संग्रहालयको कानून निर्माणमा सरोकारवालाको जोड
-
नेटिजन संवाददाता
- आइतबार, ६ जेठ, २०८१- ०६:४५:००/ Sunday 05-19-24

काठमाडौं । नेपालको संग्रहालय क्षेत्रमा अनगिन्ति अवसर रहे पनि त्यसलाई सदुपयोग गरी राज्य तथा समुदायले लाभ लिनका लागि धेरै काम गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा शनिवार नरायणहिटी दरबार संग्रहालयले आयोजना गरेको कार्यक्रममा उनिहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा अन्तर्राष्ट्रिय संग्रहालय दिवसको सन्दर्भ र नेपालमा संग्रहालय क्षेत्रका अवसर तथा चुनौतिलाई चित्रण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक डा. सुरेश सुरस श्रेष्ठले संग्रहालयको समग्र विकासका लागि साझेदारी र संजाल विस्तार मार्फत सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।
आफ्नो विस्तृत प्रस्तुती राख्दै श्रेष्ठले नेपालका संग्रहालयहरु फरक फरक कानून र नियम अन्तर्गत संचालित भएकाले देशभरका संग्रहालयको अनुगमन तथा अभिलेख राख्न अप्ठ्यारो परेको भन्दै समग्र संग्रहालयका लागि विशिष्ट ऐनको आवश्यकता महशुस गरिएको बताउनुभयो । उहाँले यस सम्बन्धी कानूनको मस्यौधा मन्त्रालयले तयार गरेको समेत जानकारी दिनुभयो ।
उहाँले कानून निर्माणमा जनसहभागितालाई बढाउँन र संग्रहालयको विकासमा संग्रहलायकर्मीको योगदानलाई बढाउँन आइकम नेपालले अग्रसरता लिनुपर्ने बताउँदै संग्रहालयकर्मीले पनि आइकमको माध्यमबाट आफ्नो क्षमता विकास र संग्रहालय क्षेत्रको विकासमा योगदान गर्न सक्ने बताउनुभयो ।
उहाँले यसको वर्षको अन्तर्राष्ट्रिय संग्रहालय दिवसको नारा शिक्षा र अनुसन्धानका लागि संग्रहालय रहेकोमा नोपलमा उक्त नाराले समेटेका विषयवस्तुको सान्दर्भिकता, आवश्यकता र महत्वको बारेमा विभिन्न तथ्यहरु मार्फत प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशमा संग्रहालयको अवस्थाको बारेमा करुणा राईले विस्तृत प्रस्तुती राख्नुभएको थियो भने नेपालमा आइकम नेपालले गरेका काम र राष्ट्रिय स्तरमा नेपालका संग्रहालयको अवस्थाको बारेमा आकम नेपालका कोषाध्यक्ष ओमप्रकाश घिमिरेले प्रस्तुती राख्नुभएको थियो । तीनवटा प्रस्तुती पछिको छलफल सत्रमा सहभागिहरुले संग्रहालयको विकासका लागि धेरै काम गर्न बाँकी भएकाले यसका लागि आइकम नेपालले अग्रसरता लिनुपर्ने सुझाव दिएका थिए ।
आइकम नोपलका अध्यक्ष रमेशप्रसाद दवाडीले सहभागिहरुबाट आएका सुझावहरु आइमक नोपलका लागि आगमी दिनमा काम गर्नका लागि मार्ग दर्शन भएको भन्दै यी सुझावलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको धारणा राख्नुभयो । उहाँले संग्रहालयकर्मी तथा संग्रहालयहरुलाई आकममा जोडिन आग्रह गर्दै आइकम नेपालले आगामी दिनमा नेपाल सरकार, संग्रहालय तथा सम्बन्धित क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
सहभागिहरुले संग्रहालय सम्बन्धीको विशिष्ट कानूनको आवश्यकता रहेकाले कानून निर्माणमा सम्बद्ध सबैले काम गर्नु पर्नेमा जोड दिएका थिए । काानून निर्माणले संग्रहालय विकासका अन्य आधारहरु खोल्ने उनिहरुको भनाइ थियो ।