• आइतबार, १६ बैशाख, २०८१
  • ११:०५:२४

शिवालय आधारभूत विद्यालयमा यसरी सुध्रियो कम्प्युटर शिक्षा

काठमाडौँ । बागलुङ्ग जिल्लाको काठेखोला गाउँपालिका वडा नं.२ भिमपोखरामा अवस्थित शिवालय आधारभूत विद्यालयमा २०६५ सालदेखि नै कम्प्युटर विषय पठनपाठन शुरु भए पनि विद्यालयमा दक्ष शिक्षकको अभाव भइरहन्थ्यो । २०७४ सालमा कम्प्युटर विषयको शिक्षिकाका रुपमा नेत्रा विश्वकर्मा जोडिइन् । शिक्षा शास्त्र संकायअन्तर्गत स्नातकसम्मको अध्ययन गरेकी नेत्रलाई पनि कम्प्युटरसम्बन्धी आधारभुत ज्ञानमात्र थियो । पढेको विषय र पढाउनुपर्ने विषय फरक भएकाले उनलाई यो विषय पठाउँन निकै कठिन भयो ।

बल्लबल्ल आफ्नै गाउँठाउँमा पाएको जागिर गुमाउनु नपरोस् भनेर उनी साथीहरुको सहयोगले जसोतसो पढाउँने गर्थिन् । तैपनि कक्षामा पढाएर बाहिर निस्कँदा उनलाई राम्ररी बुझाउँन सकें या सकिनँ भन्ने कुरामा द्विविधा भइ नै रहन्थ्यो ।

तर अहिले भने नेत्रा सक्षम कम्प्युटर शिक्षिका भएकी छन् । आफ्नो विषय पढाउँदा आत्मविश्वासका साथ विद्यार्थीलाई बुझाएर पढाउँछिन् । गुगल क्लास रुम शैक्षिक एपको प्रयोग गरेर विद्यार्थीहरुलाई पढाउँछिन् । कम्प्युटरबाटै लेसन प्लान तयार गर्ने, प्रश्नपत्रहरु तयार गर्ने र गुगलबाट नयाँ–नयाँ कुराहरु खोजेर कक्षा ६,७ र ८ कक्षाका विद्यार्थीहरुलाई पढाउँछिन् ।

२०७९ सालमा सिकाइ परियोजनाले स्थानीय शिक्षकका लागि गाउँपालिकामा आयोजना गरेको दुईदिने प्रविधिमैत्री शिक्षण तालिम उनका लागि यो सिप विकासको ढोका खोलेको नेत्रको भनाइ छ । ‘यो २ दिने तालिममा प्रविधिसम्बन्धी धेरै व्यवहारिक कुराहरु सिकाइएको थियो । तालिमपछि मैले आफुलाई गाह्रो लागेका विषयवस्तुहरु गुगलमा खोज्ने तरिका पनि सिकें । अहिले म विद्यार्थीलाई सिकाउनु पर्ने विषयवस्तु खोजेर पहिला आफु प्रष्ट हुन्छु, अनि उनीहरुलाई बुझउँछु । तालिम लिनुअघि गुगलबाट चाहेको विषयवस्तु खोज्ने तरिका पनि थाहा थिएन’, उनले भनिन् ।

तालिम लिएपछि विषयबस्तुको बुझाई र अध्यापन सीपमा बृद्धि भएको बताउँदै उनले थपिन्, ‘तालिममा जुम र गुगल कक्षामा विद्यार्थीहरुलाई जोडेर कसरी पढाउँने ? प्रोजेक्टरको प्रयोग गरेर पढाउँने तरिका सिकाइएको थियो । यही सिकाइ नै मेरा लागि आफूलाई सक्षम कम्प्युटर शिक्षिका बनाउँने ढोका बन्यो । कोरोना महामारीका बेला मलाई जुम र गुगल क्लास रुम केही चलाउँन आउँदैनथ्यो । त्यो भन्दा अघि नै तालिम पाएकी थिएँ भने बालबालिकालाई घरमै बसीबसी सिकाउन सक्ने थिएँ । अब भने भर्चुअल क्लास, मिटिंग, छलफल समेत चलाउँन सक्ने भएको छु ।