• शनिबार, १२ असोज, २०८१
  • ०५:२८:५५

मिथिलाको सङ्ग्रहालय भवनको निर्माण अन्तिम चरणमा

  • Netizen Nepal
  • मंगलबार, ४ असार, २०८१- ०७:५१:००/ Tuesday 06-18-24

काठमाडौं । । मधेशको संस्कृतिको प्रबद्र्धन समेत ख्याल गरी संग्रहालय सहित निर्माण थालिएको भवन अन्तिम चरणमा पुगेको छ ।  जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील रहेका मैथिली विकास कोषको सुविधा सम्पन्न एवं आकर्षक सङ्ग्रहालय सहित भवन निर्माणमा मधेश प्रदेश सरकारको ७ करोडको लगानीमा निर्माण भएको चार तल्लाको आकर्षक भवनमा मिथिला क्षेत्रको संस्कृति झल्किने सङ्ग्रहालय, ३ सय जना अटाउने सभा हल तथा नाटक घर, पुस्तकालय, अडियो भिडियोको निर्माण गर्ने स्टुडियो, साना साना सभा हल सहितका अनेकन पूर्वाधारहरू भवनमा खडा गर्ने कोषको लक्ष्य रहेको छ । 

भवनको निर्माण अन्तिम चरणमा पुगेको र साउन भित्रमा रङ्गरोगन गर्ने, ढोका तथा धारा एवं शौचालयहरूको काम सम्पन्न गरिने गरि कामदारहरू परिचालन भएको छ । जनकपुरधामको ऐतिहासिक महत्वको सीताकुण्डको जग्गा लिजमा लिएर निर्माण भएको मिथिला संस्कृति भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधी रहेको छ । 

जनकपुरधामको वडा नंं ८ ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयका ठिक अगाडी तथा बहुचर्चित धार्मिकस्थलको रुपमा रहेको विहारकुण्डको पश्चिममा कोषको आकर्षक भवनको निर्माण अन्तिम चरणमा पुगेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनु भएको हो । 

जनकपुरधामको सांस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि सो भवनको निर्माणले मद्दत पुग्ने विश्वास कोषको रहेको छ । चारै तीर आकर्षक पर्खालको निर्माण भएको भवनमा रहने मिथिलाको सङ्ग्रहालयको निर्माण भएपछि पर्यटकहरूका लागि आकर्षकको केन्द्र बन्ने विश्वास कोषका अध्यक्ष चौधरीको रहेको छ । 

मधेश प्रदेशको राजधानी तथा तत्कालीन मिथिलाका राजधानी समेत रहेको जनकपुरधाममा मिथिला संस्कृतिको सङ्ग्रहालयको अभाव भएको वेलामा जनकपुरधाममा सुविधा सम्पन्न सङ्ग्रहालय सहितको बहुउद्देश्यीय भवनको निर्माण अन्तिम चरणमा पुगेको  यो भवन निर्माणले मधेशको कला, संस्कृति, इतिहास र पहिचानको संरक्षण गर्न महत्वपूर्ण योगादन पुग्ने विश्वास लिइएको छ ।