• शनिबार, २२ असार, २०८१
  • ०६:०६:२३

अहिलेको आवश्यकता विकासको गति र असल राजनीतिक मति

नेपालमा विक्रम संवत २००३ सालमा नेपाली कांग्रेस पार्टिको स्थापना सॅगै नेपालको राणा शासनको अन्तका लागी राजनितीक विद्रोहको बिजारोपण भएको थियो । यो बिद्रोहको जग वस्दा नवस्दै नेता  विश्वेश्वर प्रसाद कोईरालाको उदय भयो । विक्रम संवत २००६ सालतिर नेपाल कम्युनिष्ट पार्टिको उदयसंगै वामपन्थि नेता पुष्पलाल श्रेष्ठले बाम मोर्चाको कमाण्ड सम्हालेका थिए । 

 विक्रम संवत २०१५ साल फागुनमा भएको संघिय संसदको चुनावबाट दुई तिहाईको जनमतको सरकार सम्हाल्ने काम  विश्वेश्वर प्रसाद कोईरालाबाट भयो । तर कोईरालाको सरकार तत्कालिन राजाले २०१७ पौषमा सत्ताच्युत गरे अनि अघोषित शैनिक तानाशाहिको हुकुमि सरकार शुरू भयो । यो शाहि हुकुमि शासन एक दलिय पंचायति व्यवस्थाको नाउमा तीन दशक भन्दा बढि नै नेपालमा रहि रह्यो । 

यो शाही हुकुमी शासन फाल्न समय समयमा मुलुकको कुना कन्दरा बाट राजनितीक दलहरूको अगुवाईमा आन्दोलनहरू चल्दै रह्यो । विक्रम संवत २०१५ सालको आम चुनावबाट निर्वाचित नेपाली कांग्रेसको सरकारले उदारवादि लोकतंत्रको नेत्रित्व गर्दै गर्दा बाम मोर्चाका दलहरूले साम्यवादि एकाधिकारवादि सरकारको स्थापनामा जोड गरे । तर २०१७ सालमा राजाले निरंकुश शासन शुरु गरेपछि भने नेपाली कांग्रेस र वामपन्थीहरुवीच केहि समान राजनीतिक एजेण्डाहरु पनि बन्दै थिए । 

यसैक्रममा विक्रम संवत २०४६ सालमा नेपाली कांग्रेस पार्टि र वाम दलहरूको ‘वाम मोर्चा’ गठन भयो । शाहि एकाधिकारवादि पंचायत शासन फाल्न नेपाली कांग्रेसका नेता गणेशमान सिंहको नेतृत्वमा संगठित भई २०३७ सालको जनमत संग्रहमा भएको राजनितिक रणनितीक गल्ति समेत सच्याउने ध्येय राखि नेपालको प्रमुख दल मालेले ‘ जनताको बहुदलिय जनवादको’ रणनितीक कार्यदिशा बनायो । नेता मदन कुमार भण्डारीको नेतृत्वमा वाम मोर्चा बनाई नेपाली कांग्रेस र वाम मोर्चाको संयुक्त आन्दोलनबाट एकाधिकारवादि पंचायति शासनको अन्त गरि लोकतंत्रवादि बहुदलिय व्यवस्था स्थापना भयो ।

 विक्रम संवत २०४७ मा बहुदलिय शासन व्यवस्थाको स्थापना हुदैं गर्दा लोकतान्त्रिक व्यवस्थाको स्थापना भएको थिएन । यसको मुल कारण शाहि राजाको संबैधानिक निरंतरता हो ।

 विक्रम संवत २००७ साल देखि शासन व्यवस्थाको परिवर्तनका मुखियाहरू  विश्वेश्वर प्रसाद कोईरालाको तस्विर सार्वजनिक रूपमा तत्कालिन समयमा देखिन्थ्यो । २०४६ सालको राजनितिक आन्दोलनका कमान्डर गणेशमान सिंहको तस्विर सार्वजनिक ठाँँउमा देखिदै गर्दा वाम नेता मदन कुमार भण्डारीको तस्वीर पनि सार्वजनिक स्थलमा देंखिने गर्दथ्यो । 

यो पृष्ठभूमिबाट नेपालको राजनीतिक आन्दोलनमा समय समयमा प्रजातान्त्रिक र वामपन्थी शक्तिहरुले सहकार्य गरेको इतिहास छ । अहिले हामीले संविधान सभाबाट पाएको संविधान पनि यस्तै सहकार्यमा बनेको हो । संविधान निर्माणमा एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दलको एउटै स्वर रहनुले उच्चतम स्वामित्वको सन्देश दिएको थियो । तर अहिले पछिल्लो समयमा यहि संविधानका कारण सरकारको अस्थिरता भएको अनुभव र धारणाहरु बाहिर आएका छन् ।

यसै परिवेशमा फेरी नेपालका ठूला राजनीतिक शक्तिहरु नेपाली कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधान संसोधनको मुद्धा अघि सारेका छन् । माओवादी तथा अन्य साना दलले  ठूला दुई पार्टीको यो अग्रसरतालाई कसरी लिन्छन्, त्यो भने हेर्न बाँकी छ । तर अहिलेको आवश्यकता के हो भने विपि देखि पुष्पलाल र मदनभण्डारी देखि गिरिजाप्रसाद कोइरालासम्मले उठान गरेका सवाल तथा यसको कार्यान्वयनका लागि समय समयमा गरेका सहकार्यलाई एक पटक फेरी सम्झन पर्ने बेला आएको छ ।

जब मुलुकमा राजनीतिक तथा संवैधानिक अप्ठ्यारो पर्छ, त्यतिखेर नेपालका राजनीतिक दलहरु एकै ठाउँमा उभिएको घटनाहरु धेरै छन् । अहिले नयाँ राजनीतिक परिदृश्यलाई विभिन्न ढंगले टिप्पणी गरिएको छ । ती टिप्पणीहरु व्यक्तिगत र संस्थागत दुबै ढंगले आएका पनि छन् । त्यो एउटा पाटो भयो । तर अहिले देशको मूल समस्या भनेको सरकारको अस्थिरता, साना दलको मगन्ते बानीमा ठूला दलको बाध्यताले मानिसहरुमा ठूलो आक्रोश र अविश्वास बढेको छ । त्यसैले अब बन्ने सरकारले फेरी एउटा आशा र विश्वास जगाउँने गरी काम गर्नुपर्छ ।

फेरी पनि सत्ताको नयाँ  खेल बाहेक अरु केहि भएन भने राजनीतिक दलप्रति भए गरेको वहस पनि सकिने छ । यसले नयाँ खालको आन्दोलन जन्माउन पनि सक्छ । त्यो आन्दोलनले कसलाई स्थापित गर्छ अनि कसलाई विस्थापित गर्छ, त्यो कसैले अनुमान गर्न सक्ने अवस्था छैन । आशा गरौ ठूला राजनीतिक दलहरुको अहिलेको पहल नेपालमा राजनीतिक स्थिरतासंगै विकासले गति पाउँने नयाँ अध्याय हुनेछ ।