वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
-
नेटिजन संवाददाता
- बिहीबार, २५ माघ, २०८०- ११:४९:००/ Thursday 02-08-24

काठमाडौं। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार ८ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् ।
श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताउनुभयो ।
“चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ”, उहाँले भन्नुभयो, “विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो”, उहाँका अनुसार “भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार ५ सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।”
आर्थिक वर्ष २०७९-२०८० मा नेपालबाट ७ लाख ७१ हजार ३ सय २७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै १ लाख १६ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८ सय २३ जना छन् । धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जानकारी दिनुभयो । यहाँबाट अघिल्लो आवमा १ हजार १ सय ६१ जनाले राहदानी बनाएका थिए ।
चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार ५ सय ६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट २ हजार १ सय २७, इच्छाकामना गाउँपालिकाबाट १ हजार ८, रत्ननगर नगरपालिकाबाट १ हजार ४ सय ७१, कालिका नगरपालिकाबाट १ हजार ६ सय ७९, खैरहनी नगरपालिकाबाट १ हजार ६ सय ८ र राप्ती नगरपालिकाबाट १ हजार २ सय ९१ जनाले श्रम स्वीकृत लिएका छन् ।
वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिनेसमस्या रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा १ सय ३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो । “अवैधरुपमा विदेश जानेको सङ्ख्या पनि कमी छैन ।
भारतमा जानेको सङ्ख्या उत्तिकै छ”, उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जङ्गललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौँ ।” वैदेशिक रोजगार देशव्यापी समस्या रहेको उहाँले बताउनुभयो ।