• आइतबार, ३० बैशाख, २०८१
  • ११:००:५२

 नेपालीलाई चीनमा भिसा शुल्क नलाग्ने

काठमाडौँ । नेपाली नागरिकबाट चीनले भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो ।

भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक प्रयास भएको थियो । पछिल्लो पटक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका बेला यो विषयलाई टुङ्गो लगाएर आउनुभएको थिए ।

उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गर्नुभएको थिए । चीनको भिसाका लागि ३ हजार ९०० शुल्क तिर्नुपथ्यो ।  

 २०७२ मा तत्कालीन परराष्ट्र मन्त्री कमल थापा चीन भ्रमणमा गएका बेला त्यहाँका विदेश मन्त्री वाङ यीसँग सो विषयमा ८ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा एउटा बुँदा चिनियाँ पर्यटकलाई नेपालले फ्री भिसा दिने उल्लेख छ ।

सो सम्झौताअनुसार २०७२ चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो । सो निर्णय भएलगतै चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिएर यसको शुभारम्भ गरेको थियो ।