• आइतबार, ७ पौष, २०८१
  • ११:५८:२३

बिजुलीजस्तै;—बिजुली बस

छिटो अर्थात् उज्यालो भन्ने अर्थ बुझाउन प्रयोग गरिने शब्द बिजुलीबाट हामी अपरिचित छैनौँ । कुनै समय २३ घण्टा अँध्यारोमा बस्न बाध्य हामी नेपाली प्रकृतिले दिएको प्रशस्त पानीको उपयोग गरेर बिजुलिमा आत्मनिर्भर मात्र नभएर छिमेकी मुलुक भारत बाङ्लादेशतर्फ निर्यातसम्म गर्ने भएका छौँ । कुनै समय बाल्नका लागी मात्र उपयोग हुने बिजुली अहिले विद्युतीय ऊर्जाका रुपमा प्रयुक्त हुन थालेका छन् । राज्यले बोलीमा पेट्रोल डिजेल गाडीहरू बिस्तारै विस्थापन गरेर विद्युतीय सवारी साधन भित्र्याउन प्रोत्साहन गर्ने भने पनि हरेक वर्ष हुने बजेट भाषणले सीमित व्यापारिक घरानालाई मात्र फाइदा पुग्ने गरी भन्सार नीति अख्तियार हुनुले प्रोत्साहन नभएर निरुत्साह बनाएको अवस्था छ र पनि बजारमा उल्लेख्य सङ्ख्यामा बिजुली गाडीहरू देखिनुलाई सुखद सुरुवात मान्नु पर्छ । 


यहाँ सार्वजनिक यातायात अन्तर्गत साझाले सञ्चालनमा ल्याएको बिजुली गाडीको केही प्रसङ्ग राख्ने जमर्को गरेको छु । सर्वप्रथम त हाम्रो देशैभरी र राजाधानीभित्र चल्ने सार्वजनिक बस लगायतका साधनको असुविधाका बारेमा भन्नै परेन । यही असुविधाकै कारण त तपाईं हामी खाइ-नखाइ अनि सकि-नसकी महँगा निजी सवारी साधन किन्न र प्रयोग गर्न बाध्य छौँ । एकाध मान्छेलाई दैलोबाटै भन्नासाथ समयमै जान आउन मिल्ने सुविधा हुने कारणले निजी साधनतर्फ तानेको हुनुपर्छ अनि कतिलाई छिमेकीलाई देखाउने बढप्पनले पनि निजी साधनतर्फ आकर्षण गराएको हुनसक्छ । नत्र न पर्किङ्गको झन्झट, न रिन्युको चिन्ता, न कर तिर्नु परोस्, न थोत्रो हुने, न चोरीको डर, दश मिनेट पहिले सडकमा निस्कियो, बस् सार्वजनिक बस चढेर गन्तव्यमा सरर । 

हुन त जापान सरकारको सौजन्यमा केही दशक पहिले निलो साझा सुरु नगरिएको होइन, पछि निरन्तरता दिन नसक्नुको पारीणाम त्यो बन्द हुन पुग्यो । अहिले सञ्चालनमा रहेका हरिया साझा बसहरू हरियो भएकै कारण वातावरणमैत्री छन्।  ती अरूभन्दा राम्रा हुन् भन्ने लागे पनि पुराना र थोत्रा हुँदै गएको परिद्रिष्यलाई चिर्दै ल्याएको बिजुली बसको भने मुक्त कण्ठले तारिफ  गर्न मन लाग्यो । के भनौँ सफा, अत्याधुनिक, सिनेमा हलमा जसरी तल-माथि मिलाएर राखिएका सिटहरू, उभिँदा समाउने सपोर्टरको व्यवस्ठा, वा ! तब न बिजुली । तिम्रो सङ्ख्यामा बढोत्तरी भएर जाओस् ताकी यस्तो यातायात देशभरि सञ्चालनमा आओस् !
  
 यो स्तम्भकार लाजिम्पाट र्‍याडिसन छेउबाट जब चढ्यो, उसले आफुलाई जुरिचका सडकमा चलिरहेका बसमा सवार गरेझैँ पायो, अस्ट्रियाका ट्रामहरूमा सवार गरिरहेझैंँ पायो तर नेपाल भनेर बुझ्न त्यतिवेला वाध्य भो जब बिजुलीले माइकमा भनिन् सामाखुशी झर्ने अगाडि आउनुहोस् । म सिट छोडेर स्वाचालित ढोकाबाट मन नलागी-नलागी बाहिर निस्किएँ र पनि मन भने बिजुलीमय भएको थियो ।