• शनिबार, १५ बैशाख, २०८१
  • ०१:३२:२७

गाजामा कहालीलाग्दो कुपोषण कहरः एकैदिन १० बालबालिकाको मृत्यु

काठमाडौं  लगातारको इजरायली हमलाको मारमा रहेको गाजाको उत्तरी क्षेत्रमा भोकमरीको समस्या विकराल बनेको छ । उत्तरी गाजामा भोकमरीको असर बालबालिकामा बढी देखिएको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।

खानाको अभावका कारण आइतवारमात्र १० जना बालबालिकाको मृत्यु भएको डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रियससले बताउनुभयो । अस्पतालका भवनहरु ध्वस्त रहेको र बालबालिकामा “कुपोषणको स्तर गम्भीर तहमा पुगेको उहाँको भनाइ छ ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने आइतबार कमल अड्वान अस्पतालमा कम्तीमा १५ बालबालिकाको कुपोषण र पिउने पानीको अभावमा मुत्यु भएको जनाएको छ ।

आइतवारै दक्षिणी सहर रफाहमा थप एक बालकको मृत्यु भएको छ । कुपोषणकै कारण मृत्यु भएको यो १६ औं घटना भएको बीबीसीमा उल्लेख छ । रफाह सहरमा खाना, पानी, इन्धन र औषधीको चरम अभाव छ ।

विभिन्न शिविरमा रहेकामध्ये झण्डै ३ लाख शरणार्थीको अवस्था दयनीय रहेको समाचार छ । इजरायली हमलामा परी गाजामा ३० हजारभन्दा बढीको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला छन् ।एजेन्सि।