• मंगलबार, ८ जेठ, २०८१
  • ०३:१२:३९

नेपालमा हुन्डाई गाडीको उत्पादन शुरु 

  • Netizen Nepal
  • शुक्रबार, २८ बैशाख, २०८१- १२:०६:००/ Friday 05-10-24

काठमाडौं । लक्ष्मी मोटर्सले नेपालमै हुन्डाइ गाडीको उत्पादन शुरु गरेको छ । नवल परासीको रामग्रममा करिब १० बिघा जग्गामा करिब डेढ अर्ब रुपैयाँ  लगानी गरी एसेम्बीलिंग प्लान्ट स्थापन गरी गाडी उत्पादन शुरु गरेको हो । कम्पनीका  अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुने कम्पनीले जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले   लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाउन निजि क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताउनुभयो ।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । गाडीको मागका आधारमा उत्पादन  बढाउँन सकिने कम्पनीले जनाएको छ । यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् भने २०० जनाभन्दा बढीले रोजगारी पाउने बताइएको छ । कम्पनीले  एक वर्ष अघि देखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो ।

हुन्डाई गाडी नेपालमा लोकप्रिय भएकोले यसको उत्पदान नेपालमै गर्दा बजार विस्तार अझ बढ्ने विश्वास कम्पनीले लिएको छ । मे ८ तारिखमा नेपालका लागि दक्षिण कोरियाका राजदुतले विशेष पत्रकार सम्मेलनमा हुन्डाइ गाडीको उत्पदान नेपालमा हुनुले दुई देशवीचको व्यापारिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने बताउँनुभएको थियो ।