'महाकाली नदी किनारमा छिट्टै बाँध निर्माण हुन्छ'
-
नेटिजन संवाददाता
- आइतबार, २२ असार, २०८२- १६:२७:००/ Sunday 07-06-25

काठमाडौं। गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठुलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभएको छ ।
आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उहाँले बाढीका कारण वर्षौंदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताउनुभयो ।
मन्त्री लेखकले भन्नुभयो, “महाकाली किनारका बस्ती वर्षौंदेखि बाढीको जोखिममा छन् । यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो । अब बजेट अभावले बाँध निमार्णकार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ ।”
गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो । यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो ।
गृहमन्त्री लेखकले महाकाली नदीका कारण यहाँ बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताउनुभयो । “सरकारले नदी नियन्त्रण तथा संरक्षणका लागि विशेष प्राथमिकताका साथ बाँध निर्माण गरिरहेको छ । अब स्थायी रूपमा समस्या समाधान हुने गरी काम हुन्छ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले निर्माण कार्यमा सङ्लग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । यहाँ गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो । रासस।