• शनिबार, १२ श्रावण, २०८१
  • ०८:४५:३६

हावाहुरीले करिब १२ करोड रुपैयाँ बढीको केराखेती नष्ट

 

काठमाडौं । हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जानकारी दिनुभएको छ ।

पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका क्षेत्रमा लगाइएको ४० लाख ८७ हजार ५ सय केराका बोटमा क्षति पुगेको छ । पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो ।

करिव ३ मिनेटको हावाहुरीले आफ्नो १५ कठ्ठामा लगाएको केरा सवै नष्ट भएको कालिका नगरपालिका-६ का किसान शिवप्रसाद शर्माले जानकारी दिनुभयो । केरा उत्पादक सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान छ ।

सत्तरी जना व्यावसायिक किसानले लगाएको केराखेती पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उहाँले बताउनुभयो । ९० प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उहाँले जानकारी दिनुभयो ।    

जिल्लामा हाल ३ हजार ५ सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । महासचिव पन्तका अनुसार चितवनमा ७ सय भन्दा बढी किसान केराखेतीमा संलग्‍न छन् ।रासस।