काठमाडौंमा कोरियन सांस्कृतिक साँझ सम्पन्न
- नेटिजन संवाददाता
- बिहीबार, ७ मङ्सिर, २०८०- १०:४९:००/ Thursday 11-23-23
काठमाडौं। गणतन्त्र कोरियाको नेपालस्थित राजदुतावासले यहि मंसिर ६ गते ठमाडौंमा आयोजना गरेको कोरियन सांस्कृतिक साँझ सम्पन्न भएको छ । उक्त कार्यक्रममा गणतन्त्र कोरियाको परम्परागत भेषभुसा प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली, कोरियन तथा अमेकिन कलाकारहरुले सांगितिक प्रस्तुति गरेका थिए भने राष्ट्रिय प्रहरी प्रतिष्ठानका खेलाडीहरुले तेक्वान्दो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदुत पार्क थेमंगले नेपाल र कोरियावीच दौतत्य सम्बन्ध स्थापित भएको ५० वर्ष पुग्नै लाग्दा दुइदेशको सम्बन्ध विस्तार भएर नागरिकस्तरमा पुगेको बताउँनुभयो । उहाँले यस्ता कार्यक्रमले दुई देशको आपसी सम्बन्धलाई नागरिकस्तरमा विस्तार गर्न थप मद्धत पुग्ने बताउनुुभयो । राजदुत थेमंगले दुई देशको यो सम्बन्धलाई अझ मजबुत बनाउँन आगामी दिनमा पनि कोरिया नेपालको बलियो विकास साझेदारको रुपमा उभिने समेत बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले राजनीतिक र कुटनीतिक रुपमा शुरु भएको दुई देशको सम्बन्ध पछिल्लो समयमा जनस्तरको सांस्कृतिक आदान प्रदान मार्फत झन् बढ्दै गएकोमा खुसी व्यक्त गनुभयो । उहाँले कोरियाले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै पछिल्लो समयमा इपिस मार्फत नेपालले आर्थिक विकाससंगै कोरियाको सीप, प्रविधि र कार्यशैली समेत भित्र्याई ठूलो लाभ लिन सकेको बताउनुभयो । सुवेदीले दुई देशको यो सम्बन्धलाई आगामी दिनमा सांस्कृतिक आदान प्रदानबाट अझ व्यापक बनाउँनका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सरकारी, सामाजिक क्षेत्र, व्यापारी तथा संचार क्षेत्र लगायतका विभिन्न व्यक्तिको उपस्थिति थियो । उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा तेक्वान्दो प्रस्तुति संगै नेपाली चामलको प्रयोग गरेर बनाइएको कोरियन डेजर्टको समेत प्रदर्शन गरिएको थियो ।