण गर्नुभएको हो । यो असम्भव कुरा होइन’, उहाँले भन्नुभयो । 

नेपाली काङ्ग्रेसको पहिचानका रुपमा रहेको ‘जय नेपाल’ शब्द छिटोभन्दा छिटो आम मानिससामु पु¥याउनका लागि पनि प्रजातन्त्र नेपाल रेडियोको ठुलो हात भएको नेपाली काङ्ग्रेसका नेता पुरुषोत्तम बस्नेतले ‘तारिणी प्रसाद कोइराला–एक दृष्टि अनेक स्मृति’ नामक पुस्तकम उल्लेख गर्नुभएको छ । उहाँका अनुसार प्रजातन्त्र नेपाल रेडियो थिएन भने थाहा छैन नेपाली काङ्ग्रेस पार्टी नै जनतामाझ पुग्न अझै कति समय कुर्नुपथ्र्यो । रेडियोका माध्यामबाट धेरै मानिसलाई एकैचोटी प्रजातन्त्र र मुक्ति सङ्ग्रामको बारेमा बुझाउन छिटो र सजिलो भयो । 

प्रजातन्त्र नेपाल रेडियोबाट ‘रेडियो नेपाल’

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको १३ दिनपछि अर्थात २००७ साल चैत २० गतेदेखि काठमाडौंबाट सरकारी रेडियोका रुपमा प्रजातन्त्र नेपाल रेडियोको प्रसारण आरम्भ भयो । नेपालको औपचारिक रेडियो प्रसारणको सुरुवातकर्ता तथा  निर्देशक उनै तारिणी प्रसाद कोइराला नै हुन् । वि.पि.को आग्रहमा तारिणीले काठमाडौंको सिंहदरबार स्थित राणाहरुका छोराछोरीलाई पढाउँने घरबाट रेडियो प्रसराण  शुरु गरिएको थियो । उक्त घर अहिले पनि रेडियो नेपालकै सम्पतीको रुपमा रहेको छ । तर २०७२ सालको भूकम्पले यो घर भत्काएपछि यासको नव निर्माण गरिएको छ । प्रजातन्त्र नेपाल रेडियोको नाम काठमाडौंमा प्रसारण सुरु भएको केहि दिनमा नेपाल रेडियो राखियो । २००८ साल असार १५ गतेदेखि यसको नाम ‘रेडियो नेपाल’ बनाइयो ।  ‘रेडियो नेपाल’ नाम राखिएको सम्बन्धमा रेडियो नेपालका त्यसबेलाका कार्यकारी निर्देशकले दिएको सुचना २००८ साल असार १५ को गोरखापत्रमासमेत छापिएको थियो  । 

प्रजातन्त्र नेपाल रेडियोको नाम काठमाडौंमा प्रसारण सुरु भएको केहि दिनमा नेपाल रेडियो राखियो । २००८ साल असार १५ गतेदेखि यसको नाम ‘रेडियो नेपाल’ बनाइयो ।

२००८ साल मंसिरमा वि.पि. सरकारबाट हटेपछि त्यसको केहि समयपछि तारिणीले पनि रेडियो नेपालबाट राजीनामा दिनुभयो । तर त्यो राजीनामा दिनुको कारण राजनीतिक असहजता खासगरी मातृका प्रसाद कोइरालाको दबाब थियो भन्ने कुरा तारिणीका लेखहरुले स्पष्ट पार्छ । तरिणीले रेडियो नेपाल छाडेको मिति स्पष्ट नभए पनि उहाँले २००८ सालको झंकारको फागुन (११ औं अंक)सम्म सम्पादकीय लेख्नुभएकाले फागुनसम्म काम गरेर रेडियो छाडेको अनुमान लगाउन सकिन्छ । उहाँले रेडियो छाड्नुको मुख्य कारण नैतिक दवाब नै भएको कुरा झंकारको विणा १ कम्पन ११ मा प्रकाशित सम्पादकीयबाट प्रष्ट हुन्छ । त्यहाँ उहाँले आफ्नो असन्तुष्टि यसरी व्यक्त गर्नुभएको छः

‘मुक्ति सङ्ग्रामको जुन वीर सिपाहीले ज्यान र सर्वस्व दिएर नेपाल रेडियोको निर्माण गर्यो उ आज हटाईंदैछ, हुकुमी अविश्वासमा । किन रे भने आफ्नो देशमा परदेशीले मनपरी रजाईं गर्यो भन्ने कुरामा विरोध दर्सायो रे भन्ने निहुँले । सबै देशमा आफ्नो देशको घरेलु स्वतन्त्रतालाई धमिल्याउन खोज्यो भने बोल्ने अधिकार छ तर यहाँ बोल्न नहुने कानुन बनाइएको छ । भनौं, यहाँ विदेशी सुरक्षा कानुन लगाइएको छ । आज कसैको खटनमा देशको घरेलु नीति चलिरहेको छ । कत्रो खेदको कुरा हो ।’

परिवर्तनको संवाहक 

पुरातनवादी सोच र समाजमा जगडिएका अन्धविश्वासहरुलाई चिर्न त्यति सजिलै सकिंदैन । त्यसैले नै परिवर्तनका लागि क्रान्तिको आगो सल्काइन्छ । तारिणी प्रसाद कोइराला पनि देशको राजनैतिक अवस्था परिवर्तनका लागि आफ्नो ज्यानको बाजी राखेर युद्धमा होमिए । नेपालमा सञ्चारका माध्यामका रुपमा चिठीपत्र र सिमित पत्रपत्रिकाहरु भएको त्यो युगमा प्रसारण पत्रकारिताको अभ्यासको सुरुवात गरे । वरिष्ट पत्रकार कमल कोइराला २००७ सालको क्रान्ति र प्रजातन्त्र स्थापनामा रेडियोको भुमिका अतुलनिय रहेको बताउँनुहुन्छ । प्रजातन्त्र स्थापनापछि पनि उहाँले रेडियोलाई विकासको संवाहकका रुपमा अगाडी बढाउँदै जनतालाई सुसुचित गराउँने काम गर्नुभयो । रेडियो छाडिसकेपछि पनि विभिन्न पत्रपत्रिकामार्फत राज्य व्यवस्था र संविधान सभाको चुनाव हुनुपर्ने विषयमा सरकारलाई दबाव दिने र जनतालाई झकझकाउने काम गरिरहनुभयो । 

सम्पादकिय लेखेकै भरमा तरिणीको दियालो पत्रिका बन्द गरियो । उक्त पत्रिकाको प्रतिबन्ध फुकुवा गनुपर्ने माग राख्दै काठमाडौंका जनता स्वःस्फुर्त सडकमा उर्लिए । त्यस आन्देलनमा कुनै पार्टीको सहभागिता थिएन । सिर्फ जनता थिए । नेपालको इतिहासमा पत्रिका बन्द भएपछि जुलुस निस्किएको त्यो नै पहिलो घटना थियो ।

संस्कृतिविद हरिराम जोशीका अनुसार २०१२-१३ मा सरकारले संविधान सभाको पहल नगरेको भन्दै सम्पादकिय लेखेकै भरमा तरिणीको दियालो पत्रिका बन्द गरियो । उक्त पत्रिकाको प्रतिबन्ध फुकुवा गनुपर्ने माग राख्दै काठमाडौंका जनता स्वःस्फुर्त सडकमा उर्लिए । त्यस आन्देलनमा कुनै पार्टीको सहभागिता थिएन । सिर्फ जनता थिए । नेपालको इतिहासमा पत्रिका बन्द भएपछि जुलुस निस्किएको त्यो नै पहिलो घटना थियो । उक्त जुलुसमा आफु पनि सहभागी भएको उहाँ स्मरण गर्नुहुन्छ । यसका साथै तारिणीले पत्रिकामा हास्य शैलिका पत्रोत्तर तथा विभिन्न सामाग्रीहरुमार्फत पत्रकारितालाई फरक शैलिमा उभ्याउँने प्रयास  गरिरहनुभयो । पत्रिकामा कमर्सियल विज्ञापन छपाई व्यवसाय प्रवर्द्धन र सामाग्रीहरुका बारेमा उपभोक्तासम्म जानकारी पुर्याउने कामको थालनी गर्नुभयो । जसबाट पत्रकारितालाई सेवा मात्र नभई आयआर्जनको माध्यामको रुपमा समेत विकास गर्न खोजेको देखिन्छ । 

तारिणीले रेडियो नेपाललाई स्थायित्व दिन अहोरात्र खट्दै गर्दा समाजमा व्याप्त अन्धविश्वास, कुसंस्कार, छुवाछुत र जातभातजस्ता कुरीतिलाई हटाई सामाजिक रुपान्तरणद्वारा सभ्य समाजको स्थापनामा जोड दिनुभएको कुरा रेडियो नेपालका प्रथम गायक हरि प्रसाद रिमालको अनुभवबाट थाहा हुन्छ । रिमाललाई उदृत गर्दै ‘तारिणी प्रसाद कोइराला, एक दृष्टि अनेक स्मृति’ पुस्तकमा पत्रकार शुशील कोइराला लेख्नुहुन्छ, ‘रेडियोमा बाजा बजाउँने दलित समुदाका मानिसहरु थिए । दलितहरुलाई छुन हुँदैन भन्ने त्यस्तो अन्धविस्वासी समयमा हामी रेडियोमा काम गर्ने सबैजना संगै बसेर खाजा खान्थ्यौं । मलाई लाग्छ, छुवाछुतको भेदभावको अन्त्य गर्न सबभन्दा पहिले अग्रसर हुने रेडियो नेपाल नै हो र कार्यक्रम पनि त्यस्तै छुवाछुत अन्त्य तर्फ उन्मुख हुन्थे ।’

छुवाछुतको भेदभावको अन्त्य गर्न सबभन्दा पहिले अग्रसर हुने रेडियो नेपाल नै हो र कार्यक्रम पनि त्यस्तै छुवाछुत अन्त्य तर्फ उन्मुख हुन्थे ।’

यस्तै छोइछिटो अन्त्यबारे पनि रिमालको भनाई उल्लेख गर्दै पत्रकार कोइराला लेख्नुहुन्छ, ‘महिलाहरु रजस्वला हुँदा ४-५ दिन अलग्गै बस्ने चलन अहिले त छ भने त्यो बेला के होला ? तर रेडियो नेपालमा महिला पुरुषसंगै बसेर काम गर्ने, खाने हुनाले त्यो कुराको बारना नै हुँदैनथ्यो । पुरानो संस्कार तोड्न त गाह्रो हुन्छ । कोही कोही खासखुस पनि गर्थे ।–होइन यी आइमाई नछुने हुँदैनन् कि क्या हो ? तर जे भए पनि यस्ता कुसंस्कारलाई हटाउँन प्रयास गर्ने रेडियो नेपाल नै पहिलो हो ।’    

अलौकिक प्रतिभाका धनी तारिणी 

तारिणी प्रसाद कोइराला नेपालको रेडियो प्रसारणका सुरुवातकर्ता मात्र होइनन् । प्रजातन्त्र स्थापनाका लागि ठुलो योगदान दिने मुक्तिसेना पनि हुन् । उहाँ जुटमिलको मजदुर आन्दोलनको अगुवाइ गरेका कारण २००३ साल देखि २००६ सालसम्म जेल पर्नुभएको थियो । छुट्नेबित्तिकै पुनः प्रजातन्त्रको उद्धेश्य प्राप्तिमा तल्लिन रहनुभयो । अन्ततः २००७ साल फागुन ७ गते १०४ वर्षे राणा शासनबाट जनताले मुक्ति पाए ।

रेडियो नेपालको मुखपत्र झंकार तारिणीले नै शुरुवात गर्नुभएको हो । जुन आजसम्म पनि प्रकाशन हुँदै आएको छ  । रेडियो छाडेपछि पनि उहाँले आँधी, हुरी, तुफान, कल्पनालगायतका पत्रिकाहरु प्रकाशनमा ल्याउनुभएको थियो । सरकारका गतिविधिहरुका बारेमा खरो टिप्णी गर्दै सत्यतथ्य कुरा जनतासामु प्रस्तुत गरेको भन्दै तात्कालिन सरकारले पत्रिकामाथि प्रतिबन्ध लगाउँथ्यो । फेरि उहाँ अर्को पत्रिका निकाल्नुहुन्थ्यो । तारिणीको सञ्चार शीप र कौशल बुझेरै पञ्चायतकालमा राजा महेन्द्रले उहाँलाई गिरफ्तार गरेको तात्कालिन गृहमन्त्री विश्वबन्धु थापा बताउँनुहुन्छ । 

तारिणीको सञ्चार शीप र कौशल बुझेरै पञ्चायतकालमा राजा महेन्द्रले उहाँलाई गिरफ्तार गरेको तात्कालिन गृहमन्त्री विश्वबन्धु थापा बताउँनुहुन्छ । 

वरिष्ठ पत्रकार भैरव रिसाल तारिणीले नेपालको प्रसारण पत्रकारितामा गरेको योगादन अतुलनीय रहेको भन्दै उहाँ आफ्नो पनि गुरु भएको बताउनुहुन्छ । ‘उहाँ नेपालको प्रसारण पत्रकारिताका पितामह हुनुहुन्छ’, उहाँले भन्नुभयो । तारिणीले प्रसारण पत्रकारिता मात्र होइन । छापा पत्रकारितामा  पनि ठूलो योगादन दिनुभएको छ । 

२०१७ सालमा जेल पर्नुभएका तारिणी २०२४ सालमा मात्र रिहा हुनुभयो । कठोर जेलजिवनका कारण दम, इन्फेसिमा, स्पेन्डोलाइटिस र लिवर सिरोसिसजस्ता गम्भिर रोगहरुले ग्रसित उहाँको  २०३१ सालमा भारतको सरसुन्दरलाल अस्पतालमा निधन भयो । उहाँको निधनसंगै उहाँका सबै योगादनहरु राज्यले समेत विर्सिएको परिवारका सदस्यको गुनासो छ । विपीकी बुहारी शुस्मा कोइराला यस बारेमा भन्नुहुन्छ, ‘उहाँ निकै प्रतिभाशाली व्यक्ति भएर पनि सधैं ओझेलमा मात्र पारियो । त्यो व्यक्तिले दियो मात्र, केहि लिएन । तर आज उसैलाई इतिहासले बिर्सिएको छ ।’