• शनिबार, १२ श्रावण, २०८१
  • १०:०५:४०

मापसे र लापसे चेकिङबाट ४ करोड राजश्व संकलन

काठमाडौं । नेपाल प्रहरीले गत ६  महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २ ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २ सय ४२ चालक पनि कारबाहीमा परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट रु  करोड राजश्व सङ्कलन भएको जानकारी दिनुभयो ।

यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उहाँले बताउनुभयो ।

लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ ।

सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो रहेको प्रहरीको निष्कर्ष छ ।

त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्दै मापसे र लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी कार्यान्वयन गर्दै आएको छ ।

“दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनका लागि प्रत्येक चालकले सही अवस्थामा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक छ”, प्रहरीका केन्द्रीय प्रवक्ता ढकालले भन्नुभयो ।

चालु आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार ६ सय २७, कोशी प्रदेशमा २ हजार ५ सय २४, मधेशमा २ हजार २१, बागमतीमा १ हजार ९८, गण्डकीमा ८ हजार ९ सय २३, लुम्बिनीमा २ हजार ७ सय ७३, कर्णालीमा १ हजार २ सय ६४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारबाहीमा परेका उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाका धेरै ठाउँमा सवारी साधन जाँच गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेकाले पछिल्लो समयमा चालक सजग र सचेत हुन थालेका बताउनुभयो ।

उहाँका अनुसार उक्त कारबाही अभियानमा काठमाडौँ उपत्यकामा रु १ करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा रु २५ लाख ३९ हजार ५ सय, मधेशमा रु २० लाख ४२ हजार ५ सय, बागमतीमा रु ११ लाख १७ हजार, गण्डकीमा रु ९५ लाख ६८ हजार, लुम्बिनीमा रु २७ लाख ७३ हजार, कर्णालीमा रु १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा रु २० लाख ४२ हजार राजश्व सङ्कलन भएको छ ।