• मंगलबार, ८ जेठ, २०८१
  • ०१:०१:१२

विद्यालय शिक्षा र उच्च शिक्षाबिचको खाडल अन्त्य गरिने

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबिच ठुलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्री श्रेष्ठले विद्यालय शिक्षा र उच्चशिक्षाको साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना रहेकाले त्यसअनुसार योजना बनाउन विश्वविद्यालयहरूका नेतृत्वलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको पनि स्पष्ट गर्नुभयो । सो विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरूले भातृ सङ्गठन सञ्चालन गर्दासम्म प्राज्ञिकलगायत समग्र सुधार गर्न कठिन हुने बताउनुभयो । उपकुलपति डा.बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उच्चशिक्षाका नाममा विदेश जाने युवा विद्यार्थीलाई रोक्ने योजना रहेको बताउनुभयो ।

बैठक समितिमा सदस्यहरूले त्रिविमा समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नभएको, अति राजनीतिकरण भएको, विभिन्न समयमा हुने परीक्षाका प्रश्नपत्र बाहिरिने समस्या देखिएको र अनियमितता हुने गरेका कारणले विश्वद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको बताउनुभएको थियो ।

सांसदहरूले बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न छात्रवृत्तिमा नाम निकालेका ८ विद्यार्थीको सट्टा राजनीतिक पहुँचका आधारमा अन्य विद्यार्थी पढ्न पठाएको भन्दै नाम निस्किएका विद्यार्थीलाई पठाउन माग गर्नुभएको थियो । रासस।