• मंगलबार, ८ जेठ, २०८१
  • ०२:५५:२६

कसरी मनाइँदै छ अक्षय तृतीया ?

काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन शुक्रबार  दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।शुक्रबारको  दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीका भीड लागेको छ । आज अक्षय तृतीया भएकाले अन्य दिनको तुलनामा दर्शनार्थी बढेका हुन् ।

शुक्रबार बिहान ४ बजेदेखि मन्दिरको ४ वटै ढोका खुला गरी दर्शनार्थीलाई मन्दिरको गर्भगृहमै प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशशरण बस्नेतले जानकारी दिनुभयो ।